मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटको ६ दिन अघि सेयर बजारमा उल्लास, ८५ दिनपछि २ अर्ब माथिको कारोबार

बजेटको ६ दिन अघि सेयर बजारमा उल्लास, ८५ दिनपछि २ अर्ब माथिको कारोबार

अपि टाइम्स

काठमाडौं। बजेटको मुखैमा सेयर बजारमा ५० अंक माथिको वृद्धि देखिएको छ। पछिल्लो समय बजारले दिनँहु फड्को मारिरहेको छ। मौद्रिक समीक्षाप्रति निराश प्रतिक्रिया जनाएको सेयर बजार बजेट अघि भने फराकिलो दरमा बढ्दैछ।

मंगलबार मात्रै सूचकले ५१.३१ अंकको फड्को मार्‍यो। नयाँ वर्षयता यस्तो फराकिलो दरमा बजार बढेको थिएन। वृद्धि गत साताको मंगलबारदेखि निरन्तर जारी छ।

एक साताको अन्तरालमै सूचक १२९.१४ अंक उक्लिसक्यो। समीक्षापछि १८०७ सम्म खसेको बजार हाल १९ को विन्दुमा कायम छ। सरकारको नीति तथा कार्यक्रम पछि बजारमा अझै आकर्षण थपिएको छ।

यसै दौरान कर्जाको ब्याजदर घट्दै जाने बैंकरहरुको घोषणाले बजारको वृद्धि झनै तीव्र भएको हो। नभए नयाँ वर्षदेखि बजार बिक्रेताको नियन्त्रणमा नै थियो। यसबाहेक अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक समीक्षा सरकारको अपेक्षाअनुसार नआए पनि बजेटमार्फत बजारलाई गतिशील बनाउने प्रयास हुने बताएका थिए।

मौद्रिक समीक्षाले खासै उत्साहित नभएका लगानीकर्तालाई जेठ लागेपछि बैंकहरुले ब्याज घटेको सूचना दिन थालेपछि उत्साहित बनाएको छ। जेठमा बैंकहरुले निक्षेपको दर नघटाए पनि कर्जाको ब्याजदर भने समायोजन गर्न थालिसकेका छन्। राष्ट्र बैंकले महिनैपिच्छे कर्जा ब्याजदर घटाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको हो।

अर्कोपट्टि असारमा स्प्रेड दर ४ प्रतिशतमा झारिसक्नुपर्छ। यसले ब्याजदर घटाउन थप प्रोसाहन गर्ने बैंकरहरुको बुझाइ छ। राष्ट्र बैंकको बैंकदर घटाउने निर्यणले पनि कर्जाको ब्याजदर घट्नेमा बैंकर स्वयं पनि ढुक्क छन्।

सोमबार पनि बैंकरले आधार दर नै घटेर वैशाखमा १०।२७ प्रतिशतमा पुगेको बताए। जसले गर्दा वैशाख पनि कर्जाको भारित औसत दर थप घट्ने उनीहरुको अनुमान छ। माघमा १३।०३ प्रतिशत पुगेको कर्जाको ब्याजदर चैतसम्म १२।८४ प्रतिशतमा ओर्लिइसकेको छ।

लगानीयोग्य रकम पनि सुविधाजनक स्थितिमा रहेको बैंकरहरु बताउँछन्। कर्जा निक्षेप अनुपात ८४ प्रतिशत हाराहारीमा ओर्लिइसकेको छ। आगामी महिना असारे खर्चले पनि तीव्रता पाउने हुँदा तरलता र निक्षेपमा सुधार हुने उनीहरुको अनुमान छ।

बैंकरले कर्जा लगानी पनि बढाउनुपर्ने अवस्था निर्माण भएको छ। लक्षित कर्जाको विस्तार भन्दा निक्षेप संकलनको दर बढेकाले बैंकरहरुसँग भरपुर लगानीयोग्य रकम छ। तरलता बढ्ने तर लगानी नहुने अवस्थामा बैंकहरुको कोषको लागत थप बढेर जान्छ। त्यसो हुँदा बैंकहरुले केही ऋणमा स्किम नै ल्याउन थालेका छन्।

बाह्य क्षेत्रको सुधारले पनि लगानीकर्ताको मनोबल उच्च छ। रेमिटेन्स ऐतिहासिक उच्च भित्रिएको छ। शोधानान्तर बचत १ खर्ब ८० अर्ब रुपैयाँ नाघेको छ। विदेशी विनिमय सञ्चिति पनि लक्षितभन्दा उच्च छ। ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्ने सुविधाजनक स्थितिमा छ।

मंगलबार कारोबार पनि झन्डै तीन महिनायताकै उच्च छ। पछिल्लो ८५ दिन सम्म सेयर बजारको किनबेच २ अर्ब नाघ्न सकेको थिएन। जुन आज २ अर्ब २० करोड रुपैयाँ माथि छ। समग्र बजारमा नै माग बढ्दा चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट नै लागेको पनि छ।