मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पति डाक्टर, पत्नी ब्युटिसियनः आपसी विश्वासले दिलायो सफलता !

पति डाक्टर, पत्नी ब्युटिसियनः आपसी विश्वासले दिलायो सफलता !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । ९८५११९९०८० नम्बरमा विहान, साँझ, राति जतिखेर फोन लगाउँदा पनि उनले रिसिभ गर्छन् । चिकित्सक पेशा अंगालेका उनी विरामीलाई प्रशस्त समय दिन्छन् । विरामीसंग नझर्कने, राम्ररी सबै कुरा सोध्ने, आफूसंग सम्भव भएको उपचार गर्ने, असम्भव विरामीलाई राम्रोसंग परामर्श गरेर उचित ठाउँमा रिफर गर्ने उनको मुख्य विशेषता हो । अग्लो र मोटो कद भएका उनी जोसुकैलाई भेट्दा मुसुक्क मुस्कुराउने गर्दछन् ।

उनी अर्थात् डाक्टर दिपेन्द्र चन्द । कर्णाली प्रदेशको रुकुमपश्चिमको चौरजाहारी भन्ने ठाउँमा स्थायी घर भएका डाक्टर चन्दले कर्मथलो कपिलवस्तु बनाएका छन् । औपचारिक अध्ययन एमबिबिएस सकेका चन्द सिनियर मेडिकल अफिसर हुन् ।

८ बर्ष कपिलवस्तु सामुदायिक अस्पतालमा काम गरेका उनले अहिले वाणगंगामा आफ्नै लगानीमा नीजि चन्द पोलिक्लिनिक संचालन गरिरहेका छन् । जुन स्थापनाको २ बर्ष नपुग्दै स्थापित बन्न पुगेको छ ।

सन् २०११ बाट चिकित्सा पेशामा हात हालेका डाक्टर चन्दलाई करोडौँ लगानीमा नीजि क्लिनिक खोल्न कम्ता चुनौति थिएन । तर तिनै चुनौतिका पहाडसंग लड्दै उनले चन्द पोलिक्लिनिकलाई यस क्षेत्रमा ब्राण्ड नै बनाउन सफल भएरै छोडे ।

चिकित्सा क्षेत्रमा एक दशक बढी पार गरेका चन्द अनुभवी डाक्टर हुन् । कपिलवस्तु सामुदायिक अस्पतालमा काम गर्दा उनले यो अनुभव हासिल गरे । यस अर्थमा उनी कपिलवस्तु सामुदायिक अस्पताललाई धन्यबाद दिन्छन् ।

स्वरोजगार र सफलताको विषयमा हाम्रो रोजगारीसंगको कुराकानीमा उनले कपिलवस्तु आगमनका केही रहस्यहरु खुलेरै खोले । नेपालगंजको दीपज्योति बोर्डिङबाट विसं २०६० सालमा एसएलसी दिएका उनको सानैदेखिको इच्छा डाक्टर भएर विरामीको सेवा गर्ने रहेछ । यसैकारण उनले प्लस टु मा विज्ञान विषय रोजे । आफ्नो इच्छा पुरा गर्न उनी नीजि लगानीमा नेपालगंज मेडिकल कलेजमा भर्ना भएर एमबीबीएस अध्ययन सके ।

डाक्टर चन्द भन्छन् ‘यही शिलशिलामा कपिलवस्तु सामुदायिक अस्पतालका संस्थापक अध्यक्ष स्वर्गीय शेर बहादुर केसी र दुर्गा सेनसंग काठमाण्डौँमा भेट भयो । उहाँहरुले कपिलवस्तुमा केही गरौँ भन्नुभयो । मलाई पनि कुनै डिसएडभान्टेज ठाउँमा गएर सेवा गर्नुपर्छ भन्ने लागिरहेको थियो । उहाँहरुको प्रस्तावपछि कपिलवस्तुको बारेमा बुझेँ । यहाँ राम्रो चिकित्सक नभएर सर्वसाधारणले दुख पाउनु् भएको रहेछ । त्यसपछि ओके गरेँ । र कपिलवस्तुको बसाई सुरु भयो ।’

कपिलवस्तु सामुदायिक अस्पतालमा काम गर्दा निकै सुखानुभुति रहेको उनी सुनाउँछन् । ८ बर्ष अस्पतालबाट सेवा गर्दा धेरै विरामीसंग भेटघाट हुने, सुखदुख साट्ने, यहाँको सुखदुखसंग रमाउने अवसर पाएँ । तत्कालिन अध्यक्ष पनि निकै राम्रो हुनुहुन्थ्यो,चन्द भन्छन्’ उपचार गर्ने क्रममा जानेर कसैप्रति नराम्रो गरिएन, अन्जानमा कसैप्रति नराम्रो भएको रहेछ भने माफी माग्छु ।’

