काठमाडौँ । कपिलवस्तुको पत्रकारितामाथि प्रश्नैप्रश्न उब्जिएका छन् । जिल्लाका पत्रकारहरुले पत्रकारिता पेशाको आचारसंहिता, मर्यादाभन्दामाथि उठेर पेशाको ट्याक विगार्नतर्फ लाग्दा अनकौँ प्रश्नहरु उब्जिएका हुन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखाले शुक्रबार तौलिहवामा ११ औँ साधारण सभा र ८ औँ जिल्ला अधिवेशन राखेको थियो । त्यहि कार्यक्रममा पत्रकार र सरोकारवालाले यस्ता विषय उठान गरे ।
अधिवेशनमा सहभागि भएका अतिथि र स्वयम् पत्रकारहरुले नै महासंघका गतिविधिमाथि प्रश्न उठाउँदै महासंघ पङगु बन्दै गइरहेको आरोप लगाए । पत्रकार महासंघकै कार्यक्रममा अतिथि बनेका कतिपय वक्ताले पत्रकारहरुको कामकारबाहीमा प्रश्न उठाउँदै झपारे भने कतिपय वक्ताले आचारसंहिता र कर्तब्य नै बढाए । अतिथिले यसरी प्रश्न उठाइरहँदा पत्रकारहरु नै रातोपिरो भएका थिए ।
कार्यक्रममा बोलेका प्रमुख अतिथि पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले आजभोलिको पत्रकारितामाथि थुप्रै प्रश्न सिर्जना भएको बताए । मुलुकको चौथो अंग भए पनि पत्रकारले आफ्नो कर्तव्य पुरा नगर्दा अविश्वास बढेको उनको भनाई छ । कपिलवस्तुमा बिभिन्न संचारमाध्यम खुल्नु राम्रो भएकाले तिनमा गुणस्तर कायम गर्नु महत्वपूर्ण हुने उनले बताए । सार्वजनिक ब्यक्ति भएपछि त्यस्ता ब्यक्तिमाथि आरोपप्रत्यारोप, आलोचना आउने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने आचार्यको भनाई छ । लामो भनाई नराखेको आचार्यले पत्रकारहरु सच्चिउर अघि बढ्न जरुरी रहेको बताए ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले त पत्रकारलाई पाठ नै पढाए । पत्रकारिताबारे आफूलाई पनि केहि थाहा भएको भन्दै भाषण सुरु गरेका उनले अधिकास समय पत्रकारको ड्यूटीबारे बोल्दै पत्रकारिता नै पढाउन भ्याए । कपिलवस्तुमा पत्रकारिताको विकासमा जग थाप्ने काममा आफ्नो ठुलो भुमिका रहेको स्मरण गराउँदै उनले कपिलवस्तुको अहिलेको पत्रकारिता घटनाकेन्द्रित भएको बताए ।
कपिलवस्तुमा खोज पत्रकारिता हराएको, विकास पत्रकारिता लोप भएको र घटनामा मात्र केन्द्रित भएको हुँदा अब त्योभन्दामाथि उठेर कलम चलाउन उनको आग्रह छ । धेरै पत्रकारले झुटो खबर प्रसारण गरिरहेको भन्दै यसले समाजमा गलत सन्देश दिएको उनले बताए । तुलनात्मक रुपमा पत्रकार र मिडियाको संख्या वृद्धि भए पनि गुणस्तर खस्केको उनले बताए । पत्रकार र मिडिया बढ्नु राम्रो रहेको उनको भनाई ।
शुद्धोशन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले त मञ्चबाटै पत्रकारलाई झपारे । उनले आफूहरुका हुँदै नभएका खबर लेखिरहँदा आजभोलि वेवास्ता गर्न थालेको बताए । आफूविरुद्ध धेरै झुटा खबर आएपछि त्यस्ता समाचार पढ्नै छाडेको उनको जनाउ छ । अब सच्चा पत्रकारिता गर्न उनको आग्रह छ । पत्रकारले हचुवामा खबर लेख्ने, मान्छे नै सहभागि नभएको स्थितिमा नाम राखेर पूर्वाग्रही भएर नाम राखेर यस्तो भन्यो भनेर लेखिदिने, कतिपय स्थानमा सहभागि भएका कार्यक्रममा नाम नै नराखिदिने जस्ता काम पत्रकारबाट भइरहेको पनि उनले बताए ।
