मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्रलाई यो पुस्ताले नसुधारे अर्को पुस्ताले सुधार्छ

लोकतन्त्रलाई यो पुस्ताले नसुधारे अर्को पुस्ताले सुधार्छ

अपि टाइम्स

लोकतन्त्र र नयाँ संविधानको स्वामित्व लिने कोही भएन । राजनीतिक क्षेत्रमा मात्रै होइन, तथाकथित नागरिक समाजमा पनि कोही देखिएन । थरीथरीका मान्छे भएपछि थरीथरीका विचार हुनु स्वाभाविक नै हो । तिनमा पनि लोकतन्त्रप्रति निष्ठा देखिंदैन । हामीले जुन परिकल्पनासहित आन्दोलन गर्‍यौं, दलहरूले त्यसलाई बिर्सिए ।

हामीले अहिले भनिरहेको सत्ताको खेल र भागबण्डा २०६३ सालदेखि नै सुरु भएको हो । संसद पुनस्र्थापना भएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थामा समाहित गर्नका लागि संसदमा सिट संख्या बढाउन जरूरी थिएन, तर बढाइयो ।

आ-आफ्नै स्वार्थ र दाबीले हामीले पछयाएको लक्ष्यमा नकारात्मक प्रभाव पार्छ भन्ने अनुमान गरिएन । त्यतिबेला हामीले सन्देहको लाभ दियौं, दिनु पनि पथ्र्यो । किनभने, एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा जाँदा समाज सहज हुन समय लाग्छ । कहाँको राजतन्त्र, कहाँको गणतन्त्र ! त्यसमा मूल्यमान्यतामा अभ्यस्त हुँदै त्यसका संरचनागत आधारलाई उपयोग गर्दै मुलुकको विकास, समानता, समावेशिता, न्यायका क्षेत्रमा काम गर्नुपर्ने थियो ।

तर अहिले भागबण्डाको राजनीति चरम बिन्दुमा पुगेको छ । नेताहरू कसैले कसैलाई सुन्न छाडेका छन् । अध्ययन पनि गर्दैनन् । नेताहरू अरूलाई के थाहा छ र भन्ने दुःखलाग्दो अवस्थामा पुगेका छन् ।

गिरिजाप्रसाद कोइराला आन्दोलनको रापतापले लोकतन्त्रको पक्षमा उभिनुभयो । साँच्चिकै प्रतिबद्ध पनि हुनुभयो । उहाँले ल्याएको व्यवस्था भन्न मिल्छ यसलाई । नेपाली कांग्रेसभित्र किसुनजी यो एजेन्डामा हुनुहुन्थेन । शेरबहादुर देउवा त्यो बेला थुनिएका थिए । अर्को प्रचण्ड भन्नुपर्छ, तर उनमा धेरै पहिलेदेखि विचलन हुँदै आयो ।

विकास र लोकतन्त्र

मुलुकको यस्तो अवस्था छ, यतातिर केही न केही संवेदनशील हुनुपर्छ । माओवादीले जनयुद्ध दिवस घोषणा गरेर बिदा दिएको छ । त्यो कुन प्राथमिकताको कुरा हो । अनमिनले अयोग्य बाल सैनिकहरूलाई पैसा बाँड्ने निर्णय भएको छ । कुन ऐन र कानुनबाट गरे भन्ने प्रश्न छ । जहाँ पनि पैसा झिकेका छन् । पञ्चायतकालमा बजेटमा नभएको पैसा रकमान्तर गर्न कत्रो कसरत गर्नुपर्थ्यो ।

अर्कोतिर विकासमा हुनुपर्ने खर्च नहुने, उपभोग खर्च बेपत्ता बढ्ने अवस्था भयो । राजस्वको अवस्था धेरै घटेर वित्तीय सन्तुलन नै धरमर भइराखेको छ । यो बेलामा पनि कुनै संयम छैन ।

मुलुकको समग्र अर्थतन्त्र यत्रो मन्दीमा गएको छ । युवा शक्ति बाहिर गएर पैसा पठाउने, त्यसको आधारमा आयातमुखी व्यापार बढ्दै जाने, उपभोक्तावादले प्रश्रय पाउने, बाहिरबाट नयाँ-नयाँ चिज ल्याएर उपभोग गर्ने, आम जनताको जनजीवनले खोजेको जस्तो परिवर्तन नहुने, विकासले गति लिन नसक्ने अवस्था छ ।

