मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानको तिर्खा मेट्ने साम्पाङको प्यास

धरानको तिर्खा मेट्ने साम्पाङको प्यास

अपि टाइम्स

सुनसरी — जब जंगलमा आगो लाग्छ, त्योबेला एउटा साहसी पन्छी सुगाले भावुक भएर नदीमा डुबुल्की मार्दै पखेटामा टाँसिएको पानीका थोपाले डढेलो निभाउन कोसिस गर्छ । तर थोपाथोपा झारेको पानीले ऊ एक्लैले डढेलो निभाउन सक्ने कुरै भएन । तैपनि उसले आफ्नो प्रयासलाई निरन्तरता दिन्छ । यो चर्चित नीतिकथा हो ।

यस्तै, सुगाको नियति भोगिरहेको अर्थ्याइन्छ धरानमा उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाई । डढेलोजस्तो धरान सहरमा खानेपानीको हाहाकार छ । अहिले अधिकांश वडाध्यक्ष एकातिर छन् भने साम्पाङ अर्कातिर । खानेपानीका लागि भन्दै साम्पाङ खोलाखोल्सीदेखि कोशी किनारसम्म धाइरहेका छन् । सामाजिक सञ्जालमा उनी जति ठट्यौला देखिन्छन्, पदभार ग्रहण गरेदेखि नै पानी कसरी ल्याउने भन्नेमा गम्भीर छन् ।

उनी स्वतन्त्र उठेर निर्वाचित हुन् । धरानमा २० वटा वडाहरू छन्, वडाध्यक्षहरू दलबाट उम्मेदवारी दिएर जितेका छन् । यतिबेला साम्पाङ र वडाध्यक्षहरूबीच सम्बन्ध चिसिएको छ । समग्र धरानको विकासका लागि नगरप्रमुखले समन्वय नगरेको आरोप लगाइरहँदा साम्पाङ भने खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर श्रमदानमार्फत पाइपलाइन विस्तार गर्ने, नयाँ मुहान खोजी गर्ने र अभाव पूर्ति गर्ने ध्याउन्नमा छन् । उपमहानगरको मुख्य खाँचो टार्न लागिपरेका उनी नरम बोल्न र सबै वडाका जनप्रतिनिधिलाई साथै लिएर अघि बढ्न भने नसकेको देखिएको छ ।

जनप्रतिनिधि वडाध्यक्षहरूको तर्क सुन्दा उनीहरू नै ठीक भन्नेहरू साम्पाङको भावुक तर्क सुनेर उनी झन् बढी ठीक देखिने बताउँछन् । तर सानासाना विषयमा उठेको विवाद समाधान हुन नसक्दा भने स्वतन्त्र प्रमुख र दलीय वडाध्यक्षबीचको विवादलाई प्रतिष्ठासँग जोडेको सहजै अनुमान गर्न सकिन्छ । यही कारण नगरको मुख्य खाँचो खानेपानी व्यवस्था गर्न जनप्रतिनिधिहरू एक हुन सकेका छैनन् । धरानमा यतिबेला खानेपानीको चरम संकट छ । नगरवासी ट्यांकरमा पानी किनेर उपभोग गरिरहेका छन् । सन् २०१२ देखि सुरु भएको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत करिब २ अर्ब रुपैयाँ बजेटको धरान खानेपानी योजनाले दैनिक १ करोड ५२ लाख लिटर भूमिगत पानी चारकोसे जंगलबाट आपूर्ति हुने भनिएको थियो । तर अझै पर्याप्त आपूर्ति हुन नसक्दा संकट नटरेको हो ।

