काठमाण्डौ । दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।
आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेकाछन् । यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् । विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो ।
यसैबीच, नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दूरीका सार्वजनिक गाडी दुर्घटना यसपालिको दशैँमा अहिलेसम्म कम भएको जानकारी दिए ।
दशैँको अष्टमीका दिन पाल्पामा जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको ज्यान गएको थियो । यस्तै, हिजो धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बस, मोटरसाइकल र कार ठोक्किँदा १६ जना घाइते भएका छन् ।
बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल उच्छिट्टिएर कारमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया