पोखरा । पार्टी सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आन्दोलनमा छ। राजनीतिक प्रतिसोध साँधेर आफ्नो सभापति पक्राउ गरेको भन्दै केन्द्रिय नेता देखि कार्यकर्ता र पार्टीलाई माया गर्ने शुभचिन्तकहरू यतिबेला पोखरामा भेला भएका छन् ।
रवि लामिछाने पक्राउको तीन दिन पछि आइतबार उनलाई जिल्ला अदालतमा पेश गरिदै थियो । त्यसअघि नै रास्वपा आफ्नो सभापतिको न्यायको माग गर्दै शहीद चोकको चौतारो र सडकमा भरिइसकेका थिए ।
हजारौँ समर्थक बीच शान्तिपूर्ण प्रदर्शन भइरहँदा एक्कासि ११ बजे जिल्ला प्रशासनले कार्यक्रम स्थलमा निषेधाज्ञा जारी ग¥यो ।
रास्वपाका उच्च नेताहरूलाई आन्दोलन गरिरहेको स्थान खाली नगरे बल प्रयोग हुने खबर गरियो । सो खबर आफ्नो कानमा परे लगत्तै रास्वपा सह महामन्त्री एवम् पूर्व शिक्षामन्त्री र प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले आन्दोलनको भिडतर्फ हेरिन ।
एकजना वृद्ध आमा रविको न्यायका लागि भन्दै आफ्नो भिडमा होस्टेमा हैसे गरिरहेकी थिइन । प्रशासनले बल प्रयोग गर्ने सूचना र आन्दोलनमा होमिएकी वृद्ध आमालाई देखेर सुमनाले पार्टीका युवा नेताहरूलाई वृद्ध अशक्तहरूलाई तत्काल ख्याल गर्न निर्देशन गरिन् र आफू चौतारोबाट हामफालिन् ।
ति वृद्ध आमाको नजिक पुगिन । आमाले हात जोड्दै भनिन् ‘एकै जनालाई कति पटक दुःख दिएको ? कत्ति दुःख दिएको ? म पनि लड्न आएको, तिमीहरूलाई कति दुःख दिएको, केही गर्छु भनेर आएकाहरूलाई ?’ सुमना भावुक बनिन् । वृद्ध आमालाई अङ्गालो हालिन ।
उनले आमालाई सम्झाउँदै भनिन् ‘आमा तपाईं यहाँ बस्नु पर्दैन, म लड्छु तपाईंहरूका लागि’
सुमनाले पार्टीका नेताहरूलाई तत्काल आमालाई सुरक्षित ठाउँमा पठाइन् । त्यसको केही बेरमै प्रहरीले शहीद चोकमा अश्रुग्यास र पानीको फोहरा वर्षायो ।
नेतृ सुमनासँगै रहेकी रास्वपा सांसद बिनिता कठायतकाअनुसार वृद्ध आमा रविको न्यायका लागि आन्दोलनमा आएकी थिइन ।
‘रविलाई भेट्छु भन्दा भन्दै मेरो श्रीमान् बित्नु भयो,’ ति वृद्ध आमाको भनाई उदृत गर्दै कठायतले भनिन् ,‘म पनि रविलाई भेट्न चाहन्छु । उनको न्यायका लागि लड्न चाहन्छु । म सबैलाई आन्दोलनमा सहभागी भइदिन अनुरोध पनि गर्छु ।’
उनी मात्र होइन उनीजस्ता बिभिन्न पार्टीका मान्छे अहिले रविको समर्थनमा निस्केको देखिन्छ । कतिपयले खुलेर आफ्नो पुरानो पार्टी र आफ्नो नाम भन्ने गरेका छन् भने कतिपयले अब रविलाई समर्थन गर्नुको विकल्प नरहेको भन्दै निस्कन थालेका छन् । हिजो भएको आन्दोलनमा सहभागि भएका कतिपयले आफूहरु एमाले र काँग्रेस समर्थित भए पनि रविको समर्थनमा जुटेको बताएका थिए । काँग्रेस एमालेमा लामो समय मत हालेका वृद्धवृद्धाहरु अहिले खुलेर रविको पक्षमा नारा लगाउँदै हिँडेकोबाट अब परिवर्तन र जागरण सुरु भएको रुपमा रास्वपाका नेताले लिएका छन् ।
सुमनाले भनिन् ‘अब पुराना पार्टी एक्स्पायर भइसके, यो हामीले पहिले देखि नै भनेका थियौँ अब उनीहरुकै चिन्हमा मत खसालेर अहिलेसम्म बसेका पनि असन्तुष्ट भएर हाम्रो आन्दोलनमा आउन थालेका छन् । यो जागरण हो । आफ्ना पार्टीका नेताको हैसियत जनताले बुझिसके । अब मान्छे खुल्न थालिसके । हामी यस कार्यलाई स्वागत गर्दछौँ ।’
पोखरा र अब हुने आन्दोलनमा पार्टीको झण्डा प्रयोग नहुने बताउँदै यो परिवतर्ननको आन्दोलन सबैको भएको उनीहरुले बताएका छन् ।
प्रतिक्रिया