चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । वाणगंगा नगरपालिकाको मुख्य केन्द्र चार नम्बर साँझमा धपक्कै बलेको छ ।
वडा नम्बर ४ को तौलिहवा गेट, बुद्धको मुर्तिको वरिपरी र पोलहरुमा झिलीमिली बत्ती बल्न थालेपछि चार नम्बर धपक्कै बलेको हो ।
सोमबारबाट तौलिहवा रोडका पोलमा पनि रंगीचङ्गी बत्ती बलेपछि त बजार क्षेत्रको सुन्दरता झनै बढेको छ । गत बर्षहरुमाभन्दा यस बर्ष चार नम्बर चोक उज्यालो देखिएको छ । झिलीमिली बत्तीको कारण ४ नम्बर तिहारमाभन्दा कम देखिएको छैन । तौलिहवा गेटमा लगाइएका लाइटले गेटको सुन्दरता नै अर्कै देखिन्छ भने बुद्ध प्रतिमामा वरिपरि लाइटहरु जडान हुँदा चोकको मुहार फेरिएको देखिन्छ ।
चार नम्बरमा भएको चमकधमकपछि त्यहाँ फोटो खिच्ने, भिडिओ बनाउने र टिकटक गराउनेको भीँड पनि देखिन्छ । स्थानीय र यात्रु पनि यसपटक निकै खुसी देखिन्छन् । धेरैले चार नम्बरको मुहार नै फेरिएको भन्दै भिडिओहरु पनि सामाजिक संजालमा राखिरहेका छन् ।

चार नम्बर चोकमा रहेको बुद्धको प्रतिमाको वरिपरी र तौलिहवा गेटमा स्थानीय वाणगंगा वेलफेयर सोसाइटीले दशैँ सुरु भएको दिनदेखि नै बत्ती जडान गरेको थियो ।
त्यसपछि वडा नम्बर चारले तौलिहवा रोडमा जडान गरिएका सडक बत्तीको पोलमा बिभिन्न रङका लाइट जोड्यो । चार नम्बरमा भएको चमकधमकपछि त्यहाँ फोटो खिच्ने, भिडिओ बनाउने र टिकटक गराउनेको भीँड पनि देखिन्छ । कृषि विकास बैङ्कदेखि बुद्धभूमि हार्डवेयरसम्म पोलमा जडान भएका झिलीमिली बत्तीले ओहरदोहर गर्ने सर्वसाधारण र यात्रुलाई पनि निकै सहज भएको छ । यस्तै वडाबाट नै गजेहडा बजारमा पनि बत्ती जडान गरेको छ । गजेहडा पनि यसपटक धपक्कै बलेपछि त्यहाँका सर्वसाधारण्ढा पनि खुसी छन् ।


विकास भएन भनी निरास सर्वसाधारणलाई यत्ति कामले पनि आशा र उत्साह बढाएको बताइन्छ ।
सोमबार साँझ धपक्कै बलिरहेको चार नम्बर चोकको फोटो खिचिरहेका एक जनाले भने, ‘यत्ति कामले पनि हामी खुसी भएका छौँ । उनले भने हुन त यो सबै होइन तर पनि केहि नहुन भन्दा यो पनि राम्रो भयो । यसैगरी नगर उज्यालो बनाउने गरी काम हुने हो भने जनताले किन आलोचना गर्छ र जनप्रतिनिधिको ?’
चाडबाडमा चोकमा देखिएको सुन्दरताले महेन्द्र राजमार्ग भएर गुड्ने यात्रीलाई पनि राम्रो सन्देश दिएको उनले बताए । भर्खरै जापानबाट दशैँ मनाउन आएका झुँगा निवासी देव ढकालले भने, ‘जापानमा धेरै विकास भएको छ । यहाँ आउँदा धेरै फेरिएको पाएँ । चार नम्बरको विकास पनि राम्रो भएको रहेछ । रातिमा यसरी उज्यालो देख्दा धेरै खुसी लाग्यो । चारनम्बरको वजारको चारैतिरको करिब १ मिलोमिटर भागमा जताततै सँधैभरी यसैगरी बत्ती बलिरहने हो भने अझै राम्रो हुन्छ । चाडबाडमा मात्र उज्यालो बनाउने भन्दा पनि सधैँ उज्यालो बनाउनेमा जनप्रतिनिधिको ध्यान जान जरुरी छ ।’
यस्तै अन्य धेरै ब्यक्तिहरु चार नम्बमा भएको उज्यालोका कारण खुसी भएका छन् । चार नम्बरमा सडकमा जडान गरिएका बत्ती बल्न ढिलाई भएपछि वडाको आलोचना भएको थियो ।

प्रतिक्रिया