मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋषिमुनिहरुको उपहार हो वास्तुशास्त्र

ऋषिमुनिहरुको उपहार हो वास्तुशास्त्र

मूलतः वास्तुशास्त्रमा ५ तत्त्वको चर्चा छ

अपि टाइम्स

विज्ञान र प्रविधिको विकासले मानव जीवनलाई धेरै सुखी र सहज बनाएको छ। विगतमा घण्टौ लगाएर गरिने कार्य आज सेकेन्डमा सकिदैछ। वैज्ञानिकहरुले नयाँ-नयाँ खोज र अनुसन्धान गरिरहेका छन् ।मानिसका इच्छा,आकाङ्क्षा थपिदैछन् ।जनसंख्या तीव्र गतिमा बढिरहेको छ,भूगोल उस्तै छ ।झन्झन् विभिन्न प्रदुषण जस्तैः-ध्वनि,वायु,जल,भूमि प्रदुषण बढिरहेको छ । बाहिरबाट देख्दा अत्यन्त खुसी देखिएको मानिस भित्र भित्र निराश र चिन्तित छ ।

सम्पत्ति प्रशस्त छ,सही ठाउँमा प्रयोग भएको छैन ।खाने व्यञ्जन थरीथरीका छन् भोक छैन ।अत्यन्त सुविधाजन्य आकर्षक शयनकक्ष छ निद्रा छैन । हो, आज मानिस सुखी र सम्पन्न छ तर मन आनन्दित छैन । भौतिक चीजले मानिस सुखी छ, तर खुसी र शान्त छैन । दिनभर काम गर्दछ; घर पुग्नासाथ रिसाउने,झर्किने आदि गर्दछ ।काम गरेको ठाउँमा काम गर्न मन लाग्दैन ।सुत्दा निद्रा लाग्दैन,कमाएको राम्रोसँग बचत छैन ।नँया सामग्री छिटो बिग्रन्छ ।सम्पन्न गर्न लागेको कार्य अन्तिममा रोकिन्छ ।परिवारमा मेलमिलाप छैन,शत्रु निरन्तर बढिरहेको छ।पढ्नमा ध्यान जादैन,काममा मन जान्न,शरीरको उपचार गर्दा पनि निको हुँदैन घरमा अनौठा दृश्य र आवाज भेटिन्छ ।हो यस्तै समस्याले आज मानिस चिन्तित छ । कहिलेकाही आफैले आफैलाई प्रश्न गर्दछ,किन यस्तो भयो? के होला कारण ? 

जसरी मानिसको शरीर स्वस्थ रहनको लागि शारिरिक दृष्टिकोणबाट रगत,क्याल्सियम,भिटामिन,प्रोटिन अक्सिजन आदि जस्ता तत्त्व सन्तुलित हुनुपर्दछ,ठीक त्यसैगरी वातावरण एवम् हाम्रो घर स्वस्थ एवम् निरोगी रहनको लागि जल,अग्नि,पृथ्वी,वायु आकाश तत्त्व सन्तुलित हुन जरूरी छ ।आजको दिनमा मानिसले आफ्ना सवारी साधन,विद्युतीय उपकरणको साथमा आफ्नो शरीरको अवस्था कस्तो छ भनेर जान्नको लागि समय-समयमा परिक्षण गरिरहन्छन् ।

तर आफूँ बस्ने घर अथवा कार्यस्थल कस्तो छ भनेर प्रायः चासो राखेको पाइदैन । भाग्य छ भनेर नेपाली उखान “चाल्नोमा दुध दुहेर अडिदैन” भन्छौ त्यसैगरी भाडोमा दुहेको दुध पनि पुरै बेचेर,पोखिएर अथवा अन्य कारणले खान नपाउने पनि धेरै छन् त्यसैगरी कर्म गरेर पनि सफल नभएका धेरै भेटिन्छन् ।

साथै ग्रह अनुसार भाग्य र आवश्यकता अनुरुपको कार्य गरेका पनि कहिलेकाही असफल भेटिन्छन् । वास्तवमा मानवीय जीवनमा कर्म,भाग्य र वास्तुको सन्तुलन मिल्नु जरूरी छ अन्यथा सफलता प्राप्त गर्नु कठिन छ ।कर्मले मानिसको भाग्य बदल्छ ।

तर त्यही कर्म सफल हुनको लागि भाग्य र वास्तुको उत्तिकै भूमिका रहन्छ ।संस्कृतको “वस्” धातुमा तुन् प्रत्यय भएर  वस्तु शब्द बन्दछ,वस्तु शब्दमा णिच् प्रत्यय आदि अच् को वृद्धि भइ णिच् प्रत्ययको लोप हुँदा वास्तु शब्द बन्दछ ।यसको अर्थ हुन्छ जुन चीजको संसारमा अस्थित्व छ ,प्रभाव छ आदि बुझिन्छ ।

