मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभाअध्यक्ष, प्रमुख अतिथिदेखि दर्शकसम्मलाई भेद नगरिएको श्रृङ्गीघाटको त्यो कार्यक्रम..

सभाअध्यक्ष, प्रमुख अतिथिदेखि दर्शकसम्मलाई भेद नगरिएको श्रृङ्गीघाटको त्यो कार्यक्रम..

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । मंच त अतिथिले टम्म भरिएको थियो थियो दर्शक दीर्घामा पनि सयौँ ब्यक्ति । सबैको अनुहारमा उस्तै चमक र खुसी । सोमबार मंचमा गमक्क परेर बसेका अतिथिभन्दा बढ्दा खुसी देखिन्थे तल्लो भागमा बसेका दर्शकहरु। किनकि मंचका अतिथिको मात्र होइन दर्शक दीर्घामा बसेका सबै ब्यक्तिलाई बराबर सम्मान थियो । अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि भनेर छुट्याउन मुस्किलै हुने गर्दथ्यो ।

मञ्चभरी पनि अतिथिको लाइन थियो भने मञ्चदेखि तल पनि दर्जनौँ अतिथि थिए । अतिथिसंगै दर्शक पनि थिए । तर को दर्शक को अतिथि छुट्याउन सकिदैनथ्यो ? कार्यक्रममा सहभागि पुरुष दर्शकका शिरमा ढाका टोपी ढल्किएको थियो भने महिलाहरुको गलामा ढाकाको न्यायनो पछ्यौरा सजिएको थियो । यस्तो भएपछि दर्शकहरुमा पनि खुसीको सिमा थिएन ।

कार्यक्रम थियो, ‘श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुह बाणगंगा कपिलवस्तुको १२ औँ साधारण सभा र ५ औँ अधिवेशन ।’ सधैँ नयाँ काम गरेर चर्चा कमाइरहेको सो वनले साधारण सभा र अधिवेशनको खुला सत्रको कार्यक्रमलाई बिभिन्न तवरले नयाँपनमा ढाल्ने प्रयास गरेको थियो ।

जसको अतिथि र दर्शक सम्मान नयाँ थियो । धेरै संघसंस्थाका कार्यक्रममा प्लाष्टिकका खादा र माला पहिराएर अतिथि सम्मान हुने गरेकोमा यसपटक वनले राष्ट्रिय भावनाको जागृत गराउने गरी अतिथि/दर्शक सम्मान कार्यक्रम गर्यो भने अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि कसैलाई पनि भेद गरेन । यसपछि सबैले उक्त कामको प्रसंसा गरेका हुन् ।

अतिथिको मञ्च र दर्शक दीर्घाका पुरुषहरु ढाका टोपीमा ढल्कँदा र महिलाहरुको गलामा ढाकाको न्यायो पछ्यौरा सजिएको दृश्य निकै सुन्दर देखिन्थ्यो ।

यहि कारण मञ्चका अतिथि र दर्शकलाई फोटा र भिडिओ खिच्न भ्याई नभ्याई थियो । घरमा खादा मालाको कतै प्रयोग नभएपछि सार्वजनिक पद धारण गरी दिनहुँ कार्यक्रममा ठोक्किने ब्यक्तिका घरघरमा डम्पिङको रुपमा अहिले तिनै खादा माला छन् । अन्य कार्यक्रममा अतिथिलाई सम्मान र दर्शकलाई निस्तो राखिने गरेकोमा श्रृङ्गीघाटले भने त्यस्तो गरेन । प्रमुख, विशिष्ट अतिथिदेखि अरु अतिथि र दर्शकसम्मको शीर र गलामा ढाकाटोपी र पछ्योरी पहिराइदियो ।

अतिथि बनेर लिएका यस्ता खादा माला अब कता फालौँ भन्ने हुन्छ जनप्रतिनिधि र सार्वजनिक पद धारण गरेका ब्यक्तिलाई । आफू पनि दिनहुँ यस्ता कार्यक्रममा ठोक्किन पुगेको भन्दै एक बर्षमा गरिने वनको ठुलो कार्यक्रममा नयाँ गर्ने प्रयास गर्न खोजिएको अध्यक्ष शुशिलसिंह ठकुरीले बताए ।

उनले भने, ‘अतिथि सम्मानमा प्रयोग गरिएको वस्तु फेरि प्रयोगमा आओस्, मान्छेले पटकपटम प्रयोग गरुन् भनेर पुरुषहरुको लागि ढाका टोपी र महिलाहरुको लागि ढाकाकै न्यानो पछ्यौरी प्रयोग गरिएको हो । तर सबैले यसलाई निकै राम्रो मान्नु भएको रहेछ । कार्यक्रममा पनि सबैको शिरबाट राष्ट्रियता ढल्किरहेको थियो । यस्तो प्रसंसा पाऔँला भनेर त्यो गरिएको थिएन, जे होस् खुसी लागेको छ ।’ कार्यक्रमको लागि मात्र सिमिति नभएर ती ढाकाटोपी र पछ्यौरी अन्य समयमा पनि काम लाग्ने खालका गुणस्तरिय छन् ।

यसले सबै समान छन् भन्ने सन्देश दिएको सहभागी एक जना उपभोक्ताले बताए । समुहमा सल्लाह गरेर यस्तो सुरुवात गरिएको उपाध्यक्ष बुद्ध शाही बताउँछन् । कार्यक्रमका गतिविधि राम्रा भए पनि भाषण गर्ने अतिथिको लाइनले दर्शक दिक्क जस्तो देखिन्थे । कार्यक्रमको बन्द सत्र नै लामो हुँदा अतिथि र दर्शक आत्तिएको देखिन्थे ।

अतिथि सम्मान मात्र नभएर बनले सोही कार्यक्रममै अरु केहि नयाँ काम पनि गरेको छ । अर्को चर्चा लायक काम वनले कपिलवस्तु सामुदायिक अस्पतालसंग गरेको सम्झ्यौता हो । अस्पतालमा १५ लाख लगानी गरेर उपभोक्ताको उपचारमा ३५ प्रतिशतसम्म छट पाउने गरी अस्पतालसंग सम्झ्यौता गरेको हो ।

अब वनको कार्ड देखाएर उपभोक्ताले कपिलवस्तु सामुदायिक अस्पतालमा औषधीबाहेक अरु उपचार खर्चमा ३५ प्रतिशत पाउने अध्यक्ष ठकुरीले बताए । यस कार्यलाई पनि सहभागि भएका सबैले राम्रो र अनुकरणीय मानेका छन् ।

यता साधारण सभामै खोजी खोजी वनमा योगदान दिएका संस्थापकहरुलाई सम्मान गरिएको थियो भने महिला उद्यमी बनेका ब्यक्तिलाई पनि सम्मान गरिएको थियो ।

उपभोक्ता भएर जीवन निर्वाहा गर्न अटो रिक्सा चालक महिलाहरुलाई पनि वनले नगद, काँसको बेला र सम्मान पत्रले सम्मानित गरिएको थियो । समाजमा उहाँहरुको कामलाई सबैले सम्मान गरुन् भन्ने सन्देश दिन यसको गरिएको सचिव शुष्मा खाँणले बताइन् ।