जितपुर । कपिलवस्तुको बाणगंगा २ नन्दनगरस्थित कैलाश आश्रम परिषरमा आयोजना भएको ३० औँ श्री वराहपुराण पाठ पारायण तथा श्रीमद् भागवत महापुराण धन धान्याञ्चल ज्ञान–महायज्ञ’ सकिन अब मात्र २ दिन रहेको छ । गत मंसिर १६ गतेदेखि सुरु भएको महायज्ञमा ७ औँ दिनसम्म सयौँ भक्तजनले दैनिक भ्रमण गरी दान र सेवा दिइरहेका छन् भने अझै केहि भक्तजनहरु जाने क्रम जारी छ ।
आयोजक मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजका अध्यक्ष रविराज ज्ञवालीले महायज्ञ सफलतातर्फ उन्मुख भएको बताए । आजसम्म ६ हजार बढी क्विन्टल अन्न संकलन भएको र नगद पनि संकलन भइरहेको बताए ।
प्रसिद्ध कथावाचक दीपक सापकोटाको कथावाचन र भजनमण्डलीको सांगितिक भजनले धेरैको मन तानेको अध्यक्ष ज्ञवालीले बताए । साँझमा हुने श्रृङ्गार महाआरतीमा पनि रातिमा निकै भीँड रहने गरेको छ ।
भारतबाट आएका विद्धान र विदुषीहरुले पनि भक्तजनमा धेरै ज्ञान भर्ने काम गरेको महायज्ञका संरक्षक सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले जानकारी दिए ।
बिभिन्न स्कुलहरुको संयोजनमा बाणगंगा नगरपालिकाका ठाउँठाउँमा बसहरुको निशुल्क ब्यवस्था गरिएको छ । त्यसैले महायज्ञमा सहभागी भएर सहयोग गर्न स्वामीको विशेष आग्रह छ ।
गुरुकुल संचालन र बटुकको खानपानको लागि महायज्ञ आयोजना गरिएको हुँदा मनैबाट सकेको सहयोग गर्न स्वामी लोकानन्द महाराजले भन्नुभएको छ । महायज्ञबाट करिव ४० लाखको आर्थिक संकलन गर्ने लक्ष्य छ ।
अझै पनि गुरुकुलको सहयोगार्थ सहयोग गर्ने मन भए यहि २ दिनभित्रको समय रहेको आयोजक बताउँछ । अन्य बेला पनि सहयोग गर्न सकिने भए पनि महायज्ञको समय विशेष रहेकाले यतिखेर सहयोग गर्दा विेशष लाभ मिल्ने कथावाचक सापकोटाको दावी छ ।
बैदिक सत्य सनातन धर्मको रक्षार्थ राष्ट्र शान्ति र विश्व शान्तीको कामना सहित महायज्ञ आयोजना गरिएको प्रचार प्रसार उप समिति संयोजक तथा समाजका उपाध्यक्ष जगतराज रेग्मीले बताए ।
प्रतिक्रिया