स्थापत्य वेदको निर्माण र कलासँग सम्बन्धित  जुन नियम त्यसलाई नै वास्तुको मूल प्रमाण र नियम मानिन्छ । लामो समयको प्रयोग र अनुभवले मानव जीवन र चराचर जीवन प्रकृतिको उन्नति र प्रगतिका लागी हाम्रा महान् ऋषि मुनिहरुले दिएको विज्ञानमा आधारित उपहार हो वास्तु ।आज हामी देख्न सक्छौ सयौं,हजारौं बर्ष अगाडी हाम्रा ॠषि र पुर्खाहरुले बनाएका केही संरचना आज पनि उस्तै देखिन्छन् ।तसर्थ कुनैपनि निर्माण गर्दा स्थापत्य वेदको वास्तुशास्त्रको नियमलाई अवलम्बन गर्दा पञ्चतत्त्व सन्तुलनको साथमा वातावरण पनि स्वच्छ रहन्छ । मूलतः वास्तुशास्त्रमा ५ तत्त्वको चर्चा छ । 

१ ) जल 

   पानी मानव जीवनको सबैभन्दा महत्वपूर्ण तत्त्व हो ।पानी खान मात्र नभएर हाम्रा सबै कार्यको लागि अत्यावश्यक छ ।वास्तुशास्त्र अनुसार पानीको स्रोत ईशान दिशा हो ।पानीको धारा,ट्युबवेल,ट्याङ्की,इनार आदि यो दिशामा बनाउनुपर्छ ।यो स्थानबाट निकालेको पानी अथवा भूमिमुनि सञ्चित गरेको जल निकै उपयोगी बन्दछ ।साथै यो दिशामा पूजाकोठा,अध्ययन कक्ष,बैठक कोठा आदि उत्तम हुन्छ ।

२) अग्नि 

 अग्नि तातो हुन्छ जसको गुण हो पकाउने,न्यानो बनाउने उज्यालो दिने आदि हो। भान्सा,चुलो,विद्युतीय उपकरण आग्नेय कोणमा राख्नुपर्दछ ।तसर्थ अग्निको दिशा आग्नेय हो। यो दिशामा पूर्व फर्किएर पकाएको खानाले शरिरलाई लाभ गर्दछ ।

३) पृथ्वी 

  पृथ्वी छ र त हामी छौँ ।सनातन संस्कृतिमा यसलाई आमाको रुपमा हेरिन्छ ।हामी खन्छौ,जोत्छौ,भत्काउछौ सबैकुरा सहन सक्ने सामर्थ्य छ पृथ्वीमा ।यसको दिशा नैॠत्य हो ।यो दिशामा घरको मूल मानिस सुत्न,कार्यालय प्रमुखले आफ्नो कार्यकक्षको रुपमा प्रयोग गर्न,गह्रौ चिज राख्न,पार्किङ गर्न उत्तम हुन्छ ।यो दिशामा सुत्ने अथवा काम गर्ने मानिसमा धैर्यता,सहनशीलता र नेतृत्व शक्ति बलियो हुन्छ ।

४) वायु 

   वास्तुशास्त्रमा हावाको दिशा वायव्य हो ।मानवको सबैभन्दा संवेदनशील र अत्यावश्यक वस्तु हावा हो ।स्वस्थ हावाले हामीलाई स्वस्थ राख्छ ।यो दिशा खुला र सफा राख्नुपर्दछ ।शुद्ध हावाले घरलाई निरोगी राख्दछ ।जसरी हावा एक ठाउँमा स्थिर हुदैन, त्यसैगरी यो दिशामा राखिएका चिजहरु स्थिर हुन्नन् ।तसर्थ वायव्य कोणमा गोदाम,बिक्री गर्नुपर्ने सामग्री,घरबाट छिटो हटाउन पर्ने चीजहरु राख्नु उत्तम हुन्छ । 

५) आकाश

  आकाशमा रहेका पिण्डहरुबाट विभिन्न प्रकारका उर्जाहरु पृथ्वीमा आइरहेको हुन्छ ।ती उर्जाहरुको प्रभाव घरको मध्य भागमा धेरै पर्दछ र जसको कारण घर अझ सकारात्मक बन्दछ ।त्यसैले घरको बीच भागमा बैठककक्ष राख्नु उत्तम हुन्छ । समग्रमा वास्तुशास्त्र मानिसको एउटा जीवनशास्त्र हो।यो शास्त्रमा कसरी पूजा गर्ने,खाने,काम गर्ने लगायत मानव जीवन,घर,व्यवसाय,कलकारखाना,प्रकृति,समाज,शहर,ग्राम, राष्ट्र  आदिको विकास,उन्नति र सन्तुलनको चर्चा गरिएको छ ।वर्तमान समयमा अत्यन्त प्रदुषण जनघनत्व बढेकोले यसको नियमलाई अवलम्बन गर्दा सबैको कल्याण हुन्छ । 

ज्यो. जनार्दन न्यौपाने