काठमाडौँ । महिनावारीको समय अधिकांश महिलाका लागि पीडादायी हुन्छ । पेट दुख्ने र रगत धेरै बग्ने समस्या त छँदैछ, अनियमित महिनावारी, मुड स्वीङजस्ता पनि महिलाले भोगिरहेका हुन्छन् ।
महिनावारीका बेला हुने पीडाबाट छुटकारा पाउन प्रायः महिलाले दुखाइ कम गर्ने औषधि खाने गर्छन् । नियमित औषधि सेवनले शरीरमा विभिन्न समस्या उत्पन्न गर्न सक्छ । यस्तोमा योगका केही अभ्यास गर्ने हो भने महिनावारीको समयमा हुने समस्याबाट छुटकारा मिल्न सक्छ भन्छन् योगाचार्य कमल पौड्याल।
१. सुखासन
शरीरलाई जसरी बस्दा सुविधा हुन्छ, शान्तिमा बाधा आउँदैन, त्यही आसनलाई सुखासन भनिन्छ । बायाँ खुट्टालाई मोडेर पञ्जालाई दायाँ जाँघको मुनि राख्ने, दायाँ खुट्टालाई मोडेर पञ्जालाई बायाँ जाँघको मुनि राख्ने, हातलाई घुँडामाथि राख्ने । यस अवस्थामा लामो सास लिने र छोड्ने गर्नुपर्छ ।
फाइदा
तनाव पीडा हटाइ शारीरिक तथा मानसिक सन्तुलन कायम गर्न सहयोग पुग्छ । जो व्यक्ति ध्यानका कठिन आसनमा बस्न सक्दैनन्, उनीहरुका लागि सरल तथा आरामदायक आसन हो ।
२. बालासन
यस आसनका लागि पहिले घुँडा टेकेर म्याटमा वज्रासनमा बस्नुहोस् कम्मरलाई सिधा राख्नुहोस् ।
अब गहिरो सास लिएर शरीरको माथिल्लो भागलाई अगाडितिर झुकाउनुहोस् । दुवै हात अगाडि राख्नुहोस् र टाउकोको अगाडि जमिन छुने प्रयास गर्नुहोस् ।
सकेसम्म लामो समयसम्म यस अवस्थामा रहन प्रयास गर्नुहोस् । त्यसपछि सास छोड्दा शरीरको माथिल्लो भाग उठाउनुहोस् र वज्रासन आसनमा फर्कनुहोस् । यो आसन आफैंमा आरामदायी आसन हो ।
फाइदा
यसको अभ्यासले पेट तथा कम्मरमा भएका समस्या ठीक हुन्छन् । शरीरको कठोरता पनि हट्छ । साथै कब्जियत र एसिडिटीको समस्या पनि हट्छ ।
३. बद्धकोणासन
महिनावारीको समयमा शरीरको तल्लो आधा भाग भारी महसुस हुन सक्छ । यस्तो अवस्थामा बद्धकोणासन अति उपयोगी मानिन्छ । यस आसनमा कम्तीमा दुई मिनेटसम्म बस्न सकिन्छ ।
विधि
पलेंटी मारेर लगाएर सुखासनमा बस्ने, खुट्टाका पञ्जालाई एकापसमा जोड्ने, घुँडा र जाँघलाई पनि जमिनमा जोडेर राख्ने र गहिरो सास लिंदै केहीबेर अभ्यासलाई निरन्तर गरिराखौं ।
४. मार्जरी आसन
दुवै घुँडा र दुवै हातले टेकेर जमिनमा बिरालो बसेको जसरी बस्ने, गहिरो सास लिने र गर्दनलाई माथि उठाउँदै कम्मरलाई तलतिर राख्ने गर्नुपर्छ । सास छोड्दै गर्दन तल लैजाने र पिठ्युँलाई माथि राख्ने यो अभ्यासलाई कम्तीमा १० पटक गर्न सकिन्छ ।
अनुलोम विलोम प्राणायाम
अनुलोम विलोम प्राणायामले मन एकाग्र हुने र शरीर सन्तुलित बनाउनमा फाइदा गर्छ । ध्यानात्मक आसनमा बस्ने, बायाँ नाकबाट गहिरो सास तान्दै केहीबेर सास रोकेर आज्ञाचक्रमा प्रकाशको ध्यान गर्ने, जतिबेर सजिलैसँग सास रोक्न सकिन्छ रोक्ने र त्यसपछि दायाँ नाकबाट बिस्तारै सासलाई बाहिर निकाल्नुपर्छ ।
प्राण मुद्रा
कान्छी, अनामिका र बुढी औंलाको अगाडिको भागको टुप्पो मिलाउनुपर्छ ।
फाइदा
शरीरमा ऊर्जा बढ्ने, रोगप्रतिरोधात्मक क्षमता बढाउने, भिटामिनको पूर्ति, उपवासको समयमा भोकप्यासको कमी एवं थकान भगाउँछ ।
५. अपान वायुमुद्रा
चोर औंलालाई बुढी औंलाको फेदमा राखेर हलका थिचेर राख्ने तथा अनामिका, माझी औंला र बुढी औंलाको अगाडिको भाग मिलाउनुपर्छ ।
फाइदा
यसले हृदयरोग, बाथरोग भगाउँछ । शरीरमा आरोग्यताको विकास, यो मुद्रा गरेमा सञ्चो हुन्छ। पेटको ग्याँस, टाउको दुखाइ, पेट दुखाइ, कम्मर दुखाइ, नसासम्बन्धी समस्या, दम, एसिडिटीमा पनि फाइदाजनक छ ।
६. शवासन
मृत व्यक्तिको लासजस्तो हुन्छ त्यसै प्रकार निर्जीव भएर शरीरलाई हलका छाडिदिनुलाई शवासन भनिन्छ । यो अवस्थामा शरीरमा दुखाइ बढी हुने हुँदा थकान पनि उस्तै महसुस भइराखेको हुन्छ । शवासनको अभ्यासले शरीर शान्त र ऊर्जा बढाउने काम गर्छ ।
यस अवस्थामा बिस्तारै शरीरको प्रत्येक भागमा बढी ध्यान दिनुहोस् र श्वासप्रश्वासको गति सुस्त राख्नुपर्छ। जब शरीर १०–१२ मिनेटमा पूर्ण रूपमा आराम हुन्छ, तपाईं नयाँ ताजापन महसुस गर्न सक्नुहुन्छ ।
सावधानी
महिनावारीको समयमा शीर्षासन, कपालभाँतीजस्ता गाह्रो खालका आसन गर्नुहुँदैन । यस समय शरीर अन्य बेलाभन्दा कमजोर हुने हुँदा आधिकारिक योग प्रशिक्षकसँग सल्लाह गरेर मात्र अभ्यास गर्नुपर्छ ।
(योगाचार्य कमल पौड्याल अटि टाइम्सका स्तम्भकार हुन् ।)
प्रतिक्रिया