मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुलाई नमुना ‘सांस्कृतिक नगरी’ बनाउन जनप्रिय मेयर पौडेलसँग के छ सुत्र ? (पालिका संवाद)

कपिलवस्तुलाई नमुना ‘सांस्कृतिक नगरी’ बनाउन जनप्रिय मेयर पौडेलसँग के छ सुत्र ? (पालिका संवाद)

अपि टाइम्स

कपिलवस्तु, बैशाख २६ । प्राचिन अध्येतानुसार, नेपालको गणतान्त्रिक अभ्यासको प्रादुभावकर्ताका रुपमा कपिलवस्तु थियो । शक्तिशाली देश कोशाला अन्तर्गतको एक गणराज्य कपिलवस्तु, जसको राजधानी तिलौराकोट थियो । त्यहाँका राजा शाक्य समुदायका शुद्धोधन थिए । तात्कालिक कपिलवस्तुको राजधानी तिलौराकोट लगायत उक्त राज्यका धेरै भूभाग र लुम्बिनी आधुनिक नेपालको सीमा भित्र पर्दछन् ।

यो नगरपालिका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक हिसाबले परापूर्वकालदेखि नै एक महत्वपूर्ण र विशिष्ट स्थलको रूपमा परिचित हुँदै आएको छ । गौतम बुद्धको २९ बर्षसम्म जीवन ब्यतित गरेको, गौतमबुद्धका पिता राजा शुद्धोधनको प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको निकट र जिल्लाको प्रमुख प्रशासनिक केन्द्र (सदरमुकाम) समेत रहेको कपिलवस्तु नगरपालिकाको भूभाग समथर र उब्जाउ छ । यहाँ प्रायः सबै जातजातिका मानिसहरूको बसोबास छ । यी यावत विषयमा जनताका अपेक्षा धेरै छन् ।

मेयर पौडेल आफ्ना कामकाका कारण जनतामाझ प्रिय छन् भने सामाजिक संजालमा पनि उत्ति सक्रिय र लोकप्रिय छन् । विस. २०५३ देखि राजनीतिक यात्रा सुरु गरेका पौडेल स्थानीय तहमा वडा अध्यक्ष हुँदै नगरप्रमुख भए । जनताको अपार मायासंगै विजयी भएका उनै पौडेलले अहिलेसम्म केके गरे ? अबका वर्षहरूमा गर्ने योजना र प्राथमिकता केके छन् ? प्रस्तुत छ मेयर पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश

निर्वाचित भएर नगरमा आएको एक वर्ष पूरा हुन लाग्यो, समग्रमा यो एक वर्षको अवधिमा जनताले अनुभूति हुने गरि कपिलवस्तु नगरपालिकामा के–के गर्नुभयो ?
हामी निर्वाचित भएर आएलगत्तै स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दियौं । नगरवासीका लागि स्वास्थ्य सेवामा सहजता होस् भनेर नगरपालिका भित्र रहेका सबै घरधुरीमा बसोवास गर्ने परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाइएको छ । निर्वाचित भए लगत्तैको कार्यपालिकाको पहिलो बैठकद्धारा नै सो निर्णय गरियो । बिमामा लाग्ने शुल्कको आधा रकम नगरपालिकाले ब्यहोर्ने निर्णय हामीले गर्यौं ।

यस्तै, आगामी ५ बर्ष भित्र नगरपालिकालाई हिलोमुक्त बनाउने अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेका छौं । माबि सम्म निःशुल्क शिक्षा भन्ने राष्ट्रिय नीति अनुसार नगरभित्रका बिद्यालयमा कुनै पनि शुल्क नउठाउने गरी ब्यवस्थापन गरेका छौं ।सदरमुकाम भित्रको भनौं, या नगरपालिकाको प्रमुख समस्याका रुपमा रहेको छाडा चौपाया नियन्त्रणका लागि बिशेष रुपमा काम गरेका छौं । गौशाला निर्माण गरि चौपायाको ब्यवस्थापन गरेर किसानको अन्नबालीको संरक्षण गरेका छौं । बैशाख/जेठ महिनामा यतातिर खेतबारीमा अन्नवाली कम हुने हुँदा केहि दिनलाई चौपाया छोडिएको छ, तर अव छिट्टै उक्त चौपायाको ब्यबस्थापनका लागि जिल्लाका सबै पालिकाका प्रमुखहरुबीच सहकार्यद्धारा सार्वजनिक गौशाला निर्माण गर्ने तयारीमा छौं । अहिले अल्पकालिन रुपमा कपिलवस्तु नगरपालिकाले संचालनमा ल्याएको गौशालाको ब्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई हस्तान्तरण गरेर थप ब्यवस्थित गर्ने समेत योजनामा छौं ।