पहिले विकासले गति लिन नसक्दा पनि केही क्षेत्रहरू चलायमान थिए । लगानी भइरहेको थियो । त्यसले आर्थिक गतिविधि चलिरहेका थिए । अहिले पूरै मन्दी छ । अहिलेका अर्थभन्त्री यस्तो संकटका विषयमा केही बोलिरहेका छैनन् । यस्तो संकटको बेलाको अर्थमन्त्री यस्तै हुन्छ र ? आउनेबित्तिकै रातारात छलफल गरेर दुई चारवटा निर्णय गरेर यस्तो नीतिगत सुधार गर्न थालिएको छ, मुलुकको अर्थतन्त्रमा यसले यस्तो प्रभाव पार्छ भनेर सार्वजनिक गर्नुपर्ने होइन र ?

लोकतन्त्र नराम्रो हुने भन्ने त सवाल नै आउँदैन । शब्दावलीकै कुरा गर्ने हो भने पनि पहिले प्रजातन्त्र भनिन्थ्यो । प्रजातन्त्र भनेपछि जहिल्यै प्रजा मात्रै हुनेभयौं भनेर लोकतन्त्र भन्न सुरु गर्‍यौं । जनताले जनताका लागि गर्ने शासनलाई लोकतन्त्र भन्नुपर्छ भनिएको हो ।

सबभन्दा दुःखलाग्दो दलितको अवस्था छ । म २००७ सालदेखिको अवस्था सम्झिन्छु । दलित भनेपछि अझै छुवाछूत हुँदा पीडा हुन्छ । यसरी लोकतन्त्रको तन्तु नमिल्दा स्वार्थी तत्वहरूले फाइदा उठाए । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा पहिलेकै रुढ वर्चस्व कायम गर्ने जोडबल छ

प्रजातन्त्र, लोकतन्त्र जे भने पनि नेताहरूको व्यवहार सुधि्रएन । अंकगणितको आधारमा बहुमत पुगोस्, नपुगोस् गठबन्धन बनाएर वा नबनाएर मिलेमतोमा सत्ताका पद, लाभको पद, राजस्व, भागबण्डा गरिरहेका छन् । हाम्रो संस्कार, संस्कृति यस्तै हो ? चोरेर खाने हाम्रो संस्कार थियो र ? यिनीहरूको सुरुदेखि नै नियत ठीक रहेनछ । खासगरी प्रचण्डहरूको । उनीहरू गणतन्त्र आफूले ल्याएको भन्छन् ।

कांग्रेसको आफ्नै इतिहास छ । कम्युनिस्टसँग कांग्रेस मिल्नै हुन्न भन्ने थियो । गणेशमान सिंहले २०४६ सालमा त्यो परम्परा तोड्नुभयो । गिरिजाबाबुले लोकतन्त्रप्रति प्रतिबद्ध भएर १२ बुँदे सम्झौता गर्नुभयो । त्यतिबेला माओवादीहरू ज्यादै लोभी भएर आए । आफ्ना उद्घोषहरूमा जे-जस्ता शब्दावली उपयोग गरे पनि उनीहरू परम्परागत शक्तिहरू भन्दा तल झरिसकेका रहेछन् ।

जनताको प्रतिनिधि हुन सकेनन् जनप्रतिनिधि

प्रतिनिधिमूलक व्यवस्था भने पनि जनताले आफ्ना प्रतिनिधि पाउन सकेका छैनन् । विपन्न, सीमान्त, दलित, जनजाति वर्गको कुरा छाडेर मेरै प्रतिनिधि को हो भन्ने मलाई थाहा छैन । मलाई लागेको कुरा कसलाई भन्ने हो, सुन्ने कसले हो थाहा छैन ।

दलहरूले लोकतान्त्रिक व्यवस्था अनुरूप आचरण नगरिदिंदा जनताले प्रतिनिधि नपाएका हुन् । मधेशको अवस्था हेरौं । मधेशी जनताले आफ्नो प्रतिनिधि पाएनन् । पहाडी समुदायलाई गाली गर्दै पहाडी नेताहरूकै शैली अपनाउने नेताहरू निस्के मधेशमा । प्रतिनिधिमूलक व्यवस्था अनुसार बनेका संरचनाहरूको दुरुपयोग भएपछि हामी यहाँ पुगेका हौं । लोकतन्त्रको उपचार चाहिं लोकतन्त्रले नै गर्ने हो ।

