मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, छविलाल जोशीसँगै जोडेर लैजाने

लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, छविलाल जोशीसँगै जोडेर लैजाने

अपि टाइम्स

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले पूरक मुद्दा लैजान अनुसन्धान अगाडि बढाएका हौं । यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने हो,’ उनले भने । जोशीको बयान सकिएको उनले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।

यसअघि कास्की प्रहरीको टोलीले काठमाडौं गएर जोशीसँग भदौ ८ मा र लामिछानेसँग भदौ १० मा बयान कागज गराएको थियो । संसदीय समितिको प्रतिवेदन आएपछि असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशी काठमाडौंको शंखमूलबाट पक्राउ परेका थिए । जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरेको छ ।

यसअघि पहिलोपल्ट ५ दिन र दोस्रोपल्ट ७ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो । म्याद थप्ने दिन घटस्थापना परेको र त्यसलगत्तै दसैं बिदा भएकाले अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरिदिएको हो । जोशीले सहकारीबाट रकम ल्याएर गोर्खा मिडियामार्फत अपचलन गर्ने कार्यमा जीबी राई, लामिछानेलगायत संलग्न रहेको भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । गत वर्षदेखि नै फरार रहेका राई हाल मलेसियामा रहेको प्रहरीले जनाएको छ ।

डीएसपी शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेको पनि उनले जानकारी दिए ।