मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलीदोष र तीनका प्रकार

मंगलीदोष र तीनका प्रकार

अपि टाइम्स

 मंगललाई उग्र र कडा प्रवृत्तिको ग्रह मानिन्छ । त्यसैले मंगलको दुष्प्रभावप्रति प्रायः जातक संत्रस्त रहन्छ । मंगलकै कारण प्रायः विभिन्नखालको अपराध, हत्या, हिंसा, घटना, दुर्घटना, रक्तविकार, रक्तश्राव, वैमनस्य, शत्रुभाव, अधीरता, आवेग, उद्विग्नता,व्यग्रता,अस्वाभाविक मृत्यु, कष्ट , वैधव्य, वैवाहिक सुखको अभाव र सम्बन्धविच्छेदका साथै अविवाहितै रहनसक्ने अवस्थासम्म आउन सक्छ,मंगलदोषले विवाहमा विलम्ब,विघटन,संघर्ष र अशान्ति दिनसक्छ । त्यसैगरी दाम्पत्यमा उपेक्षा कारक बक्री मंगलका कारण अन्य झै–झमेला र मुद्दा–मामिला पनि बढ्न सक्छ ।

भावजन्य मंगलीदोष

 मंगलीदोषको प्रभाव के कस्तो रहेको छ एकपटक बुझ्ने प्रयत्न गरौं ।

१. प्रथमभाव – 

लग्नस्थ मंगलको चतुर्थ, सप्तम र अष्टममा पर्ने दृष्टिले शारीरिक स्वास्थ्य, घर परिवार र जीवनसाथीको स्वास्थ्य तथा विचारमा असर गर्दछ । साथमा क्षीणचन्द्रमा र निर्बल शुक्र स्थित भएमा विषमतामा वृद्धिसहित जातकमा क्रोधस्वभाव देखापर्न सक्दछ ।

२. द्वितीयभाव –

 सामान्यतः १,४,७,८,१२ भावमा मंगलस्थित हुँदा मांगलिक दोष हुन्छ । तर केही पुस्तक र भारतीय ज्योतिषहरुले द्वितीय भावको मंगललाई पनि मांगलिक  मान्दछन् । द्वितीय भावमा बसेको मंगलले पंचम अष्टम र नवौं स्थानमा पूर्ण दृष्टि दिनेहुँदा आंशिक मांगलिक पनि भनिन्छ ।  यसले कुटुम्ब,सन्तान, आयु र भाग्यलाई बाधा पुर्याउँदछ ।

३. चतुर्थभाव – 

चतुर्थभावस्थ मंगललाई सुख शान्तिका दृष्टिले हानिकारक मानिन्छ । यहाँबाट सातौं, दशम, र एकादश भावमा पूर्ण दृष्टि दिने मंगलका कारण जीवन साथीसंगको तारतम्यमा कमि , कार्यमा बाधा र आम्दानीमा ह्रास आउने देखिन्छ । यद्यपि चतुर्थस्थ मंगलजन्यदोषलाई केहीले क्षीणरुपमा लिएको पनि पाइन्छ ।

४. सप्तमभाव – 

शत्रु र मृत्युका बीचमा रहेको सप्तम रागात्मक भावबाट जीवनसाथी ,विवाह,सम्पत्ति यात्रा लगायतका विषयमा अध्ययन गरिन्छ । सप्तमस्थ मंगलले कर्म लग्न तथा धनभावलाई पूर्ण दृष्टि दिन्छ । कर्मक्षेत्रमा बाधा अवरोध , कुटुम्बमा फुट, धनमा हानि , घटना दुर्घटना र चारित्रिक स्खलनमा अनपेक्षितता, जीवनसाथीमा युयुत्सुता , पतित्यक्ता, विधवा अथवा अविवाहित नै रहनसक्ने र कतिपय अवस्थामा विवाह भएमा विलम्ब हुने देखिन्छ ।

५. अष्टमभाव– 

सामान्यतया अष्टम भावबाट मृत्यु आयु हेरिन्छ । यो भावमा बसेको मंगलले लाभ स्थान धन स्थान र पराक्रम स्थानलाई पूर्ण दृष्टि दिन्छ । जन्मलग्न कुण्डलीको द्वितीयभावबाट पति वा पत्निको आयु हेरिने हुँदा अष्टम भावको मंगललाई विशेष कष्टकारक मानिन्छ । ग्रन्थकारहरुले अष्टम भावको मांगलिक पुरुषभन्दा महिलाका लागि अझ कष्टकारक मानेका छन् ।  स्त्रीको कुण्डलीमा यस भावलाई शौभाग्य भाव पनि भनिन्छ । त्यसैले यो भावलाई सर्वाधिक अशुभता र परमदारुणताको चरमसीमा मानिन्छ । यहाँ मंगल हुँदा वैवाहिक सुखमा हानि, शारीरिक सौन्दर्यमा कमी र वैधव्यको परमसंभावना रहने मानिन्छ ।

६. द्वादशभाव–

 द्वादशभावबाट क्रयशक्ति, खर्च, यात्रा, त्याग,भोग,निन्द्रा र शैयासुखजस्ता विभिन्न विषयको अध्ययन गरिन्छ । यहाँ बसेको मंगलले पराक्रम , शत्रु र दाम्पत्य घरमा दिने पूर्ण दृष्टिले गर्दा   दाम्पत्यसुखमा र जीवनसाथीको स्वास्थ्यमा हानि तथा दुव्र्यसन र बन्धुविरोधजस्ता दुर्गुणहरुले पनि फस्टाउने मौका पाउँछन् । पशुभक्षीपन, कामुकता,क्रोधयुक्तता एवं विद्रोहीभावको जन्मिनुका साथै धनको क्षति, अभाव तथा दुर्धटना विषघात, रक्तविकार, गुप्तरोग र अपचजस्ता व्याधिहरु पनि हुनुसक्छन् । 


