मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एका विहानै राहदानी सेवा पाउन थालेपछि कपिलवस्तुका सेवाग्राही खुसी

एका विहानै राहदानी सेवा पाउन थालेपछि कपिलवस्तुका सेवाग्राही खुसी

अपि टाइम्स

कपिलवस्तु । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि नै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा काम सुरु भइसक्छ । सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको कार्यालयले जनाएको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म पहिलो र ११ बजेदेखि ६ बजेसम्म दोस्रो सिफ्टका लागि कर्मचारी व्यवस्थापन गरी सेवा दिन थालिएको हो । सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको हो ।

झन्डै आठ दिन लाग्ने राहदानी नवीकरण गर्ने काम आधा घण्टामा सकिँदा निकै खुसी लागेको बुद्धभूमि नगरपालिकाको बडहराबाट आएका लक्ष्मण न्यौपानेले बताए । ‘टोकन लिएपछि सात दिनमा पालो आउँथ्यो,’ उनले भने, ‘त्यसपछि बल्ल काम हुन्थ्यो ।’ अहिले टोकन लिने समय खर्चनुपरेन । सिधैं फाँटमा गए काम गराएर फर्किन सकिने उनले सुनाए ।

सेवाग्राहीलाई छिटोछरितो र सहज रूपमा सेवा दिन भनेरै बिहानी सिफ्ट सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘कार्यालयकै सीमित स्रोत र जनशक्ति परिचालन गर्‍यौं,’ उनले भने, ‘टिमवर्कले सेवाग्राही खुसी भएका छन् ।’ कर्मचारीलाई थप इन्टेन्सिभ दिन नसके पनि निकै उत्साह र उमंगका साथ कर्मचारीले काम गरिहेकाले सेवाग्राही औधि खुसी भएको उनले बताए ।

बिहानी सेवासँगै टोकन प्रणाली हटेको छ । अब एकै दिनमा राहदानीका लागि आवेदन दिएर फोटो खिचाउन र राजस्व जम्मा गर्न सकिने भएको छ । आवेदनको विवरण राहदानी विभागको सर्भरमा पुगेर छपाइ भई आउने गर्छ । बिहानी सेवा सुरु भएसँगै छिटोछरितो रूपमा काम भइरहेको वाणगंगा नगरपालिकाबाट राहदानीका लागि आवेदन दिन आएकी अञ्जली बस्नेतले बताइन् । ‘प्रचण्ड गर्मीमा लाम लाग्दा उकुसमुकुस भएर निकै तनाव हुन्थ्यो,’ उनले भनिन्, ‘बिहान ९ नबज्दै आवेदन फर्म भरेर घर फर्कन पाउँदा खुसीको सीमा छैन ।’ यस किसिमको सेवा घरदैलोमै पाउन थालेपछि बल्ल सरकार भएको अनुभूति भइरहेको उनले सुनाइन् ।

यसअघि कार्यालय बाहिरबाट व्यवसायीले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था रहेकामा प्रजिअ आचार्यले कार्यालयभित्रैबाट निःशुल्क भर्ने व्यवस्था मिलाएका थिए । बाहिरबाट व्यवसायीले अनलाइन आवेदन भरिदिंदा ३ सयदेखि ४ हजार रुपैयाँसम्म लिने र अनावश्यक रूपमा अनलाइन फर्म होल्ड गरेर राख्दा दुरुपयोग र आर्थिक चलखेल बढिरहेको आमगुनासो आइरहेको थियो । सेवाग्राहीलाई परेको अनावश्यक आर्थिक भार र लामो समय कुर्नु पर्ने झन्झटबाट सहजता दिन जिल्ला प्रशासन कार्यालयले प्रयास थालेको सहायक प्रजिअ अनिल पौडेलले बताए ।

अब सरकारी राजस्वबाहेक थप शुल्क नतिरेर सजिलै राहदानी पाइने भएको छ । राजस्व तिर्न प्रशासन कार्यालय हातामै राष्ट्रिय वाणिज्य बैंकको काउन्टर पनि सञ्चालन हुने प्रक्रियामा रहेको उनले बताए । कर्मचारीलाई कार्यालय समयभन्दा थप काम नलगाउने गरी थप कर्मचारी पनि परिचालन गरिएको छ ।

गत आइतबारबाट यो सेवा सुरु गरिएको हो । बिहानी सेवा सञ्चालनपछि सेवाग्राहीले दुईदेखि तीन सातामै राहदानी पाउने बताइएको छ । सहज सेवा सरल रूपमा पाएपछि सेवाग्राही खुसी बनेका छन् । राहदानीको चाप कम भएपछि पुनः कार्यालय समयमै सेवा सञ्चालन गरिने पनि उनले बताए ।