यस्तै, भौतिक बिकासको कार्यले पनि नगरपालिकामा तिब्रता पाएको छ । आंशिक रुपमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण प्रभाव परेको भएता पनि अहिले भने कामले गति लिएको छ । कृषिबिकास बैंक देखि महिता सम्मको बाईपास सडकमा बिना बजेट नै अतिक्रमण हटाइएको थियो, बाईपासको रुपमा बिकास गर्नका लागि आवश्यक भएरै संघीय मन्त्रालयमा डेलिगेशनका लागि नगरपालिकाको टिम र वडाध्यक्षहरुको सयुक्त टोली पुगेका थियौं, अहिले त्यो बाईपासको कामले पनि गति लिईरहेको छ ।

हुलाकी सडकले पनि आफ्नो कार्य सकेको छ, अव हामीले नगर भित्र ब्यवस्थित लाईटिङ्ग र बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिदैंछौं । कपिलबस्तु नगरलाई सांस्कृतिक राजधानी बनाउने कार्यमा अभ्यासरत छौं । ऐतिहासिकता, मौलिकता र प्रतिनिधित्वका हिसाबले कपिलवस्तु नगर (तिलौराकोट) लाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउनका लागि बि.सं. २०५३ सालदेखि ब्यक्तिगत रुपमा अनवरत लागि परिरहेको छु । बिश्वास छ, कपिलवस्तुलाई हेर्ने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दृष्टिकोणमा आमूल परिवर्तन आउनेछ ।

कपिलवस्तु नगरको अर्को पहिचान ‘सांस्कृतिक नगर’ । तर विस्तारै यहाँका सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको महत्व र प्रवद्र्धनमा गिरावट हुँदै गएका छन् नी ?
पुरातात्विक एवं ऐतिहासिक क्षेत्रहरुको संवद्र्धन र बिकासका लागि पहलकदमी नलिएको भन्ने नै होइन् तर सरकारको पुरातात्विक सम्पदाको संरक्षण र संवद्र्धनमा स्थानीय सरकारको भूमिकालाई गौण राखेको पाइन्छ । यद्यपि, कपिलवस्तु नगरको महत्व बिश्वसामु आफ्नै बिशेष छ । बुद्धका अनुयायीका लागि कपिलवस्तु शब्द नै प्यारो छ । यहाँको माटोको महिमा अनुपम छ ।

गौतमबुद्धको २९ बर्षे जीवन ब्यतित रहेको, राजा शुद्धोधनको राजप्रसाद तिलौराकोट, शाक्य बंशसँग सम्बन्धित लम्बुसागर, कनकमुनि बुद्धको जन्मस्थान निगालीकोट, क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, जगदिशपुर ताल लगायत धेरै स्थलहरु यस नगरभित्र पर्ने भएकाले पनि यहाँका यी स्थलहरुको बिकास र संरक्षणमा हाम्रो चाँसो र चिन्ता रहेको छ ।

