मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका उखु कृषकको मागमा कृषि मन्त्रीको गम्भिर चासो

कपिलवस्तुका उखु कृषकको मागमा कृषि मन्त्रीको गम्भिर चासो

भन्छन् 'सरकारले दिएको पैसा मिलले किसानलाई नदिएको हो भने कारबाही गछौँ'

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौ । केहि दिनदेखि बिभिन्न माग राखेर माइतीघरमा धर्ना बसेका कपिलवस्तुका उखु कृषकको मागमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चासो दिएको छ ।

भोक तिर्खा नभनी माइतीघरमा किसानहरु धर्नामा बसेको थाहा पाएपछि उनीहरुका मागमा मन्त्रालयले चासो दिएको हो । यसै विषयमा कृषकसंग मन्त्री डाक्टर बेदुराम भुसाल र सचिव डाक्टर गोविन्द प्रसाद शर्माले मन्त्रालयमै छलफल गरेका छन
करिब १ घण्टा भएको छलफलमा कृषकको तर्फबाट कपिलवस्तु किसान संघका अध्यक्ष अनुप चौधरीले कुराहरु राखेका थिए ।
उखु किसानलाई अनुदानस्वरुप दिन भनिएको करिब ३ करोड रुपैयाँ २०७१ सालदेखि उखु मिलबाट नपाएको भन्दै आफूहरु चरम पीडामा परेको चौधरीले मन्त्रीसमक्ष राखेका थिए ।

यही विषयलाई लिएर आफूहरु पटकपटक अर्थ, उद्योग, कृषि र वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पुग्दासमेत माग सुनुवाई नभएपछि फेरि माइतीघरमा धर्ना बस्न बाध्य भएको कुरा चौधरीले मन्त्रीलाई सुनाए ।

‘पाउनु पर्ने भुक्तानीको लागि उद्योग वाणिज्य मन्त्रालय जान्छौँ, अर्थ मन्त्रालय जानु भन्छ । अर्थमा गयो हामीले पैसा दिइसक्यौँ सम्बन्धित उद्योगबाट लिनू भनेर फर्काइदिन्छ । मिल संचालकसंग गयो सरकारले हामीलाई पैसा पठाएको छैन भनेर उल्टै धम्काएर पठाउँछ । हामी रातदिन पसिना चुहाउने किसानले के गर्ने ? कहाँ कहाँ जाने मन्त्री ज्यू पहल गरिदिनु पर्यो, हामी निकै समस्यामा पर्यौँ । हामी किसानलाई यसरी दुख दिन भएन, कि सरकारले हामीलाई तोकिएको पैसा दिनुपर्यो कि त्यो मिल र उद्योगीलाई कारबाही गर्नु पर्यो’, सबुतहरु देखाउँदै अध्यक्ष चौधरीले मन्त्रीसमक्ष कुरा राखे ।

ध्यानपूर्वक किसानका कुरा सुनेपछि मन्त्री भुसालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । उनले यो विषयमा मन्त्रालयमा के भइरहेको छ भनेर छलफलमा सहभागि सचिव गोविन्द शर्मासंग बुझेका थिए ।

सचिव शर्माले यस विषयमा आफूहरुलाई सुरुदेखि नै थाहा भएको भन्दै मन्त्रालयमा कुनै कैफियत नभएको सुनाए । कृषि मन्त्रालयले किसानका मागमा गर्नुपर्ने सबै काम गरिरहेको भन्दै प्रधानमन्त्री कार्यालयसम्मै यो विषय पुगेको उनले मन्त्रीलाई अवगत गराएका थिए ।
त्यसपछि मन्त्री भुसालले उद्योग वाणिज्य र अर्थ मन्त्रालयसंग बुझेर किसानका माग पुरा गर्न थप पहल गर्ने बताए । सरकारले उद्योगीलाई पैसा दिएर पनि उनीहरुले किसानलाई पैसा नदिएका रहेछन् भने सम्बन्धित मिललाई कारबाही गरिने मन्त्री भुसालले आश्वासन दिए ।
धर्ना बसेर केहि नहुने भन्दै मन्त्री भुसालले बिभिन्न मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराउन भने । मागप्रति आफ्नो गम्भिर चासो रहेको भन्दै धर्ना तोड्न किसानलाई मन्त्री भुसालको आग्रह छ ।

तत्कालिन समयमा कपिलवस्तुमा काँग्रेस नेता वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिल थियो । सो मिललाई नै सरकारले किसानको अनुदान रकम पठाएको थियो । तर उक्त मिल किसानकै आन्दोलन र दबाबका कारण भागेको छ । कनौडियाले सर्लाहीमा अर्को नाममा उखु मिल खोलेका छन् ।

उनले मन्त्रालयबाटै आफूलाई पैसा नआएको भन्दै विज्ञप्ती निकाल्ने र सार्वजनिक ठाउँमा भन्ने गरेका छन् । तर किसानले भने कनौडियाले दिउँसै रात पर्ने गरी दुनियासामु ढाँट्दै हिँडेको बताउँछन् ।

धर्नामा बसेका किसानले यसपटक कि पैसा कि लिएर घर जाने कि आफूहरुको लास सरकारले घर लगेर जाओस् भन्दै चेतावनी दिएका छन् । कपिलवस्तुमा बर्षेनी १५ लाख क्विन्टल उखु उत्पादन गर्दै आएको स्वयम् किसानहरु बताउँछन् ।
जिल्लामा करिब ४ हजार उखु कृषक रहेको कपिलवस्तु किसान संघका अध्यक्ष चौधरीको भनाई छ ।