चन्द्रकान्त न्यौपाने,
काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकालाई केन्द्र बनाएर खरो रुपमा खबरदारी गर्दा अहिले एक जना ब्यक्ति सबैको तारो र चासो बनेका छन् । ती ब्यक्ति हुन् ‘रिखिराम भट्टराई’ । उनको खबरदारीले बाणगंगाको नगरपालिकाको नेतृत्व, त्यहाँका सामुदायिक बन तथा खानेपानीका संचालक, वडा अध्यक्षहरु, सहकारी संचालक, सार्वजनिक जग्गामा बलमिच्याई गर्नेहरु, मिडियाकर्मी, सांसद, पार्टीका नेता, ठेकेदार, ब्यापारी, सामुदायिक तथा नीजि विद्यालयहरु सबै आजित छन् । उनका पोष्टका कारण पार्टीका केहि मान्छे विरोधी र शत्रु बने पनि धेरैबाट उत्तिकै प्रसंसा पनि उनले पाइरहेका छन् ।
नगरपालिकामा कहाँ कसैले बदमासी गर्यो भने अब रिखिरामलाई भनिदिन्छौँ भन्ने सम्मको स्थिति बनेको छ । उनी यति नीडर भएर खबरदारी गरिरहेका छन् कि परिवार र आफ्नो माया मारेको देखिन्छ । रिखिरामले भ्रमपूर्ण कुराहरु सार्वजनिक गरिरहेको, ब्यक्तिगत मान प्रतिष्ठामा आँच आउने गरी सार्वजनिक र नीजि ब्यक्तिको बदनाम बनाउने कार्य गरेको भनेर पनि उसलाई सबक दिनुपर्ने छलफल पनि नगरमा चलिरहेको छ । केहि दिनअघि उनै रिखिरामले फेसबुकमार्फत् आफूलाई मुद्धा हाल्न लागिएका, परिवारलाई डर, धम्की र त्रास दिएको भनेर पनि जानकारी गराएका थिए ।
ती रिखिराम को हुन् सिमित ब्यक्तिबाहेक धेरैलाई थाहा छैन । उनलाई सुचना र फोटा कुन समुह या ब्यक्तिले उपलब्ध गराउँछ त्यो पनि थाहा छैन । आफूले खबरदारी गरेका र उठाएका विषय कति सत्य छन् ? सबैको प्रमाण उनीसंग सुरक्षित छ कि छैन त्यो पनि थाहा छैन ।
उनी स्वदेश या विदेशमा कहाँ छन् त्यो पनि थाहा छैन । यो कार्यमा उनी एक्लै छन् कि समुह पनि छ त्यो पनि थाहा छैन । सामाजिक संजालबाट खबरदारी गर्छन् कि रिखिरामले फिल्डमै उत्रेर खरबदारी गर्छन् त्यसमाथि पनि सबैको चासो छ ।बाणगंगामा आएर फिल्डमा पनि यसैगरी खबरदारी गरेमा धेरैको साथ रहने भनाई पनि नगरपालिकामा सुन्न पाइन्छ ।
को हुन् रिखिराम ?
रिखिराम भट्टराई वाणगंगा नगरपालिका वडा न.८ धनेश्पुरमा स्थायी बसोबास गर्ने ब्यक्ति हुन् । उनको जन्मघर ओखलढुङ्गा हो । काठमाडौ सैनिक मुख्यालयबाट २०६१ सालमा भर्तीभई उनी नेपाली सेनाको जागिरमा समाहित थिए । त्यसपछि उनी नेपाली सेनाको कोहलपुर शिक्षालयतर्फबाट रिटायर्ड भए । श्रीमतीसहित उनका २ छोरी छन् ।
अहिले ३८ बर्ष पुगेका रिखिरामले ६१ सालमा कपिलवस्तुको गोरुसिङे ब्यारेकमा नियुक्ति पाएका थिए । त्यसपछि ६४ सालमै कपिलवस्तुकी चन्दा पराजुलीसंग उनको विवाह भयो । २०६४ सालमै चन्द्रौटामा घटेको मोहित खान हत्याकण्डमा यतै रहेको उनी बताउँछन् ।