हामीले कपिलवस्तु नगरभित्र प्रवेश गर्दै गर्दा जो कोहीलाई गौतमबुद्धको पवित्र स्थल, राजधानी प्रवेश गरेको अनुभूति हुने गरि काम गर्ने योजनामा छौं । अर्को आर्थिक बर्षभित्रै हामीले गौतमबुद्धका पिता राजा शुद्धोधन, माता मायादेवी, श्रीमती यशोधरा, छोरा राहुल, सारथी छन्दक, घोडा कन्थक लगायत कपिलवस्तु नगरभित्र जन्मिएका तीनबुद्ध मध्ये कनकमुनि बुद्ध, क्रकुछन्द बुद्धको प्रतिमा निर्माण गरि सांस्कृतिक राजधानीको प्रतिबिम्ब हुने गरि काम गर्नेछौं ।

यस्तै, सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेपछि आफ्नो पिता माता र परिवारलाई भेट गरेको स्थान निग्रोधराम (कुदान), कनक मुनि बुद्धको राजदरबार क्षेत्र (अरौराकोट), शाक्यहरुलाई बिरुढकले सामूहिक वध गरेको स्थल (सगरहवा), भगवान् बुद्धको अस्तु धातु रहेको ठूलो स्तुपको भग्नावशेष (सिसहनिया) लगायतका स्थलहरुको बिशेष प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्ने तयारी छौं । यहाँका यी महत्वपुर्ण तथा ऐतिहासिक क्षेत्रहरुको बिकास र प्रचारप्रसार भने चाहेअनुरुपको हुन सकेको छैन् । यस्का लागि हामी जनप्रतिनिधि, यहाँका राजनैतिक दल, सञ्चारकर्मी र सरोकारवाला सबै लाग्नुपर्ने जरुरी चाँही छ ।

बुद्धस्थल तथा पुरातात्विक क्षेत्रसँग सम्बन्धित बिषयमा थप के गर्दै हुनुहुन्छ ?
यस क्षेत्रको बिकासका लागि यहाँ बिश्वको सबैभन्दा अग्लो बुद्धको प्रतिमा निर्माण गर्ने योजनाको थालनी गरेका छौं । २४५ मिटर अग्लो बुद्धको मूर्ति निर्माणका लागि अन्र्तराष्ट्रिय बौद्धिष्ट केन्द्रसँग समझदारीपत्रका हस्ताक्षर भएर निर्माण कार्यको सुरुवाती चरणमा हामी लागेका छौं । मूर्ति र पार्क निर्माणका लागि प्रारम्भिक ३० अर्बभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान छ । प्रचलित कानुन बमोजिम सरकारबाट सम्बन्धन प्राप्तीको लागि अहिले काम भइरहेको छ ।

तिलौराकोट क्षेत्रलाई बिश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रक्रिया अगाडि बढिरहेको छ । गोटिहवा, तिलौराकाट लगायत यहाँका पुरातात्विक क्षेत्रको थप बिकास र प्रवद्र्धनका लागि संघीय सरकारका पर्यटन मन्त्री सुदन किरातीले समेत स्थलगत अवलोकन सहित चाँसो ब्यक्त गरेकाले पनि थप आशा जगाएको छ । बुद्धजयन्ती लगायत बुद्धसँग सम्बन्धित बिभिन्न कार्यक्रम संचालन तथा ब्यबस्थापनमा नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको छ ।

लुम्बिनी बिकास कोषले कपिलवस्तुका पुरातात्विक क्षेत्रको बिकासका लागि खेलेको भूमिकालाई कसरी लिनुहन्छ ?
लुम्बिनी बिकास कोष भन्दा पनि राज्यसँग मेरो गुनासो छ । यहाँको पुरातात्विक क्षेत्रको बिकासका लागि राज्यले चाँसो नदिएका कारण सिंगो कपिलवस्तु पछाडि परेको मेरो बिचार हो । यद्यपि, सरकारले लुम्बिनी विकास समिति गठन गरी कपिलवस्तु, नवलपरासी र रुपन्देहीमा रहेको बुद्धस्थलको संरक्षण र विकास गर्दै आएको छ । छुट्टै कपिलवस्तु विकास समिति गठन नभई प्राचिन नगरका रुपमा रहेको प्राचिन शहरको विकास नहुनेमा म बिश्वस्त छु । प्राचिन कपिलवस्तुलाई राज्यले समेत उपेक्षा गरी रहेको छ, कपिलवस्तुको समग्र विकासका लागि कपिलवस्तु विकास समितिको गठन आवश्यक रहेको मेरो ठम्याई छ ।

