बिना संकल्पशक्ति सफलता सम्भव छैन । तर, केवल दृढ संकल्पशत्तिले मात्र ती सब र बढी चमत्कार देखाउन सकिन्छ । संकल्पशक्ति नै जीवनको उन्नति र अवनतिको कारण हो । उपनिषद्मा मनुष्य संकल्प स्वरुप छ भनेर बताइएको छ । मनुले सब प्रकारको कामनाको मूल संकल्प हो, यज्ञ संकल्पबाट उत्पन्न हुन्छ, व्रत, नियम, धर्म सबै यही संकल्पबाटै उत्पन्न हुन्छन् भनेका छन् ।
आज हामी जति पनि महापुरुषहरु देख्दछौं, जसको नाम संसार अत्यन्त आदरपूर्वक स्मरण गर्छ ती महापुरुषहरुको जीवन पवित्र र उच्च बनाउने कारण संकल्प नै हो । वेदमा यस विषयका अनेक सूक्तहरु छन् जसमा बारम्बार मेरो मन पवित्र संकल्प गर्ने होस् भनी प्रार्थना गरिएको छ ।
मनुष्यको प्रारब्ध कर्म संकल्पद्वारा नै क्रियमाण (आगामी) कर्मको रुपमा परिणत हुन्छ । यसकारण मनुष्य आफ्नो संकल्प राखोस् र जब मलिन अथवा अपवित्र हुन लाग्छ भने म माथि कुनै विपत्ति आउने छ भन्ने विचार गरी छिटै आफ्नो संकल्प र विचारलाई शुद्ध पवित्र बनाउन कहिले पनि दुर्भाग्यले भयभीत पार्न सक्दैन । शुद्ध विचार भएको मानिसमाथि अकस्मात् कुनै विपत्ति प¥यो भने पनि उसको बोझ बाँडेर लिन्छन् अर्थात् सहायता र सहानुभूतिद्वारा उसको विपत्ति टार्न प्रयत्न गर्छन् । यसको विपरीत हुनेलाई यसरी विपत्ति परेमा सबै दुःखमा पार्न तयार हुन्छन् । जो मानिस आफ्नो जीवनलाई दुःख कम गर्न चाहन्छ उसले संकल्पप्रवीण बन्नुपर्छ र त्यसको सदुपयोग गर्नुपर्छ ।
जसरी भरखरै उम्रका विरुवाहरु सजिलैसँग उखेल्न सकिन्छ, वृक्षरुपमा खडा भइसकेपछि त्यसलाई उखेल्नु मनुष्य शक्तिदेखि बाहिरको काम हुन्छ, ठीक यस्तै उत्पन्न हुने बित्तिकै दुष्ट संकल्पहरुलाई उखेल्ने गरी त्यसको ठाउँमा पवित्र र शुद्ध संकल्पको संयोजन गर्न सकिन्छ । परन्टु त्यसले वृक्षाकार लिएपछि नष्ट गर्न कठिन हुन्छ । निश्चय नै जो दुष्ट संकल्प उखेल्ने बित्तिकै हटाउँछन् । उनीहरु त्यसको परिणामस्वरुप कर्म र कर्मको फल दुःखबाट पनि बच्दछन् । संकल्प विद्याका शक्तिको पूरा–पूरा अनुभव गर्न अत्यन्त कठिन छ । संसारको प्रत्येक पदार्थमा यो विद्या विद्यमान छ, आजसम्म जति मानसिक विज्ञान विदित्त छन् ती सबमा यही अलौकिक शक्ति काम गर्दछ ।
