कपिलवस्तु । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि नै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा काम सुरु भइसक्छ । सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको कार्यालयले जनाएको छ ।
बिहान ७ बजेदेखि ११ बजेसम्म पहिलो र ११ बजेदेखि ६ बजेसम्म दोस्रो सिफ्टका लागि कर्मचारी व्यवस्थापन गरी सेवा दिन थालिएको हो । सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको हो ।
झन्डै आठ दिन लाग्ने राहदानी नवीकरण गर्ने काम आधा घण्टामा सकिँदा निकै खुसी लागेको बुद्धभूमि नगरपालिकाको बडहराबाट आएका लक्ष्मण न्यौपानेले बताए । ‘टोकन लिएपछि सात दिनमा पालो आउँथ्यो,’ उनले भने, ‘त्यसपछि बल्ल काम हुन्थ्यो ।’ अहिले टोकन लिने समय खर्चनुपरेन । सिधैं फाँटमा गए काम गराएर फर्किन सकिने उनले सुनाए ।
सेवाग्राहीलाई छिटोछरितो र सहज रूपमा सेवा दिन भनेरै बिहानी सिफ्ट सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘कार्यालयकै सीमित स्रोत र जनशक्ति परिचालन गर्यौं,’ उनले भने, ‘टिमवर्कले सेवाग्राही खुसी भएका छन् ।’ कर्मचारीलाई थप इन्टेन्सिभ दिन नसके पनि निकै उत्साह र उमंगका साथ कर्मचारीले काम गरिहेकाले सेवाग्राही औधि खुसी भएको उनले बताए ।
बिहानी सेवासँगै टोकन प्रणाली हटेको छ । अब एकै दिनमा राहदानीका लागि आवेदन दिएर फोटो खिचाउन र राजस्व जम्मा गर्न सकिने भएको छ । आवेदनको विवरण राहदानी विभागको सर्भरमा पुगेर छपाइ भई आउने गर्छ । बिहानी सेवा सुरु भएसँगै छिटोछरितो रूपमा काम भइरहेको वाणगंगा नगरपालिकाबाट राहदानीका लागि आवेदन दिन आएकी अञ्जली बस्नेतले बताइन् । ‘प्रचण्ड गर्मीमा लाम लाग्दा उकुसमुकुस भएर निकै तनाव हुन्थ्यो,’ उनले भनिन्, ‘बिहान ९ नबज्दै आवेदन फर्म भरेर घर फर्कन पाउँदा खुसीको सीमा छैन ।’ यस किसिमको सेवा घरदैलोमै पाउन थालेपछि बल्ल सरकार भएको अनुभूति भइरहेको उनले सुनाइन् ।
यसअघि कार्यालय बाहिरबाट व्यवसायीले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था रहेकामा प्रजिअ आचार्यले कार्यालयभित्रैबाट निःशुल्क भर्ने व्यवस्था मिलाएका थिए । बाहिरबाट व्यवसायीले अनलाइन आवेदन भरिदिंदा ३ सयदेखि ४ हजार रुपैयाँसम्म लिने र अनावश्यक रूपमा अनलाइन फर्म होल्ड गरेर राख्दा दुरुपयोग र आर्थिक चलखेल बढिरहेको आमगुनासो आइरहेको थियो । सेवाग्राहीलाई परेको अनावश्यक आर्थिक भार र लामो समय कुर्नु पर्ने झन्झटबाट सहजता दिन जिल्ला प्रशासन कार्यालयले प्रयास थालेको सहायक प्रजिअ अनिल पौडेलले बताए ।
अब सरकारी राजस्वबाहेक थप शुल्क नतिरेर सजिलै राहदानी पाइने भएको छ । राजस्व तिर्न प्रशासन कार्यालय हातामै राष्ट्रिय वाणिज्य बैंकको काउन्टर पनि सञ्चालन हुने प्रक्रियामा रहेको उनले बताए । कर्मचारीलाई कार्यालय समयभन्दा थप काम नलगाउने गरी थप कर्मचारी पनि परिचालन गरिएको छ ।
गत आइतबारबाट यो सेवा सुरु गरिएको हो । बिहानी सेवा सञ्चालनपछि सेवाग्राहीले दुईदेखि तीन सातामै राहदानी पाउने बताइएको छ । सहज सेवा सरल रूपमा पाएपछि सेवाग्राही खुसी बनेका छन् । राहदानीको चाप कम भएपछि पुनः कार्यालय समयमै सेवा सञ्चालन गरिने पनि उनले बताए ।
प्रतिक्रिया