लुम्बिनीमा आएका पर्यटक मध्ये १० प्रतिशत पनि कपिलवस्तु आउन नसक्नु बिडम्बनाको कुरा हो । कपिलवस्तुको महिमा र गरिमालाई बुझेर यहाँ आएका पर्यटकहरुले पनि उताबाट आफुले बोकर ल्याएका फोहोर फाल्न आए जस्तो देखिन्छ । लुम्बिनी आएका हरेक पर्यटकलाई कपिलवस्तुसम्म ल्याउने र यहाँ १ दिनको बसाईको ब्यबस्थापन गर्न आवश्यक छ, त्यस्का लागि सबैपक्ष एकजुट हुनुपर्दछ । पर्यटकहरुले ल्याएको फोहोर फाल्ने जिम्मा कपिलवस्तु नगरपालिकाको मात्रै भएको देखियो, यो दुखद पक्ष पनि हो ।

पर्यटकिय तथा पुरातात्विक क्षेत्रको बिकासमा तपाईको चाँसो बढ्नुको कारण के हो ?
एक त म कपिलवस्तु नगरवासी, दोस्रो कपिलवस्तु नगरप्रमुख, यसर्थ पनि ब्यक्तिगत र पदीय जिम्मेवारीका रुपमा यसलाई लिन्छु मैले । उसो त २०५३ सालमै बिद्यार्थी जीवनमै कपिलवस्तु र तिलौराकोटको प्रचारप्रसारका लागि अभियान सञ्चालन गरेको थिए । यहाँका सम्पदाको प्रचारप्रचारका लागि २०५३ श्रावणमा २५ दिनसम्म मेचीकाली साइकल यात्रा समेत गरेको थिए । त्यसपश्चात पनि निरन्तर यहाँका पर्यटकिय तथा पुरातात्विक क्षेत्रको सम्वद्र्धन र प्रचारप्रचारमा मैले काम गरिरहेको छु ।

तपाईले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएको भन्नुभयो, यहाँको स्वास्थ्य सेवालाई कसरी ब्यवस्थित बनाउनुहुन्छ ?
कपिलवस्तु नगरका १२ वटा वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । नगरसभावाटै कपिलवस्तु नगरपालिका भित्रका वासिन्दाका लागि प्रति परिवारको स्वास्थ्य विमाको लागि लाग्ने वार्षिक दस्तुरको ५० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गरी वजेट व्यवस्थापन भएको छ । वडावाट सिफारिस भई स्वास्थ्य विमा बोर्डवाट फर्म भराइएका नागरिकहरुलाई ५ जना सम्म परिवारमा प्रति परिवार रु. १७५० का दरले हुन आउने रकम स्वास्थ्य विमा बोर्डले नगरपालिकामा भुक्तानी दावी गरेपछि नगरपालिकाले विल तथा वडाको सोही सिफारिसको आधारमा विनियोजित बजेटवाट भुक्तानी दिने ब्यवस्था गरिएको छ । बिपन्न नागरिकलाई मध्यनजर गर्दै यो सुविधाको ब्यवस्था गरेका छौं ।

यसैगरि, सबै नगरवासीलाई स्वास्थ्य विमामा नगरपालिकाले अनुदान दिने नीति अन्तर्गत कपिलवस्तु वाल मन्दिरमा संरक्षणमा रहेका वालवालिकाहरुलाई पनि स्वास्थ्य उपचारमा टेवा पुरÞ्याउने उद्देश्यले स्वास्थ्य विमा वापत लाग्ने सम्पूर्ण रकम स्वास्थ्य विमा शिर्षकमा विनियोजित रकमवाट खर्च बेहोर्ने गरि ब्यवस्थापन गरेका छौं ।