इटालियन वैज्ञानिक मार्कोनीको भनाइ छ एक शब्द अथवा यस्तै कुनै स्वर वायुमण्डलमा त्यस्तै प्रकारको गति उत्पन्न गर्छ जस्तो कि पानीको तलाउमा ढुङ्गाको टुक्रा फ्याँक्दा तरंग उत्पन्न हुन्छ । शब्दका यी तरंगहरु टाढा–टाढासम्म पुग्छन् । जतिसुकै टाढा पनि पुग्छन् । यी तरंग टेलीग्राफका प्रत्येक यन्त्रलाई आफ्नो अस्तित्वको अनुभवसम्म गराउँछन्, आकाशको सूक्ष्ममण्डल (इथर) मा संकल्पका तरंग दौडिन्छन्, काम गर्छन्, टाढा–टाढासम पुगिरहन्छन् मार्कोनीले आफ्नो यो अलौकिक यन्त्र आविष्कार नगरेका भए तर्क र युक्तिमा मात्र भर पर्नुपर्ने थियो, धेरैलाई विश्वास हुँदैनथ्यो ।
आकाशमा विद्यमान इथरको शक्ति जसमाथि संकल्पका तरंगहरु दौडन्छन्, त्यो शक्ति हाम्रो मस्तिष्कमा पनि विद्यमान छ । निरन्तर विचारबाट त्यसभित्र गति उत्पन्न हुन्छ र विद्युत्का धारा निस्के झै मस्तिष्कबाट निक्लन्छ । अनिच्छित र स संकल्पशक्तिको संकल्प संरक्षणबिना बाहिर निस्केका विचारधाराहरु शीघ्र नै नष्ट हुन्छन् । संकल्पशक्तिको प्रबल बल विद्यमान विचारशक्तिका तरंगहरु मनुष्यको मस्तिष्कबाट निक्लेर त्यस बेलासम्म निरन्तर दौडान्छन् जबसम्म उसको विचारसँग सहानुभूति र अनुकूलता राख्ने कुनै मन नभेटियोस् ।
यदि हामी घृणा, धिक्कार या शत्रुताको विचारलाई यही संकल्पशक्तिको सहायताले कसैको निमित्त पठाउँछौं भने त्यो विचार जीवित शक्ति बनेर दौडिरहन्छ, जबसम्म लक्ष्य गरेको व्यक्तिको मनभित्र पुग्दैन । यी विचारहरु यसका अतिरिक्त धेरै मनभित्र आफ्नो प्रतिविम्ब छोड्दछन् । प्रेमको प्रत्येक विचार जो बाहिर निस्कन्छ परिणाममा प्रेमको पूरा शक्ति लिएर त्यही व्यक्तिकहाँ फिर्ताप आउँछ, यसैले मनको साक्षी मनै हो भन्ने प्रसिद्धि छ ।
आकाशमा अनेक प्रकारका विचारहरु घुमरिहेका हुन्छन् । मानिसमा आफूलाई जुन प्रकारको विचार ग्रहण गर्ने प्रवृत्ति हुन्छ त्यस्तै प्रकारको विचारलाई आफूतिर आकर्षित गर्दछ । यदि कुनै व्यक्ति खराब विचार मनमा उत्पन्न गर्छ भने त्यही प्रकारको विचारको धाराजस्तो मनमा बनिरहन्छ । त्यो विचारको धारा तबसम्म बन्द हुँदैन जबसम्म मनुष्य स्वयं आफ्नो प्रबल संकल्पशक्तिले आफ्नो मनलाई त्यसबाट रोक्न सक्तैन ।
आकाशमा उत्तमभन्दा उत्तम र खराबभन्दा खराब विचारहरु विद्यमान छन् । त्यसकारण मनुष्यले यी विचारहरु ग्रहण गर्न एकाग्र चित्तले तत्पर हुनुपर्दछ र चित्तवृत्ति लगाउनुपर्छ । जब तत्वदर्शीहरु कुनै पदार्थमाथि विचार गर्दछन् तब त्यसको सम्बन्धमा उनीहरुको मनमा नवीन कुराहरुको स्मरण हुन्छ । याी यस्ता कुराहरु हुन्छन्, जो स्वयं सोच्नेहरुका लागि पनि नयाँ र विस्मित गर्ने खालका हुन्छन् । यसै गरी आविष्कार गर्ने व्यक्ति जब आफ्नो आविष्कारको सम्बन्धमा विचार गर्न आफ्नो चित्तलाई एकाग्र गरेर एकान्तमा बस्तछ तब ऊ आकाशबाट आफूलाई उपयुक्त विचारहरु यसरी संग्रह गर्दछ जसरी एक उखुको बोटले भूमिबाट मधुर रसलाई खिचेर लिन्छ ।