कपिलवस्तु अस्पतालबाट धेरै कुरा सिक्न पनि पाएको उनी बताउँछन् । चिकित्सा क्षेत्रको अर्को गुरुको रुपमा उक्त अस्पताललाई लिने गरेको छु उनी भन्छन् ‘जीवनभर जागिरे नबन्ने सानैदेखिको सोँच, आफू पनि केहि गर्ने र केहीलाई रोजगारी दिने सोच भएका कारण नीजि क्लिनक खोलेको हुँ । अहिले म निकै सन्तुष्ट छु ।’

आफ्नो क्लिनिक सुरु गरेपछि पनि विरामी र समुदायको उस्तै माया र सहयोग पाएपछि उनी औधि खुसी छन् । कपिलवस्तु सामुदायिक अस्पतालमा हजारौँ विरामीलाई सेवा दिएका उनले आफ्नो क्लिनिकको करिब दुई बर्षे यात्रामा हजारौँ र यही वर्षको साउन महिनापछि मात्रै ८ हजार विरामीको सेवा गर्न सफल भएको उनले बताए । ५ हजार बढी ओपिडी विरामी र २ हजार बढी इर्मजेन्सी केस हेर्न सफल रहेको उनी सुनाउँछन् । एकदिनमा औसतमा ४० देखि ५० जना विरामी हेरिरहेको उनले बताए ।

डाक्टर चन्दको क्लिनिकमा स्वास्थ्य जाँच गर्ने र परामर्श लिनेको दैनिक लाइन देखिन्छ । २४ सै घण्टा इमर्जेन्सी दैनिक ओपिडी, इसिजी, ल्याव परीक्षण, भिडियो एक्सरे र डिजिटल एक्स, माइनर सर्जरी र अर्पेसन, विश्वासिलो फार्मेसी सेवा प्रदान गरेको कारण विरामीले आफूलाई विश्वास गरेको उनको दावी छ । अहिले क्लिनिकमा ५ वेडको इर्मजेन्सी कक्ष छ भने १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आफूसहित ४ जना स्टाफ नर्स, २ जना एचए, २ जना फार्मेसिस्ट, ४ जना ल्याब टेक्निसियन,१ जना सिएमए र १ जना कार्यालय सहयोगीले नियमित रुपमा रोजगारी पाइरहेका छन् ।

यत्ति मात्र होइन क्लिनिकमा सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङगता भएका, अशक्त, असहाय, वृद्धवृद्धा, निकै निम्न आर्थिक अवस्था भएका विरामीहरुलाई विशेष छुटको पनि व्यवस्था गरिएको छ ।

विरामीहरु पनि डाक्टर चन्दबाट राम्रो स्वास्थ्य सेवा प्रदान भएकै कारण आफूहरुको विश्वास रहेको बताउँछन् । आफू र परिवारका सदस्यका हरेक स्वास्थ्य समस्या देखाउन नियमित रुपमा चन्द पोलिक्लिनक पुग्ने गरेकी वाणगंगा ४ कि यमुना भट्टराईले डाक्टर चन्दको खुलेर प्रसंसा गरिन् ।

उनले भनिन् ‘कतिपय डाक्टरमा डाक्टरमा हुने गुण नै हुन्न । धेरै डाक्टर विरामीलाई समय नदिने, झर्किने, कुराकानी गर्न नखोज्ने ठाडो र रुखो बोल्ने गर्दछन् । तर चन्द डाक्टरले हामीलाई समय दिनुहुन्छ । समस्या सोध्नुहुन्छ । कहिल्यै झर्कनु हुन्न । हाँसीहाँसी कुरा गर्नुहुन्छ । जतिखेर पनि फोन उठाउनुहुन्छ । जहाँ भएको भए पनि समस्या परेका बेला आउनुहुन्छ । हामी विरामीले खोजेको डाक्टरबाट यही त हो ।’

वाणगंगा ४ कै चन्द्र प्रसाद पुरी पनि क्लिनिकको सेवाबाट सन्तुष्ट छन् । ‘हामी विरामी डाक्टरको बोली ब्यवहारले आधा निको हुन्छौँ । यस्तो खाले गुण डाक्टर चन्दमा देखिन्छ । उहाँले अनावश्यक औषधी पनि भिँडाउनु हुन्न । नसक्ने रोगको बारेमा यसो गर्नुहोस् भन्नुहुन्छ । त्यसैले नियमित रुपमा उहाँसंगै परामर्श लिने गरेको छु’, उनी भन्छन् ।

