मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथाको आधार शिविरमै रोकिए आरोही, निरन्तर हिमपातले सकस

सगरमाथाको आधार शिविरमै रोकिए आरोही, निरन्तर हिमपातले सकस

अपि टाइम्स

सोलुखुम्बु । निरन्तर हिमपातका कारण बसन्तयामको हिमाल आरोहण प्रभावित भएको छ । हिमाल आरोहणको सिजन सुरु भए पनि बेमौसममा हिमपात हुँदा आरोहण हुन नसकेको हो । ७० वर्षको इतिहासमा सबैभन्दा बढी आरोहीले सगरमाथा आरोहणको अनुमति लिए पनि मौसम प्रतिकूल हुँदा आरोहीहरु आधार शिविरमै रोकिएका छन् ।

सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ४ सय ६६ जनाले अनुमति लिएका छन् । अहिले विभिन्न हिमाल आरोहरणका लागि गएका १३ सय स्वदेशी तथा विदेशी आधार शिविरमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।

आधार शिविरमा यतिका आरोहीको ओइरो लागेको यो पहिलो पटक हो । ‘आधार शिविरमा अहिले १३ सयभन्दा बढी पर्यटक छन्, हिमपात धेरै छ, आरोहीहरु हिमाल चढ्न सक्ने अवस्था छैन,’ एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले भने । विगत ५ दिनदेखि खुम्बु क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । ‘नाम्चेभन्दा माथि दिनैपिच्छे बाक्लो हिउँ परिरहेको छ, चिसो पनि त्यत्तिकै बढिरहेको छ,’ सगरमाथा राष्ट्रिय निकुन्जका वार्डेन भूमिराज उपाध्यायले कान्तिपुरसँग भने ।

अहिले आरोहीहरु पहिलो आधार शिविर र दोस्रो आधार शिविरबाट आधार शिविरमा ओहोरदोहोर गर्ने काम गरिरहेका छन् । ‘बाक्लो हिउँ लगातार परिरहेको छ, दोस्रो शिविरबाट माथि जान सक्ने कुनै सम्भावना छैन, त्यसैले अहिले आरोहीहरु अभ्यास गर्दै बसिरहेका छन्,’ आरोहणका लागि बाटो बनाउने र डोरी टाग्ने जिम्मा पाएको एसपीसीसीका अध्यक्ष शेर्पाले भने । शेर्पाहरुले आरोहणका लागि सामान ओसार्ने कामलाई भने निरन्तरता दिएका छन् । त्यस्तै केही आरोही भने अनुकूल मौसमको पर्खाइमा नाम्चे झर्न थालेका छन् । ‘बेस क्याम्पबाट हेलिकप्टर चढेर आज पनि दर्जनभन्दा बढी आरोही नाम्चे आएका छन्,’ पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले भने । अहिले दैनिक ३ सयको संख्यामा हवाईमार्गमार्फत विदेशीहरु खुम्बु क्षेत्र प्रवेश गर्ने गरेकाले पनि खुम्बुका होटलहरु भरिभराउ छन् ।

मौसममा सुधार आउन अझै समय लाग्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले अझै केही दिन हिमाली भेगमा हिमपात हुने बताइन् । ‘भोलिबाट हिमपात कम हुँदै जानेछ तर पुरै हिमाली भेगको मौसममा सुधार आउन केही दिन लाग्छ,’ मौसमविद शाक्यले कान्तिपुरसँग भनिन् ।