काठमाडौं। बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न देशव्यापी अभियान छेडेका व्यवसायी दुर्गा प्रसाईंले मेडिकल इक्विपमेन्टको पैसा नतिरेको फेला परेको छ।
आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न उनले आनाकानी गरेपछि आपूर्तिकर्ताले अदालतमा मुद्दा दायर गरेको छ।
प्रसाईंका दुई कम्पनी बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताल लगायतले लिएको उधारो भुक्तानी नभएपछि विवाद अदालत पुगेको हो। १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ साँवा र कानुन बमोजिमको ब्याजसमेत माग गरेर सात वटा मुद्दा वैशाख २४ गते झापा जिल्ला अदालतमा दायर भएका छन्। दुई मुद्दा उनको पारिवारिक सदस्यसँग सम्बन्धित छन्।
बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेपछि संकटमा परेका प्रसाईंलाई अन्य क्षेत्रबाट समेत मुद्दाको दबाब सुरु भएको हो। कम्तीमा तीनदेखि सात वर्षसम्म उधारो रकम नपाएपछि आपूर्तिकर्ताले अदालतको ढोका ढक्ढक्याएका हुन्।
राजनीतिज्ञहरूको छत्रछायामा परिरहेका प्रसाईं भने पछिल्लो समय सामाजिक अभियन्ताका रूपमा देश दौडाहामा छन्।
प्रसाईंसँगै बीएण्डसीका अन्य सञ्चालक रामबाबु गिरी, इन्दिरा गिरी, डा। रइस पोखरेल र अनुजजंग रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ।
के कति दाबीको मुद्दा ?
जिल्ला अदालत झापा स्रोतका अनुसार हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्स लगायतले मुद्दा दायर गरेका छन्। सम्पूर्ण मुद्दा औषधि, मेडिकल सामानहरू, सौन्दर्य प्रवर्द्धक सामान र सरसफाइका सामानहरूको भुक्तानीसँग सम्बन्धित छन्।
अस्पताल र प्रसाईंसमेतलाई विपक्षी बनाएर हस्पिटेक इन्टरप्राइजेजले ३ करोड १८ लाख ४७ हजार ९१६ रुपैयाँ असुल उपरको मागसहित मुद्दा दायर गरेको छ।
यस्तै, हस्पिटेकले नै निरोज मेडिको ट्रेडर्स र उमा प्रसाईं विपक्षी बनाएर २ करोड १५ लाख ६७ हजार ६७१ रुपैयाँ साँवा र ब्याजसमेत भराउन माग गरेर मुद्दा दायर गरेको छ।
बीएण्डसी र प्रसाईंविरुद्ध सबैभन्दा ठूलो माग दाबीको मुद्दा लाइफलाइन ट्रेड इन्टरनेशनलको छ। जसमा रामबाबु गिरी, इन्दिरा गिरी, डा। रइस पोखरेल र अनुजजंग रायमाझी पनि विपक्षी छन्। ५ करोड २३ लाख १९ हजार २ सय ५ रुपैयाँ साँवा भुक्तानी बाँकी रहेको दाबी निवेदकको छ। तीन वर्षदेखि रकम भुक्तानी नभएकाले ब्याज समेत भराउन मुद्दामा माग गरिएको छ।
यस्तै, लाइफलाइन ट्रेड इन्टरनेशनलले नै निरोज मेडिको ट्रेडर्स र उमा प्रसाईं विपक्षी बनाएर अर्को मुद्दा दायर गरेको छ। कम्पनीले अदालतमा गरेको दाबीअनुसार आठ वर्षदेखि १ करोड ४१ लाख ९८ हजार ९ सय ३३ रुपैयाँ बाँकी असुल भएको छैन।
लाइफलाइनको तेस्रो मुद्दा पूर्वाञ्चल क्यान्सर अस्पताल र सञ्चालक दुर्गा प्रसाईंविरुद्ध छ। तीन वर्षदेखि १५ लाख १७ हजार १६ रुपैयाँ उठाउन बाँकी रहेको अदालतमा पेस गरेको मुद्दामा उल्लेख छ। बैंक तथा वित्तीय संस्थामा तरलता अभाव रहेकाले पैसा तिर्न नसकेको जवाफ सप्लायर्सहरुलाई प्रसाईंले दिने गरेको पनि मुद्दामा उल्लेख छ।
यस्तै, एसएस इन्टरप्राइजेज फर्मले निरोज मेडिको ट्रेडर्स र उमा प्रसाईंलाई अर्को मुद्दा पनि दायर गरेको छ। १ करोड ८ लाख २१ हजार ८ सय २२ रुपैयाँ तीन वर्षदेखि असुल गर्न नसकेको भन्दै मुद्दा दायर गरिएको हो।
बीएण्डसीलाई ट्रिनिटी फर्मास्युटिकल्स फर्मले पनि मुद्दा दायर गरेको छ। अस्पतालसहित सञ्चालकहरू दुर्गा प्रसाईं, रामबाबु गिरी, इन्दिरा गिरी, डा। रइस पोखरेल र अनुजजंग रायमाझीलाई ट्रिनिटीले मुद्दामा विपक्षी बनाएको छ। २ करोड ८३ लाख ४३ हजार १ सय ९७ रुपैयाँ साँवा असुल बाँकी रहेको मुद्दामा उल्लेख छ। सबै मुद्दामा जस्तै ट्रिनिटीले पनि ब्याज भराइ पाउने दाबी गरेको छ।
सम्पत्ति रोक्काको माग
मुद्दामा पक्षले पाँच प्रतिवादीको सम्पत्ति रोक्काको माग पनि गरेको छ। विभिन्न स्थानमा रहेको अचल सम्पत्ति रोक्का गरिदिन विवरण पनि मुद्दामा उल्लेख गरिएको छ। पाँच प्रतिवादीको तोकिएको जग्गा कारोबार रोक्काको माग पनि मुद्दामा गरिएको छ।
प्रसाईंको झापाको सुरुंगा, धाइजन, अनारमनी, गरामनी लगायत क्षेत्रका ६ कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ।
यस्तै, अनुजजंग रायमाझीको नाममा रहेको काठमाडौं डिल्लीबजारको एक कित्ता जग्गा रोक्काको आदेश गर्न माग गरिएको छ। डा। रइसको काभ्रे धुलिखेलको जग्गा रोक्काको माग गरिएको छ। ६ आनाको एक कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ।
इन्दिरा गिरीको नाममा रहेको झापा, भक्तपुरको मध्यपुर थिमिलगायत स्थानका ९ कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ। सम्बन्धित मालपोतहरूलाई जग्गा रोक्काको आदेश गर्न पनि मुद्दामा दाबी लिइएको छ।
बिजमाण्डुबाट ।
प्रतिक्रिया