मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

कार्की १७ साउन २०७३ मा सर्वोच्चको न्यायाधीश भएका थिए

अपि टाइम्स

२५ वैशाख, काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

अध्यादेशले खारेज गरेको संवैधानिक परिषदसम्बन्धी कानूनका केही प्रावधान नव्यूँतिएपनि परिषदका सबै पदाधिकारीहरुले सर्वसम्मत रुपमा कार्कीको नाम सिफारिस गरेका हुन् । परिषदको सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषद बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

सर्वोच्च अदालत १५ महिनादेखि कायम मुकायमको नेतृत्वमा थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बने । उमेर हदका कारण उनले पनि अवकास पाएपछि ५ भदौमा कार्की कामु प्रधानन्यायाधीश भए ।

तर संसदले महाअभियोगबारे निर्णय गरेन । त्यही अवस्थामा संसदको कार्यकाल सकिएपछि जबरा संसद सचिवालयको महासचिवको पत्र लिएर सर्वोच्च फर्किन खोजेका थिए, तर नेपाल बार एशोसिएसनको आन्दोलन र सर्वोच्च अदालतको आदेशका कारण रोकिए । उनले निलम्बनकै अवस्थामा उमेर हदका कारण अवकाश पाए ।

संविधानतः उनको कार्यकाल सकिनु एक महिनाअघि नयाँ प्रधानन्यायाधीश सिफारिस हुनुपर्ने थियो । तर संवैधानिक परिषदसम्बन्धी कानुनी रिक्तताका कारण बैठक नै बोलाइएन । सरकारले फागुनमा संवैधानिक परिषदसम्बन्धी विधेयक पनि संसदमा दर्ता गरायो ।

यद्यपि विधेयक अघि नबढेपछि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि दबावमूलक आन्दोलन थालेपछि प्रधानमन्त्रीले छलफल थाले । दलहरुबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पास गर्ने सहमति पनि भयो, तर अघि बढेन । र, कानुनी रिक्तता रहेकै अवस्थामा सोमबार परिषदले सर्वसम्मत रुपमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

कार्की १७ साउन २०७३ मा सर्वोच्चको न्यायाधीश भएका थिए । संसदीय सुनुवाइमा उनको नाम अनुमोदन भएमा १९ साउन २०८० सम्म प्रधानन्यायाधीश हुनेछन् । ६५ वर्षे उमेर हदका कारण करिव दुई महिना प्रधानन्यायाधीश बन्ने कार्कीसामू न्यायपालिका सुधारका लागि केही महत्वपूर्ण निर्णय गर्नुपर्ने चुनौती छ । ९ असोज २०७९ देखि कार्की कामू प्रधानन्यायाधीश छन् ।

नेपाल बार एशोसिएसनको अध्यक्ष भएकै बेलामा कार्की राजीनामा दिएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा महान्यायाधिवक्ता भएका थिए । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएपछि १८ फागुन २०७२ मा उनले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए ।

करिव सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश हुँदा न्यायसम्पादनका क्रममा कार्की विवादमा परेका छैनन् । तीन वर्षअघि कार्कीकै नेतृत्वमा न्यायपालिकाभित्रको अनियमितता र भ्रष्टाचारबारे अध्ययन गर्न समिति गठन भएको थियो, जसले स्वचालित पेशी व्यवस्थापन ९अटोमेसन० प्रणाली कार्यान्वयन गर्न सुझाएको थियो ।

बार एसोसिएसनले त्यो सिफारिस कार्यान्वयन हुनुपर्नेमा जोड दिइरहेको छ । कार्की प्रधानन्यायाधीश भएमा न्यायालयमा अटोमेसन कार्यान्वयन गर्नुपर्ने चुनौती छ ।