कपिलबस्तु । आगामी मंसिर ६ गतेदेखि कपिलबस्तुको गोरुसिंगेमा सुरु हुने चौथो बुद्धभुमि महोत्सवमा रैथाने खाना र स्थानीय उद्यमलाई प्राथमिकता दिइने भएको छ ।
महोत्सव आउन ३ दिनअघि सोमबार प्रदर्शनी स्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा आयोजक बुद्धभुमि उद्योग वाणिज्य संघले यस विषयमा जानकारी दिएको हो । बुद्धभूमिमा चौथोपटक महोत्सव आयोजना भए पनि उद्योग बाणिज्य संघले गर्न लागेको यो पहिलो महोत्सव हो ।
यहि महोत्सवलाई विशेष बनाउन आफूहरु लागि परेको संघका अध्यक्ष शुभलाल भुसालले बताए । उनका अनुसार महोत्सवमा राखिने १ सय ५० स्टलमध्ये स्थानीय होटल, कृषि र कलाहरुलाई प्राथमिकता दिँदै ५० प्रतिशतसम्म छुट दिइएको छ । स्थानीय कला, कृषि उत्पादनलाई प्रर्वद्धन गर्न २० वटा स्टल निर्धारण गरिएको भुसालले जानकारी दिए । ती स्टलमा रैथाने खानाको रुपमा थारुका परिकार, हस्तकला, परम्परागत उत्पादन मगर, नेवारी लगायतका खाना, स्थानीय अचार ,स्थानीय कृषि उत्पादनलाई राखिने छ । महोत्सव मंसिर १६ गतेसम्म संचालन हुने छ ।
यसका साथै महोत्सव अवधिभर कृषि उपजका समानहरुविक्रि वितरण, पर्यटकीय स्थलहरुको प्रचारप्रसार, आंखा शिविर, सरसफाई, बृक्षारोपण, रक्तदान लगायतका सामाजिक र मानवीय गतिविधिहरु पनि राखिएको संघका महासचिव हरिलाल अधिकारीले बताए । नगरका पर्यटकीय स्थललाई चिनाउन फोटो प्रर्दशनी लगायतका गतिविधि हुने बताइएको छ ।
दैनिक १० हजारका दरले मेलाअवधिभर १ लाख दर्शकले मेला अवलोकन गर्ने र करिब १ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको पत्रकार सम्मेलनमार्फत् अध्यक्ष भुसालले जानकारी गराए ।
महोत्सव लगाउँदै गर्दा वनले झमेलामा पारेको भन्दै सास्ती नदिन अध्यक्ष भुसालले आग्रह गरे । महोत्सव हुने स्थानमा वनको जग्गा जम्मा ५ प्रतिशत पनि नभएको बताउँदै यसैको आधारमा आफूहरुलाई अवरोध सिर्जना गर्ने गरेको भन्दै आयोजकले पत्रकारसमक्ष दुख ब्यक्त गरेका थिए ।
अपांगता भएका ब्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई टिकटमा छुट दिइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिले महोत्सवलाई सफल बनाउन सबै पत्रकारले सहयोग गर्नुपर्ने बताए । पत्रकारहरुले महोत्सवमा हुने विकृसत, विसंगतिमाथि सजग गराउँदै गलत क्रियाकलापलाई रोक्न आग्रह गरेका थिए । विषयगत समिति संयोजकहरुले पनि महोत्सवको तयारीका बारेमा जानकारी दिएका थिए ।
जोखिम रहने विषयहरुमा पूर्ण रुपामा विमा गरी काम गरिएको, सम्भावित दुर्घटना र जोखिमका विषयमा विमा ग्यारेन्टी गरिएको भन्दै ढुक्क भएर महोत्सवमा सहभागि हुने आयोजकले सबैमा आग्रह गरेका छन् ।
पत्रकार महासंघका कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य, प्रेस युनियनका सभापति खगप्रसाद चापागाई लगायतको सम्मेलनमा सहभागिता थियो ।
गोरुसिंगेस्थित कम्पाउण्डमा हुने महोत्सवलाई सफल बनाउन होटल तथा पर्यटन ब्यवसायीहरुले पनि चासोका साथ काम गरिरहेका छन् ।
प्रतिक्रिया