कसैको मृत्यू भएमा हिन्दूको घरमा जुन प्रकारले शोक मनाइन्छ त्यो पनि एउटा गलत र हानिकारक ढंग हो। ज्ञानीहरुको कथन छ कि मानव जीवन ईश्वरको एउटा धरोहर जस्तै हो, यसैले जब त्यसबाट फिर्ता लिनुपरेमा कुनै प्रकारको शोक वा दुःख मान्ने आवश्यकता छैन। यो कुरा ठीक हो कि यस प्रकारको मोहमाया शून्य मनोभाव राख्न सक्नु साधारण सांसारिक मनुष्यको वश भन्दा बाहिरको कुरा हो। फेरी पनि मृत्युमा अत्यधिक रुनु तथा टाउको-छाती फुटाउनु कुनै प्रशंसनीय कार्य होइन। मानिसहरु ठान्छन् कि यस्तो गर्नाले मृतकप्रति हाम्रो प्रेम प्रकट हुन्छ, तर अन्य दर्शकलाई यसमा देखावटिको भाव लाग्न सक्छ। प्रायः देख्न सकिन्छ कि कुनै अत्यन्तै निकट आत्मीय व्यक्तिको मृत्युमा वास्तवमै ठूलो चोट लाग्छ, त्यस्तो समयमा ज्यादा रोइंदैन बरु मनको शोक भित्रै रहन्छ।
अर्को कुरा यो हो कि जो व्यक्ति कुनै आत्मीयको प्राण निस्किने समय त्यहिं अत्यधिक रुने काम गर्छन्, तीं परलोक यात्रा गर्ने व्यक्तको मार्गमा बाधक बन्छन्। उक्त समयमा त्यस व्यक्तिको आत्मा यस लोकलाई छोड्दै आफ्नो जीवनभरीको कर्मको लेखाजोखा गर्दै आगामी जीवनको संभावनाहरुमाथि विचार गर्दछ। यस्तो समयमा यदि उसको नजिक बसेर रुने-चिन्ता गर्ने गरेमा उसको शान्ति भङ्ग हुन्छ र यसले अवश्य नै उसको यात्रामा बाधा पर्नेछ र उसको भविष्य बिग्रने गर्छ। यस्तो समयमा हामीले पूर्ण शान्त रहेर धर्म ग्रन्थ आदिको पाठ गर्दै उसले शान्तिपूर्वक प्रयाण गर्न सक्ने वातावरण उत्पन्न गर्नु पर्छ, जसले गर्दा आशा र विश्वासका साथ नयाँ जीवनमा प्रवेश होओस् र उत्तम् फल प्राप्त गर्न सकोस्।
यो पनि एउटा स्मरणीय विषय हो कि अधिकांश मानिस आफ्नो परिवार, धन, सम्पती, इष्ट-मित्रमा चाहिने भन्दा ज्यादा मोह राख्छन् र मर्ने समयमा तिनको वियोगमा व्याकुलताको अनुभव गर्दछन्। यस्तोमा यदि उनका नातेदार ज्यादा रुने-चिच्याउने गरेभने त त्यसको मोह झन् धेरै भड्किन्छ साथै तीं सबै कुरा छोडेर जानमा व्याकुलताको अनुभव गर्दछ। यसको फलस्वरुप उसको आत्मा शिघ्र आफ्नो लक्ष्य तिर अग्रसर हुन पाउंदैन बरु आफ्नो घर तथा परिवारको मोह बन्धनमा जकडि रहन्छ। यो पनि एउटा अनुचित तथा हानिकारक कुरा हो। आत्मालाई त अन्तिममा आफ्नो निर्दिष्ट स्थानमा जानु पर्छ नै जसकारण पृथ्वीमा रहेका आफ्ना नातेदारहरुसंग सम्बन्ध टुटाउनु पर्छ नै। तर यस समय यस प्रकारको मोह बन्धन दृढ हुनाले आत्मा उच्च गतिमा जान नसकेर लामो समयसम्म निम्न गतिमा नै रहन्छ र उसको सद्गति हुन ठूलो बाधा उत्पन्न हुन जान्छ।
त्यसो त आजकल धेरै जातिहरुमा कसैको देहांत भएपछि रुनु-चिच्याउनु, चिन्ता कयौं दिनसम्म चल्छ, त्यो कुनै दृष्टिबाट पनि युक्तिसंगत मान्न सकिंदैन। उसबाट प्रायः यस्ता स्त्रीहरु मृत व्यक्तिको लागि घंटौसम्म रोहिरहने गर्छन् जसबाट तिनलाई न त मोह हुन्छ न कुनै प्रकारको सम्बन्ध नै हुन्छ। यस्ता स्त्रीहरु यस्तरी छाती पीट्दै रुन्छन् जसबाट स्वास्थ्यमा अति ठूलो असर पर्छ। कहिलेकाहिं त जातिमा अत्यधिक मृत्यु हुनाले दैनिक एक भन्दा धेरै पटक पनि यस्तो कार्य गर्नु पर्ने हुन्छ। यद्यपी यो शोक प्रदर्शन बिलकुल देखावटी हुन्छ।
प्रतिक्रिया