मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुकाे विकास कृषिमन्त्रीकाे प्राथमिकतामा, यी स्थानमा गरे स्थलगत अनुगमन

कपिलवस्तुकाे विकास कृषिमन्त्रीकाे प्राथमिकतामा, यी स्थानमा गरे स्थलगत अनुगमन

अपि टाइम्स

कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले आफ्नो प्राथमिकतामा कपिलवस्तु पार्नुभएको छ । आफ्नो गृह जिल्ला समेत रहेको कपिलवस्तुलाई कृषि मन्त्री भुसालले आफ्नो प्राथमिकतामा पार्नुभएको हो ।

शुक्रवार र शनिबार दुई दिन जिल्लाका तीन वटै संघीय निर्वाचन क्षेत्रमा कृषिसङ्ग सम्बन्धित कामको लागि मन्त्री भुसालले जग्गाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

लुम्बिनी प्रदेशकै प्रमुख खेतीयोग्य जमीन रहेको कपिलवस्तुमा मन्त्री भुसालले नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको पहल थाल्नुभएको छ ।

मन्त्री भुसालले जिल्लामा नार्कको माछा अनुसन्धान केन्द्र र प्रदेश स्तरीय सुबिधा सम्पन्न कृषि बजार बिस्तार गर्ने गरि जग्गा प्राप्तिका लागि स्थलगत निरीक्षण थाल्नु भएको हो ।

शुक्रवार बाणगङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित धनेशपुर, वडा नम्बर ३ स्थित बभनीमा नार्कको माछा अनुसन्धान केन्द्र स्थापनाका लागि मन्त्री भुसाल जग्गा हेर्नका लागि पुग्नु भएको थियो ।

बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले मन्त्री भुसाललाई सम्भावित जग्गाबारे स्थलगत रुपमा अवगत गराउनु भएको थियो ।

साथै वडा नम्बर ४ मा कृषि हाट बजारका लागि जवई क्षेत्रको समेत मन्त्री भुसाल स्थलगत निरीक्षणमा निस्कनु भएको थियो । वडा अध्यक्ष छवि रेश्मीले पुरानो हजेहडा हाट बजारलाई थप व्यवस्थित बनाउन तयार पारिएको ठाउँमा मन्त्री भुसाललाई लगिएको बताउनु भयो ।

शनिबार जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर ३ स्थित दुविया र वडा नम्बर ४ स्थित बुड्ढीको थप जग्गाको स्थलगत निरीक्षण गरिएको थियो । सोही अवसरमा बुद्धभूमिका नगर प्रमुख केशवकुमार श्रेष्ठले मन्त्री भुसाललाई कृषि सम्बन्धित आवश्यक काम गर्न नगरले निशुल्क जग्गा उपलब्ध गराउन सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शनिबार नै जिल्लाको संघीय क्षेत्र नम्बर ३ मा पर्ने चन्द्रौटा खैरी स्थित सार्वजनिक जग्गाको कृषि भुसालले स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री भुसालले कृषि सम्बन्धित कार्यालय, कोल्डस्टोर, कृषि बजार बिस्तार लगायत प्रयोजनका लागि स्थलगत रुपमा पुगेर जग्गाको निरीक्षण गर्नुभएको जनाइएको छ ।

मन्त्री भुसालसङ्ग नेपाल राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) का निर्देशक ध्रुव भट्टराई, नार्कका निर्देशक डा टिकाराम चापागाईं, मन्त्रीका प्रमुख स्वकीय सचिव सुशील भट्टराई लगायतको सहभागीता रहेको थियो ।