मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत रहँदा प्रधानमन्त्री होटल मौर्यमामा बस्ने, हैदरावाद हाउसमा मोदीसँग भेट

भारत रहँदा प्रधानमन्त्री होटल मौर्यमामा बस्ने, हैदरावाद हाउसमा मोदीसँग भेट

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा विहान ११ बजे दुई पक्षीय भेटवार्ता गर्दैछन्।

नेपालमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक विदेश भ्रमणका लागि दाहाल बुधबार दिउँसो नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली उत्रिँदै छन्।

दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार हैदरावाद हाउसमा हुने औपचारिक भेटवार्ता बिहान ११ बजेका लागि तय भएको छ। त्यसअघि प्रधानमन्त्री दाहाल महात्मा गान्धीको समाधी स्थलमा श्रद्धान्जली अर्पण गर्न जाने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहान ११ बजे भेट तय भएको जनाउँदै दुई पक्षीय र बुहपक्षीय वार्ताहरू हुने बताए। हैदरावाद हाउसको दुई पक्षीय वार्तापछि त्यहीँ संयुक्त पत्रकार सम्मेलनमा दाहाल र मोदीले सम्बोधन गर्ने तय भएको छ।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई बुधबार भारत सरकारका एक जना राज्यमन्त्री लगायत विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्ने तयारी छ। विमानस्थलबाट प्रधानमन्त्री दाहाल भ्रमण दलका लागि बस्न तय गरिएको होटल आइटीसी मौर्य आउने छन्, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस। जयशंकरले भेटवार्ता गर्ने तय भएको छ।

प्रधानमन्त्री मोदीको खासगरी छिमेक नीतिमा मन्त्रीकै हैसियतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल निर्णायक मानिन्छन्। बुधबार नै भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि होटलमा दाहालसँग भेट्ने छन्।

बुधबार साँझ दिल्लीस्थित नेपाली राजदूतवासले प्रधानमन्त्री दाहालको सम्मानमा ‘रिसेप्सन’ आयोजना गरेको छ। जहाँ दाहालले भारतमा रहेका प्रवासी नेपालीहरूलाई सम्बोधन गर्ने छन्।

भ्रमणको दोस्रो दिन बिहीबार समकक्षी मोदीसँग भेटवार्तापछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ।

बिहीबार साँझ प्रधानमन्त्री दाहालले होटल मौर्यमै नेपाल र भारतका उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्नेछन्।

भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको दर्शन र इन्दोर सहरको भ्रमणमा जानेछन्। दिल्लीबाट करिब डेढ घण्टाको उडान दुरीमा रहेको इन्दोरमै त्यो रात बिताउने तयारी छ। भारतको सबैभन्दा सफा सहरको रुपमा चिनिने इन्दोरमा प्रधानमन्त्री दाहाललाई फोहोरमैला व्यवस्थापनबारे जानकारी दिने तयारी छ ।

शनिबार इन्दोरबाट दिल्ली आएपछि विमानस्थलबाटै दाहाल काठमाडौँ फर्केने तय भएको छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण दल पाँच जना मन्त्री, दुई जना सल्लाहकार र दुई जना स्वकीय सचिव, चार जना सुरक्षाकर्मी र चार जना सरकारी सञ्चारकर्मीसहित ४९ सदस्यीय रहेको छ।

प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा उद्योगी व्यवसायी र नीजि क्षेत्रका सञ्चारकर्मी आफ्नै खर्च र व्यवस्थापनमा दिल्ली आउने क्रम जारी छ।