काठमाडौँ । घटस्थापनाको दिनदेखि नै बन्द रहेको कास्की जिल्ला अदालत शुक्रबार मात्रै खुलेको थियो । सात न्यायाधीश कार्यरत उक्त अदालतमा शुक्रबार कोही पनि उपस्थित थिएनन् । तर, न्यायाधीश कृष्णजंग शाहलाई अपराह्नतिर हतार–हतार अदालत बोलाइयो । कार्यालय समय सकिएपछि करिब साढे २ बजेतिर अदालत पुगेर उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिए ।
स्रोतका अनुसार शुक्रबार ६ न्यायाधीश बिदामै थिए । शाह पनि बिदामा बस्न खोजेका थिए । तर, लामिछानेलाई शुक्रबारै पक्राउ गर्ने सरकारको योजनाअनुसार नै उनलाई हतारमा बोलाएर पक्राउ अनुमति लिइएको थियो । दसैँ बिदामा नेपालगन्जस्थित घरमा रहेका उनलाई जसरी पनि शुक्रबार हाजिर हुन माथिल्लो तहबाट खबर पठाइएको स्रोत बताउँछ ।
लामिछानेलाई पक्राउ पुर्जी अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसहितको टोली अदालत गएका थिए । उनीहरू अदालत पुग्दा अदालतमा कोही पनि न्यायाधीश थिएनन् । लामिछानेकै मुद्दामा धेरै न्यायाधीश पन्छिन खोेजेर पनि बिदामा बसेको जिल्ला अदालतका एक कर्मचारी बताउँछन् ।
न्यायाधीश शाह साढे २ बजे कार्यालय पुगेपछि कास्कीका एसपी श्यामबाबु ओलिया र डिएसपी वसन्त शर्माले पक्राउ पुर्जी लिएका थिए । प्रहरीले अपराह्न करिब ४ बजे मात्रै पक्राउ अनुमति पाएको थियो । न्यायाधीश शाह गत १५ साउनमा अर्घाखाँचीबाट कास्की सरुवा भएका थिए । उनी कांग्रेसनिकट मानिन्छन् ।
प्रतिक्रिया