जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा हुने ३० औँ महायज्ञको तयारी तीव्र पारिएको छ । मंसिर ८ गतेदेखि १६ गतेसम्म हुने श्रीमद्भागवत् महापुराण कथा वाचन तथा धनधान्याञ्चल ज्ञान महायज्ञमा बिभिन्न समिति उपसमिति बनाएर आयोजक मनकामना गुरुकुल प्रवद्धन समाजले तयारी गरिरहेको छ । यसै सन्दर्भमा बाणगंगा राइडर्स क्लव कपिलवस्तुलाई प्रचारप्रसारको जिम्मा पाएको हो ।
प्रचार प्रसारसमिति संयोजक जगत रेग्मीले क्लवका पछिल्ला गतिविधिले समाजलाई आकर्षित गरेको भन्दै राइडर्सहरुबाट प्रचार प्रसारमा टेवा पुग्ने ठानी खोजि गरिएको बताए । संयोजक रेग्मीले भने, ‘विहान विहान नगरभरीका बिभिन्न रुटमा राइडर्सहरु हिँडेको देखिन्छ । यो हाम्रो मात्र नभएर जिल्लाको नै महायज्ञ हो । नगरभरी प्रचारप्रसार, ब्यानर र पोष्टर, प्रचार टांस्ने जिम्मा क्लवलाई दिएका छौँ । उहाँहरुले पनि सहज रुपमा लिनुभएको छ ।’
प्रचारप्रसारको जिम्मा लिएपछि क्लवको शनिबार साँझ वैठक पनि बसेको थियो । बैठकले बिभिन्न टोली बनाएर महायज्ञको प्रचारप्रसार गर्ने निर्णय गरेको छ । क्लवका सदस्यहरुले महायज्ञमा प्रचारको काम पाउँदा निकै खुसी लागेको बताए । बिभिन्न स्थानमा पुगेर प्रचारप्रसार गर्ने र गुरुकुलमको लागि हरेक सहयोग गर्ने उनीहरुको प्रतिवद्धता छ ।
राइडर्सहरुको यो सक्रियताले आफूहरुलाई निकै सहयोग पुगेको प्रचार संयोजक रेग्मीले बताए । क्लवका अध्यक्ष विष्णु सापकोटाले महायज्ञ सफल बनाउन कुनै कसर बाँकी नराख्ने सक्रिय सदस्य तथा रुट संयोजक हरि घिमिरेले बताए । शनिबार विहान नै आयोजकले क्लवसंग सरसल्लाह गरेको थियो ।
बणगंगा २ नन्दनगरस्थित कैलाश आश्रम परिषरमा महायज्ञ संचालन हुने छ । महायज्ञमा प्रसिद्ध कथा वाचक दीपक सापकोटाले कथा वाचन गर्ने छन् भने देशविदेशका विद्धान र विदुषीको पनि प्रवचन रहेने महायज्ञका संरक्षक १००८ लोकानन्द स्वामी महाराजले जानकारी दिए ।
प्रर्वद्धन समाजका अध्यक्ष रविराज ज्ञवालीले गुरुकुल संचालन र विश्वशान्तिको लागि महायज्ञ आयोजना भएको बताए ।
स्थापना भएको ८ महिना पनि पुग्न नपाउँदै क्लवले बिभिन्न सामाजिक र मानवीय कामहरु गरेर यस क्षेत्रमा चर्चा पाइरहेको छ ।
यसैबीच राइडर्सले सोही तेश्रो नियमित वैठकमै देउसी भैलो कार्यक्रमको समिक्षा गरेको छ भने आगामी फागुनमा ‘बाणगंगा कोरा साइक्लिङ’ गर्ने निर्णय गरेको छ । यसको लागि सल्लाहाकार संयोजक विष्णु घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ ।
प्रतिक्रिया