ठीक यसै गरी एक आविष्कारक आफ्नो मनलाई अरु विचारदेखि शून्य गराई एकाग्र गरेर आफ्नो लागि उपयुक्त विचारहरुलाई आफूभित्र आउन अवसर दिन्छ र निरन्तर अभ्यासपछि एक विख्यात आविष्कारक बन्दछ । अध्यात्मविधाका गुरु आफ्नो शिष्यलाई केही काम गराउनु छ भने उसलाई चिट्ठीपत्र आदि लेख्दैनन्, परन्तर आफ्नो विचार नै उसका मनमा राखिदिन्छन् । यो विचार उसभित्र गएर उसको गुरुले गराउन चाहेको काम गर्न उसलाई प्रेरित गर्दछ । यही मानसिक प्रेरणा, यही गुप्त आध्यात्मिक सम्बन्ध र आत्मिक सहायता हो जो पहिलेका महात्माहरु आफ्ना शिष्यप्रति राख्दथे ।
यदि हामी कुनै व्यक्तिप्रति खराब विचारको भावना राख्दछौं भने ती खराब विचारहरु त्यहाँ गई त्यस व्यक्तिप्रति दुःख र व्याकुलता दिन्छन् । अर्थात् जति घृणाको विचार हामी अर्कोप्रति गर्दछौं त्योभन्दा धेरै मात्रामा ती विचारहरु फर्केर हामीतिर आउँछन् । यदि हामी कुनै व्यक्तिमाथि प्रेमको भावना राख्दछौं भने ती प्रेमका भावनालाई उसको मनमा पुगेर अधिक परिणाममा प्रेमभावना लिएर फिर्ता आउँछन् र हाम्रो मनमा अधिक प्रेम उत्पन्न गर्छन् । जसप्रति हामी घृणा गर्दछौं उसले हामीप्रति पनि घृणालाई गर्दछ, यसको कारण माथि भनिएको सिद्धान्त नै हो । यदि हामी यो घृणालाई हटाउन चाहन्छौं भने आफ्नो प्रेमपूर्ण भावना उसप्रति पठाउने गरौं ।
यी प्रेमपूर्ण भावनाहरु उसको मनमा गएर सुधार गरी फर्केर आउँछन् र परिणाममा हाम्रो लागि प्रेम उत्पन्न गर्छन् । यसै धारणमा हाम्रा प्राचीनशास्त्रहरुले प्रत्येक मनुष्यले जीवमात्रको भलाइका लागि प्रबल शक्तिको साथ “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु माकश्चिद्दुः खमाप्नुयात्”– सम्पूर्ण प्राणीहरु सुखी होऊन्, सबै प्राणी निरोगी होऊन्, सबैको कल्याण होस्, कसैले पनि दुःख नपाऊन् भन्ने प्रार्थना गर्नुपर्छ भन्ने उपदेश गरेका छन् । जब कुनै व्यक्ति आफूभित्रबाट समस्त शत्रुताको विचारलाई बाहिर निकालेर सारा संसारको भलाई तथा सुखका लागि प्रार्थना गर्दछ भने उसलाई विश्वप्रेम प्राप्त हुन्छ र उसलाई विश्वको कुनै पनि पदार्थ त्रासोत्पादक हुँदैन ।
स्वामी विवेकानन्दले आफ्नो ‘राजयोग’ नामक ग्रन्थमा लेख्नुभएको छः—
“Every bit of hatred that goes out of the heart of man comes back to him in full force nothing can stop it and every impulse of life comes back to him.”