कपिलवस्तु नगरवासीहरु उपचारको शिलशिलामा बुटवल या भैरहवा गएको खण्डमा त्यहाँ निशुल्क रगतको ब्यवस्थालाई समेत हामीले बिशेष महत्व दिएका छौं । आगामी असार महिनादेखि नगरवासीहरुले उक्त सुविधा पाउनुहुनेछ । यस्तै, नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यानको निर्माण गरेका छौं । उद्यानमा पुगेर शारीरिक अभ्यास गर्न सकिन्छ । शारीरिक सक्रियता मार्फत रक्तचाप र मधुमेह नियन्त्रणमा लिन सहयोग पुग्छ भनेर चिकित्सकहरुको भनाइ छ । उद्यानमा बिहान बेलुकी हिँड्न, कुद्न पायो भने निश्चिय नै त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यससँगै सरकारी अस्पतालमा सुविधा बढाउने योजना अगाडि सारेका छौं ।

आगामी पाँच बर्षसम्म तपाईले नगरको नेतृत्व गर्दा यहाँको शिक्षाको स्तर कस्तो हुन्छ ?
बिद्यालयमा अनावश्यक रुपमा उठाउने शुल्कलाई कडाइका साथ नियन्त्रणका लागि निर्देशन दिएका छौं । आन्तरिक सजावट तथा व्यवहारको दृष्टिकोणबाट कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बसौँबसौँ, पढौँपढौँ लाग्ने बनाउन सकिन्छ । विद्यालयमा सकारात्मक वातावरण बनाउन आवश्यक बजेट छुट्याउछौँ र प्रभावकारी अनुगमन पनि गर्छौं । साक्षरता प्रतिशत हालको ७३.०७ छ, यस्लाई उकास्नका लागि सम्बद्ध सरोकारवालाहरु सँग छलफल र योजना निर्माण गरिनेछ ।

पूर्वाधार निर्माणमा ढिलासुस्ती हुँदा नगरवासीले सास्ती खेप्नु परिरहेको छ नि ?
सडक विभागले सडक बनाउँछ । सडकको निश्चित ‘डेन्सिटी’, ‘टेम्प्रेचर’ र ‘कम्प्याक’ हुन्छ । यसको अनुगमन नगरले गर्छ । सडकमा ढलान गरियो तर ढलानमा प्रयोग गरिएका सामग्रीको गुणस्तर कस्तो छ ? निर्माणकर्ताले जस्तो प्रतिवेदन दियो त्यसलाई मान्ने गरिएको छ । अब त्यस्तो हुँदैन, सडकमा कस्ता सामग्रीको प्रयोग गरिएको छ, पहिले त्यो हामीले बिशेष टिम बनाएर काम गछौं । अनुगमनलाई प्रभावकारी बनाउँछौँ । नगरवासीले थोरै मात्रामा धैर्यता राख्नुपर्छ, छिटोभन्दा छिटो सडक निर्माणले चुस्तता पाउनेछ ।

हरियाली शहर सौन्दर्यको अनिवार्य शर्त हो, नगरलाई हराभरा बनाउन के गर्नुहुन्छ ?
अहिले हुलाकी सडक सम्पन्न भएको छ । सडक बीचको भागमा योजना अनुरुपकै प्रतिमा र बृक्षारोपण गरिनेछ । यो सँगै बहादुरगंज चोकदेखि भिक्षुचोक सम्मको बाटो निर्माणले तिब्रता पाएसँगै उक्त स्थानमा पनि हरियाली प्रवद्र्धन गर्नेछौं । जमुवारपुलदेखि प्रशासनचोक, नयाँटोल हुँदै हुलाकीचोक लगायत नगर प्रवेशका नाकामा भिजनरी काम हुनेछ । हरेक घरमा कम्तीमा एउटा रुख हुनुपर्ने व्यवस्था छ तर त्यसको कार्यान्वयन भएको पाइँदैन । हामीले ‘भर्टिकल गार्डेन’को पनि सोच राखेका छौँ । सरकारी कार्यालयमा खाली रहेका जग्गामा पोखरी खन्न र रुख रोप्न आग्रह गर्दछौँ ।

