काठमाडौं । मेनपावर कम्पनीहरुले ल्याउने वैदेशिक रोजगारीका मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण अब नेपालमै पनि प्रमाणित गर्न सकिने व्यवस्था हुने भएको छ । अहिले सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने यस्तो प्रमाणीकरण अब देशभित्रै पनि गर्न सकिने व्यवस्था गर्न लागेको हो ।
वैदेशिक रोजगार ऐनलाई संशोधन गर्न मन्त्रालयले तयार गरेको प्रारम्भिक मस्यौदामा मागपत्रको प्रमाणीकरण विदेशस्थित नेपाली नियोगले मात्रै गर्ने प्रावधानलाई संशोधन गर्दै वैदेशिक रोजगार विभागका उच्च अधिकारी सम्मेलित समितिमार्फत पनि गर्न सकिने गरी प्रस्ताव गरिएको छ । यसअनुसार मागपत्र प्रमाणीकरणमा अब दुवै विकल्पहरु खुला रहनेछन् ।
अहिले दूतावासमा आधिकारिक जाँचबुझपछि मागपत्र प्रमाणित गरेर नेपालमा पठाउने र त्यसकै आधारमा वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएर विज्ञापन गर्न पाइने अवस्था छ ।
‘१० दिनभित्र मस्यौदा फाइनल भएर रायका लागि परराष्ट्र मन्त्रालयमा पठाउँछौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘वैदेशिक रोजगार ऐनमा धेरै कुरा संशोधन हुने गरी मस्यौदा बनेको छ, यसमा मागपत्र प्रमाणीकरणलाई नेपाल र विदेशस्थित नेपाली नियोग दुवैतर्फबाट गर्न सकिने व्यवस्था प्रस्ताव गर्दछौं ।’
प्रतिक्रिया