आज विश्वभर नै यो समस्या छ । आफूलाई सबभन्दा ठूलो लोकतन्त्र दाबी गर्ने भारतमा हेर्नुस् । चुनावी व्यवस्थाको एउटा बेथिति भनेको प्राप्त मत देखाउँदै विभिन्न एजेन्डा लादेर जनतामाथि शासन गर्ने हो । भारतमा नरेन्द्र मोदीले गरेको त्यही हो । तर, लोकतन्त्र भनेको त्यो होइन ।

विश्वभर पुरातन सोच हावी भएको देखिन्छ । परिवर्तन पक्षधरलाई भाग खोस्न आएजस्तो व्यवहार भइरहेको छ । अमेरिका बनाएकै आप्रवासीहरूले हो । सुरुमा अमेरिकाको संविधान उदार थिएन, विस्तारै संशोधन गर्दै गए । जातीय भेदभाव अन्त्य गर्न १८६० मा त्यहाँ गृहयुद्ध भयो । अहिलेसम्म पनि त्यहाँ समस्या छ ।

नेपालमा विभाजन छ । पहाडी, मधेशी, जनजाति भन्ने द्वन्द्व छ । यसलाई समन्यायिक अवस्थामा पुर्‍याउन हामीले संघीय लोकतान्त्रिक गणतन्त्र अपनाएका हौं । तर, केन्द्रमा जे-जे विकृति छन् प्रदेशहरूले त्यही अनुसरण गरेका छन् ।

नेपाल सबै नेपालीको हो । हामी सबै समन्वयात्मक ढंगले अघि बढ्ने हो । संघीयता र राज्यपुनसंरचना भनेको राष्ट्र जस्तो छ, राज्यलाई त्यस्तै बनाउने हो । विविधता अनुसारको राष्ट्र राज्य बन्ने अपेक्षा गरिएकोमा अहिले यो अवस्था छ ।

सबभन्दा दुःखलाग्दो दलितको अवस्था छ । म २००७ सालदेखिको अवस्था सम्झिन्छु । दलित भनेपछि अझै छुवाछूत हुँदा पीडा हुन्छ । यसरी लोकतन्त्रको तन्तु नमिल्दा स्वार्थी तत्वहरूले फाइदा उठाए । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा पहिलेकै रुढ वर्चस्व कायम गर्ने जोडबल छ ।

लोकतन्त्रको संकट

यी नेताहरू त्रसित छन् कि छैनन् भन्ने मलाई थाहा छैन । जनताको दुःख र पीडा भजाएर कहीं पुग्दैनन् । एकैछिन लोकपि्रयता प्राप्त गर्न सकिएला । व्यवस्था बदलियो र जनतामा चेतना आइसक्यो । अब भजाएरै खान्छु भन्ने नसोचे हुन्छ ।
अर्कोतिर ‘राजा आऊ’ भन्नेहरू छन् । अब कस्तो राजा खोजेको ? संवैधानिक राजा खोजेको भए राष्ट्रपति भएकै ठाउँमा बस्ने हो, गर्ने केही होइन । सक्रिय राजा नै चाहियो भन्ने आँट त कसैमा देखिंदैन ।

संघीयताबारे विमति राख्न पाइन्छ । यो चाहिंदैन भन्न पनि पाइन्छ । खारेज गर भन्न पनि पाइन्छ । समाजमा बहस हुन्छ र निष्कर्ष निस्किन्छ । त्यही निष्कर्षबाट आएको हो, फेरि बहस गर्छु भन्ने हो भने गरे हुन्छ । लोकतन्त्र भनेकै त्यही हो । यही व्यवस्थाअन्तर्गत चुनाव लड्ने, यही संविधान मानेर आउने अनि यही संविधानको बर्खिलाप गर्न चाहिं पाइन्न ।

राजा चाहियो भन्ने कमल थापा यही गणतन्त्रको प्रधानमन्त्री हुन्छु भन्दै हिंड्थे । अहिले राप्रपा केका लागि चुनाव लडिरहेको ? यस्ता द्वैध चरित्र देखाउने भनेको जनताको पीडा भजाउनका लागि हो- राजाको कुरामा होस् वा संघीयताको सवालमा ।

