मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम नेपालमा अझै ठूलो भूकम्पको जोखिम, यस्तो छ कारण

पश्चिम नेपालमा अझै ठूलो भूकम्पको जोखिम, यस्तो छ कारण

अपि टाइम्स

काठमाडौँ ।

गए राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६।४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति पुनः मानिसहरूको ध्यान तानेको विज्ञहरूले बताएका छन्।

पश्चिम नेपालको भूसतह मुनि ५०० वर्ष यता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका भन्दै विज्ञहरूले त्यसले आठ वा त्यो भन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउनसक्ने क्षमता राख्ने भएकाले पूर्व सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गए राति ११ बजेर ४७ मिनेटमा ६।४ म्याग्निट्यूडको भूकम्प गएको थियो।

त्यसयता शनिवार बिहानसम्म ४ म्याग्निट्यूडका कम्तीमा तीनवटा र त्यो भन्दा साना ३५ वटा भन्दा बढी परकम्पहरू रिकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीका अनुसार तथ्याङ्कहरू हेर्दा पनि पछिल्लो समयमा पश्चिम नेपालमा बढी भूकम्पहरू गइरहेको छ।

उनले दैनिक रूपमा साना र बेला बेलामा मझौला किसिमका भूकम्प गइरहेका घटनाले उक्त क्षेत्रमा भूकम्पीय रूपमा जोखिम रहेको देखाएको बताए।

उनले भने, “त्यहाँ भूकम्पीय शक्ति सञ्चित भएको हो। जति पनि साना र मझौला भूकम्प गइरहेका छन् त्यसले यो ठाउँमा ठूलो भूकम्प जाने शक्ति छ। भूकम्पीय जोखिममा हामी छौँ भन्ने यसले सङ्केत गर्छ।”

पृथ्वीको सतह मुनी रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टीमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरू बताउँछन्।

त्यसकारण नेपालमा भूकम्पको जोखिम रहेको भन्दै अधिकारीले भने, “जति धेरै समय, त्यति धेरै शक्ति सञ्चय हुने भयो। जति धेरै समयसम्म शक्ति बाहिर निस्किएन वा भूकम्प गएन ठूलो भूकम्प जाने सम्भावना भयो।”

अधिकारीहरूका अनुसार नेपालमा २ म्याग्निट्यूड भन्दा बढीका झन्डै १० वटा भूकम्प दैनिक रूपमा जाने गरेका छन्।

बीबीसीबाट