‘मेरो धेरै ठुलो इतिहास छ, म संक्षिप्तमा सुनाउँछु, भट्टराई भन्छन् शशष्त्र द्धन्द्धताका धानखोला, तौलिहवा, खौरेन्द्रपुरमा सेना र माओवादी बिच भएको दोरोहो भिडन्तमा होमिएर विद्रोहीसंग लडेको थिएँ । त्यस्तै कैलालीको टिकापुरमा भएको साम्प्रदायिक द्धन्द्धमा पनि म सक्रिय भूमिकामा रहेको थिएँ । इमिलियाको खरेन्द्रपुरमा माओवादीको विद्यूतीय धरापमा हामी चढेको (नेपाली सेना) गाडी पर्यो ।’ त्यहि घटना स्मरण गर्दै भट्टराई थप्छन् ‘त्यतिबेला मसहित गाडीमा सवार कैयन् साथीहरुको मृत्यु भयो । त्यसपछि धानखोलाको डाडामा भएको दोहोरो भिडन्तमा २१ जना सुरक्षाकर्मीको ज्यान गुमेको थियो । त्यतिखेर बाँच्न सफल भएको थिएँ ।’
‘यो मेरो नाफाको जिन्दगी हो । अहिले बैदेशिक रोजगारीमा छु । गाउठाउँको वेथिति देख्दा गोली हानौँ झैँ हुन्छ । तर त्यसो गर्न त भएन अब समाजमा खबरदारी गर्ने हो, मर्न त सबै एकदिन मर्ने हो नि । त्यसकारण अलिक सुरो र खरो हुँदै गएको छु । मैले खबरदारी छोड्दिन’, रिखिराम भन्छन् ।
सेनाको जागिरमा हरँदा आफू फिल्ड ईन्टेलिजेन्सको भूमिकामा रहेकाले आफूलाई कमजोर नआँक्न उनले चुनौति दिए । आफूविरुद्ध मुद्धा, मामिलाका कुरा पनि सुनेकाले सामाजिक सबाल उठाउँदा जेल जानु परे पनि जान तयार रहेकोे उनको भनाई छ ।
श्रीमती कपिलवस्तुकै रहेकाले ६४ पछि नै यतै बस्ने निर्णय गरेको उनले सुनाए । जागिरको क्रममा ६८ सालमा धनगढी सरुवा भएको उनले बताए । २०७३ पछि संयुक्त रास्ट्रसंघिय मिसनमा छनौट भएर दक्षिण अफ्रीकी मुलुक सुडानमा १४ महिना काम गरेको उनले बताए ।
त्यसपछि बर्दिया राष्ट्रीय निकुन्जमा एक बर्ष काम गरेको बताउँदै बाके जिल्ला कोहलपुर शिक्षालयमा ७ बर्ष जागिरे जीवन विताएको उनी बताउँछन् । रिखिराम भन्छन् ‘त्यसपछि १९ बर्षे सरकारी सेवा पूरा गरि गरेँ । अहिले अवकास प्राप्त छु । अवकासपछि बैदेशिक रोजगारीमा आएको हुँ । सरकारी सेवामा रहँदा उत्कृष्ट काम गरेबापत् स्वदेश तथा विदेसमा सेवा पदकले बिभुषित भएको छु ।’
आफूमा बौद्धिक र राजनैनिक चेतना सानैदेखि रहेका कारण अहिले पनि बेथितिमा मौन रहेर बस्न नसक्ने स्वभाव रहेको भट्टराईले बताए ।
अहिले आफू बैदेशिक रोजगारीमाको शिलशिलामा रहेको र अब छिट्टै गाउँ फर्कने तयारीमा रहेको उनले सुनाए । सामाजिक संजालको खबरदारी निर्णायक नहुने भन्दै अब टिम बनाएरै स्थलगत रुपमै विकृति विसंगति मच्याउनेहरु, घुस र कमिसनमा चल्ने कर्मचारीहरु र जनप्रतिनिधिहरु, सामुदायिक बन सक्ने दलालहरु, सहकारीका विचौलियाहरुविरुद्ध समुह बनाएर मिसन जारी राख्ने उनको भनाई छ । अब युवाको टिम बनाएर वेथिति मच्याउने जोकोहिमाथि कालोमोसो दल्नेसम्मका कार्यक्रम गर्ने तयारी रहेको उनले बताए ।
आगामी २०८४ सालको चुनावबाट दलाल र भ्रष्टहरुलाई पाखा लगाउने अब सबै जुट्नु पर्ने उनको भनाई छ । तत्काल आफ्नो राजनैतिक रुची नभएको बताउँदै अहिलेको पहिलो प्राथमिकता खबरदारी नै रहेको उनले बताए । यो खबरदारीमा सबैबाट साथ पाउनेमा आफू विश्वस्त रहेको उनले जनाए । आफ्नो कदमले केहि ब्यक्तिमा रिस र छट्पटि भए पनि धेरै जना खुसी रहेको उनको दावी छ ।
कतिपयले भट्टराईको खबरदारीमा पाकोपन नभएको भन्दै प्रमाणसहित अलिक सभ्य शैलीमा प्रस्तुत हुन आग्रह गर्दछन् भने समाजमा बेथिति र अन्याय सहेर बसेका प्रायले उनले ठिक गरेको भनेर पनि साथ दिने गरेका छन् ।
प्रतिक्रिया