मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कात्तिक १४ गते राष्ट्र सङ्घका महासचिवले संसद्‍मा सम्बोधन गर्ने

कात्तिक १४ गते राष्ट्र सङ्घका महासचिवले संसद्‍मा सम्बोधन गर्ने

अपि टाइम्स

काठमाण्डौ । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाइका क्रममा उहाँले नेपालको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कात्तिक १४ गते दिउँसो ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो । सङ्घीय संसद् सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरु गरिसकेको बताउनुभयो ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने बैठकमा संवैधानिक निकायका प्रमुख, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखलगायतका विशिष्ट सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिनेछ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्र सङ्घको महासचिवको रूपमा दोस्रो कार्यकाल हो ।