११ महिनादेखि एउटै मुख्य एजेन्डा

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका प्रमुख साम्पाङले नगरवासीलाई खानेपानी पुर्‍याउन अनेक ‘आइडिया’ लगाउँदै आएका छन् । प्रमुखको कुर्सीमा बस्नासाथ उनले मौसमी मुहान पहिचान गरेर पकुवा, निसाने र भालु खोलाका पानी संकलन गरेर मूल ट्यांकीमा झार्ने अभियान सुरु गरे । उनले कार्यभार सम्हाल्दा वर्षाको मौसम सुरु भइरहेको थियो । जलाधार क्षेत्रकै सर्दुखर्दुको खेर गएको पानीलाई पनि संकलन गरेर ट्यांकीमा झारे । त्यतिबेला नगरमा आपूर्ति केही सहज भएको थियो । जब हिउँद सुरु भयो मौसमी मुहान सुके । उनले धरान–२० को कोकाहा खोलाबाट पनि पानी ल्याउन श्रमदान जुटाए । १० इन्चको पाइप बराबरको पानी आउने भए पनि पहाडका भीर र अक्करे पहरा हुँदै ५ इन्च पाइप विस्तार गरिरहेका छन् । कोकाहाबाट धरानसम्म घुमाउँदै ल्याउँदाको दूरी करिब ३० किलोमिटर पर्छ । उक्त पानी धरानमा झार्न सके अल्पकालीन नै भए पनि आधा समस्या समाधान हुन्छ भन्ने बुझाइ छ । पछिल्लो समयमा श्रमदानमार्फत विस्तार गरेको पाइपलाइन बराहक्षेत्र नगरपालिका–१ को चावाचा बस्ती हुँदै ल्याउनुपर्छ । उक्त बस्तीमै पनि पानीको वितरण प्रणाली व्यवस्थित नभएकाले स्थानीयले अवरोध गरे । विस्तारको काम प्रभावित भयो ।

नगरप्रमुख साम्पाङले भन्छन्, ‘मान्छे चन्द्रमामा पुगिसक्यो हामी आफ्नै नदी खोलाको पानी ल्याउँदा विवाद र अवरोधमा रुमल्लिइरहेका छौं । खानेपानी जस्तो संवेदनशील विषयमा उहाँहरूले अवरोध गर्नु नहुने हो । के हामीले पानी पनि खानु नपाउनु ? हामी कस्तो समाजमा बाँच्दै छौं ?’ अवरोध हटाउन बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीसँग वार्ता भएको उनले बताए । स्थानीयले आफूहरूलाई पनि पानी दिनुपर्ने माग गरेका थिए । साम्पाङका अनुसार अब करिब दुई/अढाई किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी छ । ‘सम्भवतः केही दिनभित्रमा कोकाहाको पानी धरानमा झर्ने छ,’ साम्पाङले भने । मुख्य स्रोत मानिएको सर्दुखर्दु क्षेत्रमा पनि जलस्तर घटेको छ । आयोजनाअन्तर्गतको भूमिगत स्रोतबाट जुटाइने पानीको पनि परिमाण घटेको छ । विद्युत् आपूर्ति अनियमित हुनुका साथै जेनेरेटर बिग्रँदा आयोजनाबाट पर्याप्त नभएको अवस्थामा कोकाहाको पानी धरानका लागि राहत हुने प्रमुख साम्पाङको बुझाइ छ । अहिले धरानका वडाहरूमा कतै तीन दिनमा एक पटक र कतै दुई सातासम्म धारामा पानी नआउने अवस्था छ ।

अभाव हटाउन साम्पाङले सुरु गरेको श्रम अभियानलाई साथ दिन यतिबेला दैनिक कम्तीमा सयदेखि दुई सय जना सहभागी हुन्छन् । शनिबारलाई उनले ‘श्रमबार’ नाम दिएका छन् । उक्त दिन भने कम्तीमा ४ हजार जना श्रमदानमा सरिक हुन्छन् । तीमध्ये ५० प्रतिशत धरान बाहिरबाट आउँछन् । प्रमुख साम्पाङका खानेपानी परियोजना म्यानेजर पूर्वगोर्खा सैनिक दत्त खापुङका अनुसार खानेपानी ल्याउने कामका लागि हालसम्म करिब साढे ९ करोड रुपैयाँ नगद र जिन्सी सहयोग प्राप्त भएको छ । ‘खानेपानीकै लागि भनेर स्वदेश र विदेशबाट आर्थिक सहयोग आइरहेको छ,’ उनले भने, ‘कतिपयले जिन्सीका रूपमा लाखौंको पाइप किनेर दिएका छन् । त्यही रकमले कतै गोर्खा वेलफेयरका प्राविधिकको निगरानीमा पाइपलाइन विस्तार र पानीट्यांकी निर्माण भइरहेको छ ।’ कोकाहा खानेपानी योजना सम्पन्न गर्न गत चैत २५ मा सिल्भर इन्टरटेनमेन्टको सहयोगमा धरानमा ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ भएको थियो । ३६ लाख १८ हजार रुपैयाँ उठेकोमा खर्च कटाएर २८ लाख ३६ हजार रुपैयाँ मंगलबार नगरप्रमुख साम्पाङलाई हस्तान्तरण गरिएको कन्सर्टका संयोजक मीना सिंगकले बताइन् ।

