मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रजाचार्यले खोले कपिलवस्तुका स्थानीय तहको पोल, पत्रकारलाई पनि छोडेनन्

ब्रजाचार्यले खोले कपिलवस्तुका स्थानीय तहको पोल, पत्रकारलाई पनि छोडेनन्

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
वाणगंगा । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जिल्लाका स्थानीय तह र पत्रकारमा रहेको वेथितिको पोल खोलेका छन् ।

रिपार्ट्स क्लल लुम्बिनी प्रदेशले वाणगंगामा आयोजना गरेको शुसासनको लागि साक्षरता विषयक कार्यक्रममा अध्यक्ष बज्राचार्यले १० वटै स्थानीय तहमा शुसासन कायम हुन नसकेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा ढिला आइपुगेका अध्यक्ष बज्राचार्यले करिब १५ मिनेट हाँस्दै भाषण गरे । यो बिचमा उनले स्वयम् पत्रकारलाई पनि छोडेनन् ।

सुरुमा उनले मान्छेको सोचाइ नै राम्रो नभएको बताए । उनको भनाईको आसय छ कि ‘अचेल मान्छेको मनमा नराम्रो कुरा मात्रै आउँछ । अरुले गरेको नराम्रो कुराको मात्रै टिप्पणी गरेर मान्छे बस्छ । आजभोलि मान्छे गन्हाउने मोजाजस्ता भए । आफूले लगाएको छ, त्यसले अरुलाई पनि नराम्रो गन्ध दिएको छ । लगाउनेलाई नै थाहा छैन मेरो मोजा कति गन्हाइरहेको छ भनेर ।’

राज्यले चौथो अंगको दर्जा दिएका पत्रकार पनि यहि आजभोलि स्थितिमा रहेको उनले बताए । ‘पत्रकारले पनि राम्रो कुरा लेख्न सकिरहेका छैनन् । खाली नराम्रो कुरा मात्रै लेख्छन् । अब पत्रकार पनि सुध्रनु पर्दछ । पत्रकारमा पनि सुशासन आवश्यक छ’, उनले भने ।

त्यसपछि भने उनी स्थानीय तहमाथि खनिन सुरु गरे । उनले स्थानीय तहमा भ्रष्टाचार बढेको, पारदर्शिता कायम नभएको लगायतका आरोप लगाए । जनप्रतिनिधि र कर्मचारी बिभिन्न विवादमा फसेर सेवाप्रवाह प्रभावित भइरहेको समेत उनले बताए ।

उनले केहि पालिकाको नामै किटेर पोल खोल्न सुरु गरे । जिल्लाका १० स्थानीय तहमध्ये राम्रो मानिएको वाणगंगामा शुसासन नभएको भन्दै उनले भने ‘खोलाको कारण यो नगरपालिका बदनाम छ । अख्तियारमा उजुरी र मुद्धा परिरहन्छ । त्यहि कारण यहाँका हाकिम ३ महिना पनि टिक्न सक्दैनन् । अगाडि गमक्क परेर बसेका प्रमुख प्रशासकीय अधिकृतलाई देखाउँदै हाँसिहाँसि उनले भने ‘मैले सुनेको छु । तपाईँ अर्को ठाउँ खोज्दै हिँड्नु भएको छ रे । उहाँ पनि अब कितदिन हो यहाँ थाहा छैन । वाणगंगामा अरु पनि समस्या छन् भन्ने सुनेको छु ।’

त्यसपछि उनले बुद्धभूमि, महाराजगंज, र शिवराज नगरपालिकाको कुरा झिके । बुद्धभूमिमा पनि एक बर्षमा पटकपटक हाकिम चेन्ज हुने समस्या छ । जनप्रतिनिधि र कर्मचारी मिल्दैनन् । शिवराजतिर पनि उस्तै छ । बिभिन्न समस्या आइरहेका छन् । जनता कामबाट सन्तुष्ट छैनन् । यशोधरा, शुद्धोधन र मायादेवी गाउपालिकाको कुरा नगरौँ । यशोधरामा त अति नै भइसक्यो । लफडा र अख्तियारमा मुद्धा परेपछि लेखाअधिकृत विदामा छन् । सेवाग्राहि पीडामा छन् । त्यहाँको झगडा र लडाई मेरो मोबाइलमै छ । यस्तो अवस्था छ , उनले भने ।

अध्यक्ष बज्राचार्यले कृष्णनगर नगरपालिकामा हाकिम र कर्मचारीको केहि नलाग्ने बताए । अन्य पालिकामा कर्मचारीले पालिका चाएको सुनिन्छ । कृष्णनगरमा मेयर सापको अगाडी कसैको केहि चल्दैन । त्यहाँका कर्मचारी नीरिहजस्तै छन्’, उनले भने । कपिलवस्तु नगरपालिका र विजयनगर नगरपालिकाको भने उनले नाम लिएनन् ।

उनले अब शुसासन ल्याउन सबै मिलेर लाग्नुपर्ने बताए । जिल्लामा एक पत्रकारले अर्को पत्रकारको खेदो खन्ने, राम्रो कामको प्रसंसा गर्न नसक्ने जस्ता समस्या रहेको स्विकार गर्दै अब पत्रकारले पनि सहि कुरा बाहिर ल्याउन आवशयक रहेको बताए । पत्रकारको नाममा गैर पत्रकार पनि रहेका कारण अहिले महासंघले पत्रकार शुद्धिकरणको अभियान पनि चलाएको उनको भनाई छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला प्रहरी प्रमुख प्रेम बस्नेत, जिल्लाका बिभिन्न सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिको सहभागिता थियो । कार्यक्रम क्लवका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।