तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीहरुलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
कम्पोष्टविनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताहरुको पनि लागत साझेदारी रहेको छ । पहिलो चरणमा खानेपानी संस्थाले एक हजार थान कम्पोष्टविन वितरण गर्ने जनाएको छ । उपभोक्ताको मागको आधारमा थप कम्पोष्टविन वितरण गरिने संस्थाले जनाएको छ । नगरपालिकाले परीक्षणको रुपमा संस्थासँग सहकार्य गरेर नगरबासीले घरको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकुन् भनेर यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
सोमबार कम्पोष्टबिन वितरण कार्यको सुभारम्भ गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले कम्पोष्टविनको व्यवस्थित प्रयोगले फोहोरलाई मोहरमा परिणत गर्ने उल्लेख गर्नुभयो । उहाँले वातावरणमैत्री नगर निर्माणमा कम्पोष्टविन वितरणले टेवा पुर्याउने बताउँदै प्रभावकारिताको आधारमा यसलाई विस्तार गरिने बताउनुभयो ।
त्यसअवसरमा संस्थाले सञ्चालन गरेका कामहरुको बारेमा जानकारी गराउँदै संस्थाका अध्यक्ष केशवराज न्यौपानेले कम्पोष्टबिनले उपभोक्ताहरुलाई कौशीखेतीमा समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख युवराज पन्थी, आनन्दवन शंकरनगर खानेपानीका उपाध्यक्षलगायतले कम्पोष्टविनको प्रयोग र महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।
तिलोत्तमा नगरपालिका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियान एक सयौं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् सोमबार डष्टविन वितरण गरिएको हो ।
प्रतिक्रिया