काठमाण्डौ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज लुम्बिनी आउने भएका छन् । आजै अन्नपूर्ण आधार शिविरतर्फ गएका उनी पोखरामा पत्रकार सम्मेलन गरी लुम्बिनी आउने बताइएको छ । गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको छ । गुटेरेसलाई लुम्बिनीमा भव्य रुपमा स्वागत गर्ने तयारी छ ।
गुटेरेसलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ति दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नेछन् । लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटेरेस काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । चार दिने नेपालको भ्रमण पूरा गरी भोलि गुटरेस बेलायत जाने तालिका रहेको छ ।
हिजो पोखरामा बास बसेका उहाँ जलवायु परिवर्तन र हिमालयले भोगेको समस्या बुझ्न अन्नपूर्ण आधार शिविरतर्फ लागेका हुन् । त्यहाँ गुटेरेसले स्थानीय बासिन्दासँग केहीबेर अन्तर्क्रियागर्नेछन् । भ्रमणले अन्नपूर्ण आधार शिविर जोगाउन सरोकारवालाले चासो दिनेमा स्थानीय बासिन्दा आशावादी छन् । उनीहरुले जलवायु परिवर्तनले पारेको असरबारे महासचिव गुटेरेसको ध्यानाकर्षण गराउने छन् ।
हिजो गुटेरेसले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको प्रभावका बारेमा छलफल गर्नुभएको थियो । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता गरेका थिए ।
प्रतिक्रिया