सुक्खायाममा जहिल्यै हाहाकार

दुई दशकयता जनसंख्या र बस्ती विस्तारसँगै धरानमा खानेपानीको संकट भइआएको हो । वर्षायाममा पुराना स्रोतबाट पानीको आपूर्ति सहज भए पनि हिउँदमा जहिल्यै हाहाकार हुने गरेको छ । जनगणना–२०७८ अनुसार धरानको जनसंख्या १ लाख ६६ हजार ५ सय ३१ छ । आयोजनाले विष्णुपादुका र पाँचकन्या समावेश नभएको साविक धरान नगरपालिकाको तत्कालीन जनसंख्याका लागि सन् २०३० सम्म पर्याप्त हुने डिजाइन गरेर पाइपलाइन विस्तार गरेको थियो । तर नेपाल खानेपानी संस्थानको धरान शाखाको प्राविधिक डिजाइन भने त्यसमा समावेश थिएन ।

हाल धरानमा पानीको माग दैनिक करिब ३ करोड लिटर रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताए । उनले भने, ‘माग अत्यधिक छ । पानी आपूर्ति गर्न सकिरहेका छैनौं । भूमिगत पानी दैनिक १ करोड ६० लाख लिटर र सतहको हिउँदमा ४० लाख लिटरमात्र छ ।’ दैनिक करिब १ करोड लिटर अपुग भएकाले हाहाकार देखिएको उनले बताए ।

प्रत्येक हिउँदमा यहाँ पानीको हाहाकार हुनु नौलो नभएको स्थानीय बुद्धिजीवी डा. राजेन्द्र शर्माले बताए । उनका अनुसार नगर प्रमुख साम्पाङले पानी जुटाउन नयाँ स्रोत खोजे । तर ती स्रोतहरू मौसमी भएकाले हिउँदमा सुक्दा वितरण भरपर्दो नभएको हो । खानेपानी संस्थानको जिम्मेवारी बोर्डले लिएको छ तर पुराना पाइपलाइनका बारेमा जानकार इमानदार कर्मचारी नपाएको उनले बताए । ‘एकीकृत सहरी विकास परियोजनाले दिने भनेको दैनिक १ करोड ५२ लाख लिटर पानी जुटाउन र बाँड्न सकेन । धरानमा विष्णुपादुका र पाँचकन्या गाविस पनि गाभियो । सहरी क्षेत्रमा जनसंख्या बढेपछि झन् धेरै पानी चाहियो, आपूर्ति पर्याप्त नभएर हाहाकार बढ्यो ।’

