काठमाडौँ । भारत बिहारको बथनाहाबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सञ्चालन हुने वाचासहित बिहीबारदेखि कार्गो रेल सेवा सुरू भएको छ।
कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरू उत्साही बनेका छन्। रेल सेवाले ढुवानी भाडा आधा सस्तो पर्ने बताउँदै उद्योगीहरूले यसको बिनाशर्त नियमितताको माग पनि गरेका छन्। बथनाहाबाट एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर लामो छ।
विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर केहीबेर अघि कार्गो रेल विराटनगर आइपुगेको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको हो।
दुवै देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेल सेवाको संयुक्त रूपमा थालनी गरेका हुन्।
औद्योगिक कच्चा पदार्थ बोकेर रेल विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) आइपुग्दा नेपाली पक्षले भव्य स्वागत गरेको छ। स्थानीय उद्योगी व्यवसायी, स्थानीयबासी र सरकारी प्रतिनिधिहरूले स्वागत गरेका हुन्।
प्रतिक्रिया