मंगलदोष उपचारका प्रमुख आधारहरु

मंगलीदोष निवारणका विभिन्न उपायहरु छन् । र ती  उपायहरुमध्ये दान,व्रत,उपवास,रत्नधारण,स्नान,तन्त्र,मन्त्र, औषधी,यज्ञानुष्ठान आदि प्रमुख आधारहरु हुन् । जसलाई मंगलदोष देखिन्छ। त्यसले मंगललाई प्रसन्न तुल्याउने हेतु विभिन्न उपायहरु अपनाउनु पर्ने हुन्छ । जुन ग्रह अनिष्ट छ त्यसलाई खुशी बनाउन सकियो भने अवश्य पनि त्यसबाट हुने अरिष्टबाट बच्न सकिन्छ । लोक व्यवहारमा पनि यो नीति लागु भएको देखिन्छ ।

१. उपवास–

 मंगली दोष निवारणको लागि उपवास एउटा अचुक औषधी मानिएको छ । जुनसुकै महिनाको पनि शुक्लपक्षको पहिलो मंगलबारदेखि यो उपवास व्रत लिन सकिन्छ । साथै मंगलबार चतुर्थी तिथि पर्दा मंगलचौथीको योग बन्छ २१ वटा मंगलचौथी अथवा मंगलबारकोे व्रत लिएर गणेश, हनुमानको पूजा गर्नु विशेष लाभदायक हुन्छ ।

२. रत्नधारण–

 ज्योतिषशास्त्रमा मंगलजन्य पीडाबाट छुट्कारा पाउनका लागि रत्न धारण पनि एउटा महत्वपूर्ण सिद्ध भएको पाइएको छ । मंगलको लागि मुगा धारण उत्तम मानिएको छ । यद्यपि विशेषज्ञ अथवा ज्योतिषको सल्लाहअनुसार रत्न धारण गर्न सकिन्छ ।

३. स्नान –

 स्नानबाट पनि मंगलदोष निवारण गर्न सकिन्छ । त्यसको लागि स्नानको छुट्टै विधान बताइएको छ । त्यसअनुसार चिकित्सकको सल्लाह लिएर दोष निवारण गर्न सकिनेछ ।

४. तन्त्र मन्त्र – 

पूर्वीय दर्शनमा प्राचीनकालदेखि नै तन्त्रको प्रयोग हुँदै आएको पाइन्छ । तान्त्रिक प्रयोग नियम मुताबिक गर्न सके प्रभावशाली मानिन्छ । मन्त्रहरु वैदिक, तान्त्रिक र पौराणिक हुन्छन् सात्विक यज्ञानुष्ठानका लागि वैदिक मन्त्र प्रभावकारी हुन्छ । मन्त्रको नियमित जप,पाठ,ध्यान र उपासनाको लागि वैदिक मन्त्र अधिक उपयोगी मानिन्छ ।

५. बुटी धारण – 

मंगलबाट हुने पीडा निवारणार्थ बुटिको उपयोग पनि एउटा महत्वपूर्ण उपचार पद्धति मानिन्छ ।

मंगलीदोष निवारणको लागि अन्य विभिन्न विधिहरु पनि प्रचलनमा रहेको पाइन्छ जस्तै – ग्रहशान्ति, रुदाक्षधारण , यज्ञपाठ , अर्कविवाह, स्तोत्रपाठ, कुम्भ विवाह, प्रतिमा विवाह, सावित्रीव्रत, मंगलचौथीव्रत, हरिवंशपुराण, पितृतृप्ति आदिको माध्यमबाट पनि दोष निवारण गर्न सकिन्छ ।    मंगलीदोष मंगलले मात्र नभई अरु विभिन्न ग्रह र योगका कारणले पनि हुनसक्छ । लग्नमा , सप्तमभावमा पापी एवं क्रुर ग्रह जस्तै सूर्य, शनि,राहु,केतु रहँदा पनि माङ्गलिक जस्तै योग बन्दछ र यस्ता योगले पनि वैवाहिक जीवनमा बाधा कष्ट वियोग जस्ता घटनाहरु निम्त्याउँदछन् । तसर्थ विवाह गर्नु पूर्व कुण्डली विशेषज्ञबाट परामर्श लिएर अगाडी बढ्नु उत्तम हुँनेछ ।  पूर्वीय दर्शनको विशेषता भन्नु नै भावनात्मक विश्वास हो । तर ज्योतिषशास्त्र आफै एउटा विज्ञान पनि भएकाले यसलाई भावनात्मक भनिहाल्नु नमिल्ला । धेरै आधारहरु “विश्वासो फलदायक:” भन्ने उक्तिलाई चरितार्थ गर्ने खालका चिन्तन वा विचारहरु पाइन्छन् । माथि उल्लेख गरिएका अर्क विवाह,सावित्रीव्रत,आदि वैधव्यदोष निवारण गराउनका लागि र पारिवारिक सन्तुष्टि एवं आनन्दका लागि बताइएका शास्त्रीय मान्यताहरु हुन्।  व्रत एवं अनुष्ठानमा जति भावनात्मक रुपले चिन्तनको नजिक पुगिन्छ त्यति नै प्रभावकारिता हुन्छ यसमा सन्देह छैन ।