अर्थात् घृणा प्रत्येक विचार जुन मनुष्यको भित्रबाट बाहिर निस्कन्छ त्यो विचार आफ्नो पूरा बलसाथ उसैसँग फिर्ता हुन्छ, यसो गर्नमा त्यसलाई कुनै चीजले रोक्न सक्तैन । यसै प्रकार अज्ञानताले विचार गरिएको घृणा, प्रतिकार तथा अन्य घातक विचारलाई आश्रय दिँदा कति जीव नष्ट हुन्छन् कतिको हानि हुन्छ कसैले अनुमान गर्न सक्तैन । यसकारण विचार शक्तिको महत्वलाई सम्झनुपर्छ र त्यसलाई सधैं पवित्र तथा निर्मल राख्ने प्रयत्न गर्नुपर्छ, प्रतिदिन समस्त जीवमात्रको भलाइको निमित्त प्रार्थना गर्नुपर्छ, यसले सबैको भलाइ हुन्छ ।
विचारट्ठारा मनुष्यको शरीरमा स्वास्थ्य र रोग दुबै कुरको सञ्चार गर्न सकिन्छ । विचारले भोक जगाउन र नाश गर्न सक्तछ । विचारले मुखमण्डललाई सहसा पहेँलो पारिदिन्छ, मुख, ओठ सुकाइदिन्छ र यही विचारले मुखमण्डललाई प्रफुल्लित पार्छ, रक्तको गतिलाई तीव्र पार्छ, शरीरलाई कान्ति प्रदान गर्दछ । यही विचारले शरीरलाई कँपाएर आँखाबाट आँसुको प्रवाह बगाइदिन्छ, मनको गति यसैद्वारा शिथिल र तीक्ष्ण हुन्छ । यसैले मनुष्यलाई निराशाको अँध्यारो गुफामा धकेलिदिन्छ । यसैबाट अकस्मात् प्राप्त आनन्द पचाउन नसकेर मर्छ, कहिले भयको कारण रक्त सुक्ने अथवा मनको गति रोकिने र भय, शोक र असल दुःखको कारण तुरुन्त र अकस्मात् मृत्यस हुन्छ अर्थात् जहाँ यो विचारले मनुष्यलाई मृत्युको मुखमा तुरुन्त धकेलिदिन्छ भने त्यही मनुष्यलाई स्वास्थ्य, आनन्द, सुख प्रदान गर्न सक्तछ ।
वास्तवमा हाम्रो संसार यो होयन जो हामी मानिरहेका छौं । वास्तवमा त्यो हो जसलाई हामी विचार गरिरहेका छौं । मनुष्य विचारहरुको एक स्वरुप हो । मनुष्यको विचार जस्तो हुन्छ ऊ त्यस्तै बन्छ । यसकारण यदि हामीले रोगको विचारलाई निरन्तर कुनै समयसम्म लिइरह्यौं भने निराशा हुनु पर्नेछ र रोगले आफ्नो स्वरुप अवश्य देखाउनेछ अर्थात् जस्तो हामी विचार गर्नेछौं हामी त्यस्तै बन्नेछौं ।
अतः प्रतिदिन, प्रतिक्षण मनुष्यले निराश हुनु हुन्न र सधैं आशाजनक प्रसन्नता र स्वस्थ सफलताका विचारहरु मनमा धारणा गर्नुपर्छ । सुख आशाको तरंगले रक्तको गतिमा उत्तम प्रभाव पार्दछ र रक्तलाई शुद्ध र रातो गराई स्वास्थ्यका सुप्रभावलाई सम्पूर्ण देहमा सञ्चार गरिदिन्छ, जसद्वारा हामी आफ्नो स्वास्थ्यलाई राम्रो पार्न र शरीरलाई व्याधिबाट सुरक्षित राख्न सक्तछौं।
प्रत्येक मनुष्य सुन्दरता, स्वास्थ्य र सुखमय जीवनको इच्छा गर्दछ । प्रत्येक मनुष्य सय वर्षसम्म जीवित रहन चाहन्छ । सय वर्षसम्म ऊ कसरी बाँच्न चाहँदैन भने रुँदै कराउँदै घरमा खाटमा बसेर औषधी सेवन गरेर बितोस् । ऊ कस्तो जीवन चाहन्छ भने काम गर्दै, खेल्दै त्यो जीवन बितोस् । ऊ यसका लागि ईश्वरसँग प्रार्थना गर्दछ ः—
पश्येम शरदः शतम् जीवेम शरदः शतं शृणुयाम शरदः शतम् ।
प्रब्रवाम शरदः शतमदीना स्यामः शरदः शतम् ।।
म सय वर्षसम्म देखूँ, सय वर्षसम्म रहूँ, सय वर्षसम्म सुनूँ, सय वर्षसम्म बोलूँ, सय वर्षसम्म सुखी र स्वतन्त्र जीवन बिताऊँ ।
मनुष्य धार्मिक र लौकिक दुबै विषयमा त्यति नै सफल हुन्छ जति कि यसको संकल्प शुद्ध र दृढ हुन्छ । यदि कुनै व्यक्ति कुनै कार्यमा असफल हुन्छ भने त्यसको कारण उसको दुर्भाग्य हैन किन्तु उसको संकल्प्को निर्बलता हो । मनुष्यभित्र यो बहुमूल्य शक्ति गुप्त रुपमा छ जसले यसबाट काम लिन सुरु गर्छ ।
उसलाई यसले महान् र उच्च बनाउँछ । अटल संकल्पमा एक बलवान् शक्ति हुन्छ जसले आफ्नो अनुकूल अवस्थालाई स्वयंमेव आफूतिर आकर्षित गर्दछ । यदि हामी आफ्नो यात्रामा सफल हुन चाहन्छौं भने आफूभित्र यो शक्ति उत्पन्न गरौं । जीवनको कठिनाइ हटाउन यही एउटा शक्ति छ जसमा यो शक्ति छ उनीहरु आफ्नो विश्वासलाई बलवान् बनाएर टाढासम्म पु¥याउन सक्तछन् ।
परन्तु जसमा यो शक्ति छैन तिनीहरु यसो गर्न सक्तैनन् । यही नै कारणले कोही मानिस निर्बल विचार भएका मानिसहरुको अपेक्षा अधिक सफल, यशस्वी र ऐश्वर्यवान् हुन्छन् । संकल्पशक्ति नै मनलाई एकाग्र गरेर विचारलाई मस्तिष्कतर्फ आकर्षण गर्न सहायक हुन्छ । प्रत्येक पदार्थ आफ्नो सहधर्मी पदार्थलाई आफूतिर खिच्दछ । यो आकर्षणको नियम हो । यसकारण जो व्यक्तिलाईजस्तो बन्नु छ उसले दृढ संकल्पसाथ आफूभित्र त्यस्तै विचार उत्पन्न गर्नुपर्छ । यस्तो विचारले आफ्नो सहधर्मीलाई आफूतिर आकर्षित गर्छ र परिणाममा ऊ आफ्नो उद्देश्यमा अवश्य सफल हुन्छ । यसकारण यदि कुनै काम गर्नु छ भने कामको सानो ठूलो परिमाणलाई ध्यान दिनु हुन्न । वास्तवमा आफ्नो विचारको न्युनाधिकतामा ध्यान दिनुपर्छ ।
लघुता र सुगमताको कारणले कार्य सफल हुने होइन, त्यो काम गर्ने संकल्पशक्तिको न्यूनाधिकता अनुसार सफलता हुन्छ । कुनै काम गर्नु छ भने निर्बल विचारको तरंगलाई स्थान दिनु हुन्न र कठिनाईको कारण उक्त काम छोडिदिन सम्मत्ति दिने व्यक्तिहरुको परामर्शको अपेक्षा गर्नु हुन्न । यस्ता परामर्शदाताहरु स्वयं निर्बल हृदय र निर्बल विचारका हुन्छन् । यसकारण यी साधारण कुरालाई पनि सम्भव मान्दछन् ।
सत्य कुरा के हो भने यस्ता व्यक्तिहरुले विचारको शक्तिलाई कहिल्यै पनि अनुभव गरेका हुँदैनन् । दृढ विचार शक्तिको अनुभव भएको व्यक्तिले कहिल्यै पनि अर्काको साहस र विचारलाई गिराउन चाहँदैन बरु उसको साहसलाई आफ्नो प्रबल विचारले साथ दिएर अधिक पुष्टि गर्छन् र सफलताको आदेशसम्म पुग्न सहायता दिन्छन् । जब मनुष्य एकपटक दृढ विचार लिएर खडा हुन्छ तब ऊ उसको मार्गमा कति नै अवरोध भए पनि ती सब पार गर्दै गर्दै जान्छ । कुनैले पनि यसलाई उसको उद्देश्यबाट रोक्न सक्तैन बरु यस्ता पुरुषार्थी मनुष्यको सहायताका लागि प्रकृति स्वयं काम गर्दछिन् । कुनै पनि मनुष्य पहिलेदेखि नै महान् हुँदैन, वास्तवमा जब मान्छे आफ्नो आन्तरिक शक्तिबाट काम लिन थाल्दछ अनि महान् बन्छ । जो यस आन्तरिक शक्तिप्रति ध्यान दिंदैन ऊ आफ्नो जीवन यात्रामा पछि पर्दछ ।
