मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविलाई पक्रन राज्यको हतारो, बिदामा बस्न खोजेका न्यायाधीशलाई जवर्जस्त बोलाइएको थियो

रविलाई पक्रन राज्यको हतारो, बिदामा बस्न खोजेका न्यायाधीशलाई जवर्जस्त बोलाइएको थियो

अपि टाइम्स

काठमाडौँ । घटस्थापनाको दिनदेखि नै बन्द रहेको कास्की जिल्ला अदालत शुक्रबार मात्रै खुलेको थियो । सात न्यायाधीश कार्यरत उक्त अदालतमा शुक्रबार कोही पनि उपस्थित थिएनन् । तर, न्यायाधीश कृष्णजंग शाहलाई अपराह्नतिर हतार–हतार अदालत बोलाइयो । कार्यालय समय सकिएपछि करिब साढे २ बजेतिर अदालत पुगेर उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिए ।

स्रोतका अनुसार शुक्रबार ६ न्यायाधीश बिदामै थिए । शाह पनि बिदामा बस्न खोजेका थिए । तर, लामिछानेलाई शुक्रबारै पक्राउ गर्ने सरकारको योजनाअनुसार नै उनलाई हतारमा बोलाएर पक्राउ अनुमति लिइएको थियो । दसैँ बिदामा नेपालगन्जस्थित घरमा रहेका उनलाई जसरी पनि शुक्रबार हाजिर हुन माथिल्लो तहबाट खबर पठाइएको स्रोत बताउँछ ।

लामिछानेलाई पक्राउ पुर्जी अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसहितको टोली अदालत गएका थिए । उनीहरू अदालत पुग्दा अदालतमा कोही पनि न्यायाधीश थिएनन् । लामिछानेकै मुद्दामा धेरै न्यायाधीश पन्छिन खोेजेर पनि बिदामा बसेको जिल्ला अदालतका एक कर्मचारी बताउँछन् ।

न्यायाधीश शाह साढे २ बजे कार्यालय पुगेपछि कास्कीका एसपी श्यामबाबु ओलिया र डिएसपी वसन्त शर्माले पक्राउ पुर्जी लिएका थिए । प्रहरीले अपराह्न करिब ४ बजे मात्रै पक्राउ अनुमति पाएको थियो । न्यायाधीश शाह गत १५ साउनमा अर्घाखाँचीबाट कास्की सरुवा भएका थिए । उनी कांग्रेसनिकट मानिन्छन् ।