धरानको खानेपानीको स्रोतको संरचना वि.सं. १९९५ कै रहेको कारण पनि चुहावटले वितरण समुचित हुन नसकेको उनको बुझाइ छ । ८५ वर्षअघि धरानको सीमित जनसंख्यालाई खानेपानी वितरण गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले फुस्रेमा पानीट्यांकी बनाउन लगाएका थिए । ‘सर्दुखर्दु जस्ता साना खहरेको पानी संकलन गरेर ट्यांकी भरिएपछि बजारमा वितरण गरिएजस्तै अहिले पनि तिनै पूर्वाधारका आधारमा वितरण हुने गरेको छ,’ उनले भने । खानेपानी र अन्य कामको विषयमा प्रमुख साम्पाङ नतिजामुखी देखिएको तर काम गर्ने शैली परिवर्तन नगरी एक्लै अगाडि बढेको अवस्थामा वडाध्यक्षहरूले भने साथ र सहयोग नगरेको शर्माको बुझाइ छ । उनले भने, ‘धरानका जनतालाई खानेपानी जताबाट भए पनि ल्याउँछु भनेर स्वदेश र विदेशबाट स्रोत जुटाउँदै छन् । तर बढ्दो जनसंख्यालाई खानेपानी पुर्‍याउन उनको एक्लो जोडबलले भ्याउँदैन । विकल्पमा तमोरबाट कि कोशीबाट पानी ल्याउनैपर्छ । जनप्रतिनिधिहरूबीच एकता जरुरी छ ।’

कोशीको पानी ल्याउन डीपीआर

धरानमा कोशीको पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न स्थलगत अध्ययन भइरहेको प्रमुख साम्पाङले बताएका छन् । अध्ययनका क्रममा ट्यांकी बनाउने ठाउँ हेर्न इन्जिनियर राजेश महर्जनसहित आफू अर्चले पनि पुगेको उनले बताए । उक्त स्थानमा करिब १० लाख लिटर क्षमताको ट्यांकी बनाइने र कोशीको पानी लिफ्ट गरेर जम्मा गर्ने योजना छ । धरानका विष्णुपादुका, दानाबारी र देउरालीका बासिन्दालाई पनि कोशीको पानी वितरण हुने गरी परियोजना डिजाइन हुने उनले बताए । यसबीच गोर्खा वेलफेयर ट्रस्टले धरानको खानेपानी स्तरोन्नति आयोजनामा पनि सहयोग गरेको छ । पाइपलाइन र ट्यांकी निर्माणका लागि वेलफेयरले ३ करोड ३९ लाख रुपैयाँको योजना स्वीकृत गरेको छ । साम्पाङ र रेजिमेन्ट एसोसिएसन अध्यक्ष पूर्वगोर्खा मेजर झप्तमान लिम्बूले धरान–भेडेटार सडकखण्डको आँपगाछी क्षेत्रमा पर्ने खर्दु खोलामा आयोजनाको शिलान्यास गरिसकेका छन् ।

वेलफेयरको धरान प्रमुख पूर्ण लिम्बूले भने, ‘भूपू लाहुरेहरू बसोबास गर्ने सहरमा पानीको समस्या समाधानमा सघाउन ट्रस्टले २ लाख १२ हजार पाउन्डको योजना स्वीकृत गरेर काम अगाडि बढेको छ ।’ आयोजनाले थप ३ वटा इन्टेक संरचना निर्माण गर्नेछ भने खानेपानीको साविकको संरचनाहरूको स्तरोन्नति गर्ने जानकारी उनले दिए । थपिने ३ वटा इन्टेकको पानी संकलन गरेर ट्यांकीबाट ओशो पार्कमाथिको बानेटारस्थित ट्रिटमेन्ट प्लान्टमा पुर्‍याइनेछ । ‘दैनिक ६० लाख लिटर क्षमताको प्लान्टको क्षमता बढाएर ९० लाख बनाइनेछ । बानेटारको ट्रिटमेन्ट प्लान्टबाट पानीलाई फुस्रेको र्‍यापिड स्यान्डफिल्टरमा झारेर ४०/४० लाखको ४ वटा कोठा रहेकोमा एउटा थपेर २ करोड लिटर क्षमताको बनाइनेछ,’ उनले भने । यसअघि पूर्वगोर्खा सैनिकहरूकै सहयोगले निसाने खोलामा २ लाख ३७ लिटर क्षमताको ट्यांकी निर्माण भइसकेको छ । बर्खायाममा जंगलको डिप ट्युबवेल र पम्प चलाउनु नपर्ने गरी खोलाहरूको पानी संकलन गर्नुपरेको र विद्युत् खर्च जोगाउन मौसमी स्रोत खोजी गरेको उनको भनाइ छ ।