तस्बिर : सुजन दाहालको फेसबुकबाट
काठमाण्डौ । सरकारले इजरायलबाट २ सय ५४ जना नेपालीलाई उद्धार गरेर काठमाण्डौ ल्याएको छ। बिहीवार बिहानपख काठमाण्डौ आइपुगेका उनीहरु निकै खुसी देखिन्थे । विमानस्थलमा पर्खेर बसेका आफन्तसँग भेट हुनेबित्तिकै उनीहरुले खुशीको आँसु लुकाउन सकेनन्। उनीहरुले आफूहरु भाग्यवश बाँचेको बताए । विमानस्थल पुगेका उनीहरुका परिवार र आफन्त सबै भावकु र स्तब्ध थिए ।


उनीहरुलाई नेपाल एअरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।
उद्धारपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अरुलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।
इजरायलको तेल अभिभमा रहेको नेपाली राजदूतावासले सुरक्षित ठाउँमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत् आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म ५ सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । यसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकोमा दुई सय ५४ जना स्वदेश फर्किएका छन्ु उनले भने ।
परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण ठाउँबाट स्थानान्तरण गर्न आवेदन दिएका ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि जानकारी दिए । यस घटनामा परि चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएका, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिएका छन् ।
इजरायलमाथि हमास समूहको आक्रमणमा परि सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।
तेल अभिभबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने भनाइ छ।

प्रतिक्रिया