विरामीको यस्ता प्रतिक्रियाले आफूलाई झन् जिम्मेवार बनाएको डाक्टर चन्द बताउँछन् । उनले आफ्नो यो सफलतामा आमाबुबा र श्रीमती सोनिस्ता लामाको ठुलो हात रहेको बताए । श्रीमती सोनिस्ता चर्चित ब्युटिसियन हुन् । उनको बुटवल, चारनम्बर लगायतमा हाउस अफ ब्युटि छ । क्लिनिक खोल्दा श्रीमतीले ठुलो हिम्मत दिएको चन्दले कुराकानीको क्रममा बताए ।

अब क्लिनिकलाई अस्पतालको रुपमा विकास गर्ने चन्दको लक्ष्य छ । विशेषज्ञ सेवा, आधुनिक सुविधासमपन्न औजार उपकरणसहितको अस्पतालको लागि उनले चार नम्बरमै एक कट्ठा जग्गा लिइसकेका छन् ।

तीव्र रुपमा जनघनत्व बढिरहेको चार नम्बरमा अझै पनि भरपर्दो अस्पताल छैन । ससानादेखि ठुलै समस्याको उपचार गर्नकै लागि अझै पनि धेरै सर्वसाधारण बुटवल, काठमाण्डौँ धाउनुपर्ने बाध्यता छ । सर्वसाधारणको आर्थिक स्थिति र यो बाध्यतालाई चिर्नको लागि आफूले अस्पताल खोल्ने सोँच बनाएको उनले बताए । केही बर्षपछि अस्पताल निर्माणको काम हुने उनले बताए ।

यहाँ विश्वासिलो स्वास्थ्य सेवा दिन नगरपालिकाले मातहतका अस्पताललाई उचित रुपमा व्यवस्थापन गर्न नसकेको डाक्टर चन्दको बुझाइ छ । उनले भने ‘अस्पतालमा विश्वास बढाउन दक्ष जनशक्ति चाहिन्छ । त्यो अनुसारको दरबन्दी मिलाउनु पर्दछ । यही पिपरा अस्पताललाई ब्यवस्थित र चुस्त दुरुस्त बनाउन सकियो र दरबन्दी मिलान गर्न सकिएको खण्डमा सर्वसाधारणलाई नीजि क्लिनिकमा धाउनुपर्ने अवस्था आउँदैन्थ्यो ।’ यद्यपी आफूले महंगो गरी कुनै सर्वसाधारणमा समस्यामा पार्ने काम नगरेको उनको दावी छ ।

नगरपालिकाले नीजि र सरकारी दुवै अस्पतालसंग सहकार्य र समन्वय गरेर अघि बढे यहाँका जनतालाई न्याय हुन सक्ने डाक्टर चन्द बताउँछन् । जन्मघर रुकुम भए पनि अब परिवारसहित कपिलवस्तुमै सधैँको लागि सेवा गर्नुपर्ने परिवारको सोँच रहेको उनले सुनाए ।

श्रीमती लामा पनि श्रीमानको कामबाट निकै खुसी रहेको बताउँछिन् । श्रीमान् श्रीमतीमा एकले अर्कोको पेशा र प्रकृति बुझ्ने हो भने कहिल्यै असफलता हात नलाग्ने लामाले बताइन् ।

उनले थपिन् ‘मेरो काम पनि उहाँले बुझिसिन्छ । तालिमको सवालमा कहिले कहाँ कहिले कहाँ डुलिरहेकी हुन्छ । कतिदिन बाहिर बस्नु पर्ने स्थिति आउँछ तर पनि श्रीमान् कहिल्यै इन्टरफेयर गरिसिन्न । म पनि उहाँको व्यस्ता र काम बुझ्छु । शंका गर्दिनँ । खै अहिलेसम्म समस्या आएको छैन ।’ आफ्नो व्यवसाय हाउस अफ ब्युटिका बिभिन्न शाखामा दर्जनौँ दिदीबहिनीले प्रत्यक्ष रुपमा रोजगारी पाएको सोनिस्ता लामा बताउँछिन् ।

डाक्टर चन्द भन्छन् ‘दुवैजना व्यवसायमा सफलै छौँ । श्रीमतीको साथ मेरो सफलताको कडी हो ।’ दुवैको सफलता पछि उनीहरु अहिले बैङक ब्यालेन्स, घर, घडेरी, गाडी जोड्न सफल भएका छन् ।

चन्द दम्पति आफू मात्र होइन हिम्मत र आँट लिएर निन्तर एकै ठाउँमा मिहिनेत गर्ने हो भने स्वरोजगार भई स्वदेशमा सफलता हात पर्छ भन्ने कुराको दरिलो उदाहरण पनि बनेका छन् ।