‘होर्डिङ्ग बोर्ड’ र सुचना ‘वे’को व्यवस्थापन गर्न नसकिएको हो ?
एकदम जरुरी कुरा सोध्नुभयो, आन्दोलन चोक (नयाँटोल) र बहादुरगंज चोकमा उचित होर्डिङ्ग बोर्डको ब्यबस्था गर्नुपर्ने जरुरी छ । होर्डिङ्ग बोर्ड र सुचना ‘वे’ नभएका कारण दुर्घटनाको जोखिम समेत बढेर गएको छ । ट्राफिक प्रहरीसँग समन्वय गरेर उक्त स्थानमा सचेतनामूलक बोर्डको ब्यवस्था छिट्टै गर्नेछौं । यहाँको पर्यटकिय क्षेत्रको जानकारी सहितको सुचना ‘वे’को समेत अति आवश्यकता रहेको छ । यो कामलाई पनि प्राथमिकीकरण गर्नुपर्ने देखेका छौं, अब हामी त्यसलाई कडाइका साथ कार्यान्वयन गर्छौं ।

प्रशासन चोकमा आकाशेपुलको निर्माण कार्यको प्रारम्भिक चरणमा छौं । छिट्टै नै टेण्डर आवहन गरेर काम यसै आर्थिक बर्ष भित्रको बजेट पार्ने गरि काम अगाडि बढाउछौं । भिक्षुचोकमा नमुना चौमुखे गेटको निर्माण कार्य पनि सुरु गरेका छौं । चार कुनामा चारवटा पिलर भएको सेमी सरकुलर मोडेलको गेट निर्माण थालिएको हो । उक्त गेटमा दिशा सुचना ‘वे’ र ठाउँ देखाउने एलआइडी प्यानल समेत जडान गरिनेछ । लाईनको अण्डर ग्राउण्ड सिस्टममा समन्वय नहुँदा ठेक्का समेत प्रभावित भएकाले निर्माणमा केहि ढिलाई देखिएको छ । चौमुखे नमुना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिेनेमा हामी बिश्वस्त छौं ।

कपिलवस्तु नगरको कला, संस्कृति, यहाँको सांस्कृतिक वैभवलाई कसरी अगाडि बढाउनुहुन्छ ?
कला, संस्कृति, सम्पदा र सभ्यतालाई जीवन्त राख्न कुनै कसर बाँकी राख्ने छैन । यसका लागि हामीले बिभिन्न निकायसँग विभिन्न चरणमा छलफल गरेका छौँ । यहाँको पुरातात्विक, पर्यटकिय क्षेत्रहरु, संग्रहालय, चमेरा संरक्षण क्षेत्र, जगदिशपुर ताल, सागर ताल, लम्बुसागर, कुदान, निग्लिहवा, गोटिहवा लगायतको संरक्षणका लागि आवश्यक बजेट, नीतिनिर्माण गर्नेछौँ । म आफैँले पनि यहाँको इतिहासका बारेमा गहिरो अध्ययन गरेको छु । संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्छ । पर्यटन, कला, संस्कृति, सम्पदा संरक्षणको क्षेत्रमा बजेट बढाउने सोचमा छौँ । यसले नागरिक र देशको आर्थिक अवस्थालाई नै सकारात्मक प्रभाव पार्दछ ।

अन्त्यमा केही भन्नु छ कि ?
मलाई कपिलवस्तु नगरवासीले मत दिएर र राजनीतिक पूर्वाग्रह नराखी नागरिकले शुभकामनाका साथ नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको म प्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन् । एक्लो प्रयासले मात्रै विकास सम्भव हुँदैन । त्यसैले कपिलवस्तुका १० वटै स्थानीय तहसँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । हामीले बुद्धस्थलको प्रचुरता रहेको कपिलवस्तुलाई सांस्कृतिक राजधानीमा रुपान्तरण गरि नमूना बनाउन सकेमा यहाँका अन्य पालिकाहरुलाई पनि प्रेरणा हुनेछ । विगतबाट पाठ सिक्दै भविष्यलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने नै छ ।पालिका पत्रको लागि भुपाल थापाले लिएको अन्तरवार्ता