संघीयताले जस्तो राष्ट्र त्यस्तै राज्य बनाउन मद्दत पनि गर्छ । नेपाल जातीय रूपमा मात्र नभई भौगोलिक रूपमा पनि ज्यादै विविधता भएको मुलुक हो । यस्तो देशमा जनताको प्रत्यक्ष पहुँच राख्नेगरी प्राथमिकताहरू निर्धारण गरेर स्रोत-साधनको उपयोग हुनुपर्छ । त्यसका लागि अधिकारसम्पन्न संवैधानिक व्यवस्था नै चाहिन्छ भनेर संघीयता ल्याएको हो ।

समावेशिताको एजेन्डा योभन्दा माथि छ । आजको नेपाल राज्यमा जंगबहादुरको पालाको सामाजिक संरचना राखेर हुँदैन । महिला, मधेशी, जनजातिलगायत सबैलाई समान अधिकार चाहियो, सबै राज्यको मूलधारमा समावेश हुनुपर्‍यो । विविधताको बीचमा एकता भनेको यही हो ।

पृथ्वीनारायण शाहले नेपाललाई ‘चार जात, छत्तीस वर्णको फूलबारी’ भने । त्यसो हो भने सबै फूलहरूलाई बराबर मलजल र सिञ्चन चाहियो । तर, १८औं शताब्दीदेखि नै त्यस्तो भएन । अहिले निकै सुधार भएको छ, तर राजा पृथ्वीनारायणको भनाइको मर्म पूरै आत्मसात् भएको छैन । यो लेनदेनको आधारमा गर्ने कुरा होइन ।

महँगो चुनाव

२०४७ सालको संविधान लागू भएदेखि नै हामीले चुनाव महँगो हुँदै गयो भन्दै आएको हो । चुनावी प्रक्रियालाई सरल नबनाए विभिन्न विकृति आउँछ भनेकै हो । निर्वाचन ऐनलाई कसैले नमानेको, मनपरी गरेको देखिन्छ ।

कुनै संस्थाले पनि हाम्रोमा काम गरिरहेको छैन । सबैमा राजनीतिक भागन्ण्डा र हस्तक्षेप छ । न्यायालयदेखि अख्तियारसम्मका संवैधानिक निकायमा उस्तै छ । वास्तवमा, चुनाव खर्चिलो भएको होइन, अनियन्त्रित भएको हो । चुनाव खर्चिलो नहोस् भन्नेमा नेपाली जनताको एकमत छ । यसमा राजनीतिक दलको दुर्नियत मुख्य समस्या हो ।

संविधानमा सबै कुरा स्पष्ट नै छ । त्यहीअनुसार नियम, कानुन र विधिमा बाँधिने हो सबै । तर, दलहरूले फुक्काफाल हुने दुर्नियत राखेको देखिन्छ । यसमा जनताले नसिहत दिनुपर्ने हो, तर जनतामा पनि अति राजनीतीकरण गरेर दलहरूले छुट लिएका छन् ।

अमेरिकाका जोन डिबे भन्ने विद्वानले शिक्षा र लोकतन्त्र धेरै हदसम्म अन्तरसम्बन्धित हुने बताएका छन् । ‘त्यस्तो शिक्षा व्यवस्था, शिक्षण पद्धति होस्, जसले हरेक पुस्तामा लोकतन्त्रले पुनर्जागरण पाएको अनुभव गरोस्’ उनले लेखेका छन् । यो अपेक्षा गर्ने कुरा हो ।

नेपालका स्थापित पार्टीहरू कांग्रेस, एमालेका युवा नेताबारे हामीले खुबै कुरा गर्‍यौं । तर, तिनमा न आँट देखियो न त त्यस्तो छाँट । तिनीहरू पनि आफ्नो स्वार्थभन्दा माथि उठ्न सकेनन् । सानातिना कुरामा झगडा गरे, पार्टीभित्र गर्नुपर्ने विद्रोह गर्नै नसक्ने भए ।

अहिले यी सबै माओवादीले बोलीमा ल्याएको ‘छलाङ’ भन्ने शब्दजस्तो छलाङ मार्न तयार छन्, तर खुट्टाले चाहिं भुइँ छोड्नै नसक्ने अवस्था छ । दुवै खुट्टा आफ्नो पार्टीको स्वार्थमा गाडिएको छ ।

र पनि, लोकतन्त्रलाई लोकतन्त्रले सुधार्छ । त्यो भनेको जनताले सुधार्छन् । एउटा पुस्ताले नसुधारे अर्को पुस्ताले, एउटा समुदायले नभए अर्को समुदायले सुधार्छ ।