बुटवल – समाजमा आशौच सम्बन्धी निर्णयहरूको अन्योल रहेका कारण एकरूपता आओस भन्ने हेतुले बुटवलमा धर्म,ज्योतिष तथा वास्तु सम्मेलन आयोजना गर्न लागिएकोे छ । ‘वयं राष्ट्रे जागृयामः पुरोहिताः’ अर्थात्– हामी पुरोहितहरू राष्ट्रलाई जागृत र जीवन्त बनाई राख्नेछौं भन्ने नारासहित यही श्रावणको १९ र २० गते बुटवलको सिद्धार्थ कटेजमा सम्मेलन आयोजना गर्न लागिएकोे धर्म,ज्योतिष तथा वास्तु सम्मेलन आयोजक समितिले अपिटाइमलाई जानकारी गराएको छ ।
पछिल्लो समयमा धर्ममा देखापरेको विविध समस्याहरूले धर्मको अनुशासनमा असहज भएको कारण धार्मिक अगुवा, पण्डित, पुरोहित,ज्योतिष,वास्तुविज्ञ, तान्त्रिक, योगी र गुरूजनमा धर्म सम्बन्धी समस्याहरूमा एकरूपता ल्याउनका लागि यो सम्मेलनको विशेष भूमिका रहने बताइएको छ । सम्मेलनमा धर्मशास्त्र एवं धार्मिक अनुशासनका लागि आशौच परिचय र निर्णयहरू विषयको कार्यपत्र प्रस्तुति , जिज्ञासा र प्रश्नोत्तरका लागि नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. देवमणि भट्टराई , ज्योतिषशास्त्रमा वैदेशिक यात्रा विषयको कार्यपत्र प्रस्तुतिका लागि नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.लक्ष्मीप्रसाद बराल, वास्तु र जीवन विषयक प्रशिक्षणका लागि वरिष्ठ वास्तुविद् डा. माधवमंगल जोशी रहनुहुनेछ ।
यसका साथै अन्य विशिष्ठ व्यक्तिहरू नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी , त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका प्राध्यापक डा. नारायण गौतम, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेल, सहप्रा. दिनानाथ पण्डित, डा. घनश्याम न्यौपाने , देव संस्कृति विश्वविद्यालय हरिद्वारबाट प्रा.डा पुजा कौशिक लागायत अन्य आध्यात्मिक व्यक्तिहरू स्वामी लोकानन्द, चैतन्यकृष्ण, योगी सोमराज, बाबा योगीराज, समेत सम्मेलनमा सहभागी हुनेकुरा धर्म,ज्योतिष तथा वास्तु सम्मेलन आयोजक समितिका संयोजक तथा विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष ज्यो. जनार्दन न्योपानेले जानकारी गराए ।
धार्मिक अगुवा पण्डित, पुरोहित, ज्योतिष, तान्त्रिकहरूलाई मध्यनजगर गरेर राखिएको सम्मेलनले धार्मिक अनुसानमा , आशौच परिचय र निर्णयहरुमा एकरूपता, धर्मको व्यावहारिक प्रयोगमा सहयोग पुर्याउने छ भन्ने कुरा सम्मेलन आयोजक समितिका सहसंयोजक सुन्दर भण्डारीले जानकारी गराए ।
नेपालमा कति पण्डित पुरोहित , ज्योतिष छन् भन्ने यकिन तथ्यांक नभए पनि दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतबाट करिब ५०० प्रतिनिधि सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया