काठमाडौँ । डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ ले २०७९ सालको ‘उत्तम शान्ति पुरस्कार’ पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति ‘शून्यको मूल्य’लाई पुरस्कार दिने घोषणा गरेको हो ।
साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।
२०७९ सालमा प्रकाशित ‘शून्यको मूल्य’ लाई डा. केसीले ‘सिर्जनात्मक गैरआख्यान’ पुस्तक भन्ने गरेका छन् । उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणाले नै पुस्तको लेखेको उनको भनाइ छ । केही रूपान्तरणकारी प्राध्यापकहरूसँगको भेटले आफूलाई पुस्तक लेख्न प्रेरित गरेको समेत उनको भनाइ छ । अभावका बाबजुद बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा पुस्तकमा समेटिएको छ ।
प्रतिक्रिया