काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले आफूलाई संसदीय दलको नेतामा कोशीमा हराउन पार्टीका गुटहरु लागेको आरोप लगाएका छन् ।
केन्द्रीय समितिको आइतबार बोल्ने क्रममा पराजुलीले भने, ‘गुटको शिकार म पनि भएको छु । संसदीय दलको नेतामा उठ्दा सबैतिरबाट खुलेआम हराउने काम भयो ।’
पार्टीभित्र विश्वसनीय कारबाहीको अवस्था नरहेकाले कारबाहीको सिफारिस नगरेको उनले बताए । कोशीमा कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनमा पराजुलीले तेस्रो स्थानको मत पाएका थिए ।
एक गुटको नेता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार नगरिएको गुनासो पराजुलीले बैठकमा राखे । ‘अरु पार्टीका नेताहरुसँग समधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता कार्यकर्तासँग दुश्मन जस्तो व्यवहार गरेको देखिन्छ,’ पराजुलीले भने ।
९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने पराजुलीले बताए । उनी भन्छन्, ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ ।’
प्रतिक्रिया