दृढ र बलवान् संकल्पशक्तिको कारण मनुष्यमा कस्तो योग्यता उत्पन्न हुन्छ भने ऊ आफ्नो विचारलाई धेरै ठूलो शक्ति दिन सक्छ, आफ्नो विचारलाई आफ्नो लक्ष्यमा त्यस समयसम्म स्थिर राख्तछ जबसम्म उल्टने अभीष्ट प्राप्ति हुँदैन । यदि कुनै व्यक्तिमा कुनै कामप्रति आनाकानी गर्ने प्रवृत्ति छ भने उसको संकल्पशक्ति निर्बल छ र उसबाट काम हुँदैन भन्ने बुझ्नुपर्छ ।
जो आफ्नो दृढविचार बनाइसकेपछि फेरि अर्काको दृढसम्मतिको कारण आफ्नो विचार बदल्छ ऊ अर्काको सम्मतिको दास रहेछ, उसको संकल्पशक्ति कमजोर रहेछ भन्ने थाहा हुन्छ । उसले आफ्नो विवेचना शक्ति लोप गरिरहेछ ।
ऊ अर्काको विचारअनुसार काम गरिरहेछ । यस्तो गर्दा गर्दै उसले दिनप्रतिदिन आफ्नो विचारशक्तिलाई क्षीण गराउँदै जान्छ अन्तमा उसलाई आफ्नो काममा कठिनाइ र असफलता प्राप्त हुन्छ । यसकारण यो विचारशक्तिका महत्वलाई सम्झनुपर्छ तर हठ, दुराग्रह र उच्छृङ्खलतालाई नै विचारशक्ति सम्झनु हुँदैन । विचारशक्ति र हठ आदिमा महान् अन्तर छ । पहिलो आचारको दृढता र श्रेष्ठताको परिणाम हो भने दोस्रो आफ्नै निर्बलताको फल हो ।
संकल्पशक्तिको पूरा विकास गर्नका लागि दृढ आत्मविश्वासको आवश्यकता पर्छ र आत्मविश्वासको दृढता आस्तिकता अर्थात् ईश्वरभक्तिबाट हुन्छ । जब मानिस सर्वशक्तिमान्, सर्वव्यापक, सर्वज्ञ, ईश्वरको सहारा लिएर, सम्पूर्ण कार्यलाई उसैप्रति समर्पित गरी अनासक्त र निष्काम भावले आफूलाई केवल उसको उपकरण (साधन) सम्झेर कर्तव्यरुपले काम गर्दछ र असिम हुन्छन् । यसैकारणले हो कि ईश्वरभक्तद्वारा जुन महान् कार्य र अद्भुत चमत्कार अनायास प्रकट हुन्छन्, त्यसको अनुकरण गर्न संसारका सारा भौतिक शक्तिहरुले आफ्नो पूरा बल लगाउँदा पनि असमर्थ हुन्छन् । यस्ता पुरुषहरुको सम्पूर्ण संकल्प ईश्वरको समर्पण र ईश्वरकै प्रेरणाले भएको हुन्छ । यसकारण ऊ जे संकल्प गर्छ त्यही हुन्छ ।
स्वास्थ्य रक्षाको निमित्त अत्यन्त आवश्यक र महत्वपूर्ण साधन ब्रह्मचर्य हो । मनुष्यको शारीरिक, मानसिक, सामाजिक आदि सम्पूर्ण शक्ति ब्रह्मचर्यमाथि निर्भर हुन्छ । एक स्वस्थ शरीर सदृश ब्रह्मचर्य पालन गर्ने सम्पूर्ण मनुष्य समाज सुख र शान्ति प्राप्त गर्दछ । २५ वर्षसम्म अखण्ड ब्रह्मचारी भएर त्यसपछि गृहस्थाश्रममा प्रवेश गरी शास्त्रअनुसार केवल सन्तानोत्पत्तिका लागि ऋतृ समयमा स्त्रीसंयोग गर्नाले ब्रह्मचर्य व्रत टुट्दैन अर्थात् गृहस्थाश्रममा बसेर पनि ब्रह्मचर्य पालन गर्न सकिन्छ ।
प्राचीन पाश्चात्य देशहरुमा पूर्ण रुपमा राष्ट्रद्वारा ब्रह्मचर्यव्रत पालन गरिएको उदाहरण युनानको स्पार्टा देशमा मिल्दछ, जसको फलस्वरुप थमापालीको युद्धमा इरानी आक्रमणकारी सम्राट जेरकसीस (xerxes) इरानीमा कैखुसरीको तीन लाख सैनिकलाई स्पार्टाका केवल तीनसय वीर ब्रह्मचारीहरुले आफ्नो बलिदान विरोधी सैन्य अघि बढ्न रोकी सम्पूर्ण युनानको स्वतन्त्रतालाई स्थिर राखेका थिए । यस विषयलाई राम्ररी सम्झनुपर्छ ।
प्रतिक्रिया