अतिथिबाटै आफूहरुविरुद्ध आक्रमण भएको सुनेपछि पत्रकार महासंघका प्रतिनिधिले त्यस्तो नभएको बताए । विशिष्ट अतिथि महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारितामा केहि समस्या भए पनि पुरै बिग्रेको कुरा झुटो रहेको बताए । खबरदारी गर्नु पत्रकारको दायित्व रहेकाले त्यसबाट आत्तिनुपर्न स्थिति नरहेको पाण्डेले बताए । पत्रकारमा केहि समस्या रहेपछि महासंघले शुद्धिकरण थालेको उनले बताए । शुद्धिकरण अभियान महासंघको स्थायी एजेण्डा रहेको पाण्डे बताउँछन् । महासंघको वर्तमान कार्यसमितिले मनाएको शुद्धिकरणले धेरै गैरपत्रकारिता गर्नेमाथि लगाम लगाउने काम गरेको बताए ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले पत्रकारितामा अतिथिले भनेजस्तो विकृति नरहेको बताए । खबरदारी गर्नु पत्रकारको दायित्व रहेको रुमा बुझ्न उनको आग्रह छ । मिडिया संकटमा परेको भन्दै मातहतका मिडिया र पत्रकारको संरक्षण गर्न स्थानीय तहका प्रमुख र जनप्रतिनिलाई उनले आग्रह गरे ।
यता साधारण सदस्यले महासंघ दिनप्रतिदिन पंगु बन्दै जाँदा महासंघ र पत्रकारितामाथि बाह्य ब्यक्तिले प्रश्न उठाउन थालेको बताए । बाह्य मान्छेले यसरी पत्रकारलाई मान्न छोड्नुको पछाडी महासंघले दरोसंग काम गर्न नसक्नु रहेको उनीहरु बताउँछन् । महासंघको बन्द सत्रमा दर्जन बढी पत्रकारले बर्तमान कार्यसमितिमाथि दर्जनौँ प्रश्न राखेका थिए । अब यहि चालले महासंघ अघि बढ्न नसक्ने भन्दै उनीहरुले सच्चिन नेतृत्वलाई आग्रह गरे ।
समयमा साधारण सभा नगरेर आसंकाको घेरामा पुगेको समितिको आर्थिक र प्रगति प्रतिवेदन नै शंशोधनसहित पारित हुने भएको छ । सदस्यहरुले सचिव जानु पाण्डे र कोषाध्यक्ष मोहन बेलबासेले प्रस्तुत गरेको बार्षिक र लेखा प्रतिवेदनमाथि क्रुटी रहेको भन्दै दर्जनौँ प्रश्न उठाएपछि शंशोधनसहित पारित हुने भएको हो ।
पत्रकारहरुले महासंघले श्रमजिवी पत्रकारलाई संरक्षण गर्न नसकेको, महासंघमा सिमिति स्वार्थ बोकेका मान्छे हावी भएको, पुरस्कार र तालिममा दलको कोटा हावी गराएको, सदस्यको क्षमता वृद्धि र मिडिया हाउसलाई दक्ष बनाउन नसकेको, महासंघाई राजनीति गर्ने ठाउँ बनाएको, नेतृत्वले नै आचारसंहिता उलंघन गरेको, महासंघलाई कमिसन खाने भाडो बनाएको, पत्रकारहरु मासु र वियरमा विक्ने गरेको लगायतका कुरा राखेका थिए । अब यी विषय समाधान गर्न सक्ने खालको नेतृत्व चयन गर्नु पर्ने उनीहरुले बताएका थिए । साधारण सभाको खुला सत्रको कार्यक्रम निकै भद्रगोल र अनुशाषनहिन भएको भन्दै तयारीबारे पनि पत्रकारले प्रश्न उठाएका थिए ।
कार्यक्रममा जिल्लामा सक्रिय पत्रकारिता गर्ने खगप्रसाद चापागाई र भगवती न्यौपानेलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । अन्य सहयोगी संघसंस्था र ब्यक्तिलाई पनि सम्मान गरिएको थियो । महसंघका अध्यक्ष किरणमान ब्रज्राचार्यको अध्यक्षता, सचिव जानु पाण्डेको संचालन र उपाध्यक्ष हरि अधिकारीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया