मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको मोन्टाना राज्यले टिकटक प्रतिबन्ध लगाउँदै, एप स्टोरबाटै हटाउने

अमेरिकाको मोन्टाना राज्यले टिकटक प्रतिबन्ध लगाउँदै, एप स्टोरबाटै हटाउने

अपि टाइम्स

एजेन्सी । अमेरिकाको मोन्टाना राज्य व्यक्तिगत उपकरणबाट टिकटकमाथि प्रतिबन्ध लगाउने पहिलो राज्य बनेको छ।

मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले बुधबार व्यक्तिगत उपकरणबाट टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका हुन्। यो कानुन आगामी जनवरीदेखि प्रभावकारी हुने बताइएको छ।

टिकटक लामो समयदेखि अमेरिकी अधिकारीहरुको निगरानीमा परिरहेको छ। विश्वभर नै टिकटकले चिनियाँ सरकारको लागि जासुसी तथा तथ्यांक संकलन गर्ने कार्य गरिरहेको आरोप लाग्दै आएको छ।

तर टिकटकले मोन्टाना राज्यले गरेको यो निर्णयलाई मोन्टानाका सर्वसाधारणको आधारभूत अधिकारमाथिको हनन भनेको छ।

कानुनमा हस्ताक्षर गरेपछि रिपब्लिकन गभर्नर जियानफोर्टले भने –’मोन्टानाका नागरिकलाई चिनियाँ कम्युनिष्ट पार्टीको निगरानीबाट सुरक्षित बनाउनु हाम्रो प्राथमिकता हो।’

टिकटकले भने विज्ञप्ती जारी गर्दै मोन्टानाका नागरिकले टिकटकको प्रयोगलाई निरन्तरता दिन सक्ने बताएको छ। ‘आफ्नो अनुभूति सेयर गर्न तथा आय आर्जनका लागि पनि हुँदै आएको यस माध्यमको प्रयोगलाई हामी प्रयोगकर्ताको अधिकारका रुपमा रक्षा गर्दै निरन्तर अघि बढ्नेछौं।’( टिकटकले भनेको छ।

टिकटकले मोन्टानाको उक्त कानुनबिरुद्ध अदालत जाने अपेक्षा गरिएको छ।

गत महिनामात्रै मोन्टानामा ब्यक्तिगत उपकरणहरुमा टिकटक प्रतिबन्ध लगाउने बिधेयक पारित भएको थियो। यसमा विपक्षमा ४३ जना र पक्षमा ५४ जनाले भोटिङ गरेका थिए।

कानुनले एप स्टोरहरुबाट टिकटक डाउनलोड गर्नुलाई गैरकानुनी मानेको छ। यसको अर्थ एप्पल वा गुगल जस्ता टेक जायन्टहरुले आफ्नो एपस्टोरमा टिकटक डाउनलोड गर्ने सुविधा दिएमा उनीहरुमाथि कारवाही हुनेछ। तर यसले हालसम्म प्रयोग गरिरहेका प्रयोगकर्ताहरुलाई भने चलाउनबाट रोक लगाउँदैन।

१० लाख जनसंख्या भएको मोन्टानाले गत डिसेम्बरमै सरकारी उपकरणहरुबाट टिकटकलाई प्रतिबन्ध लगाइसकेको छ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकका सिइओ सिउ झि चिउलाई गत मार्चमा कंग्रेसले कमिटी नै खडा गरी सुरक्षासम्बन्धी सवाल उठाएको थियो। उनीसँग अमेरिकी कंग्रेसले टिकटकबाट चिनियाँ सरकारको ‘एक्सेस’ भए नभएकोबारे कडा सवालजवाफ गरेका थिए।

टिकटकले यसमा चिनियाँ सरकारको नियन्त्रण वा एक्सेस रहेको बिषयलाई बारम्बार नकार्दै आएको छ। सिइओ सोउले बारम्बार टिकटकले कहिल्यै अमेरिकीहरुमाथि जासुसी नगरेको दावी गरेका छन्।