मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४२ डिग्री तापक्रमका बीच राष्ट्रिय क्रिकेट टिमले पायो विराटनगरमा भव्य सम्मान

४२ डिग्री तापक्रमका बीच राष्ट्रिय क्रिकेट टिमले पायो विराटनगरमा भव्य सम्मान

अपि टाइम्स

विराटनगर — हालै सम्पन्न एसीसी प्रिमीयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै मुलुकलाई एसिया कप प्रतियोगितामा सहभागी गराउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बुधबार विराटनगरमा भव्य स्वागत र सम्मान गरिएको छ ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयुक्त रुपमा राष्ट्रिय टिमका खेलाडी र मुख्य प्रशिक्षकलाई ४२ डिग्री तापक्रमका बीच बुधबार विराटनगर नगर क्षेत्र परिक्रमा गराइएको थियो ।

यती यएरबाट विराटनगर अवतरण गरेका राष्ट्रिय टिमका खेलाडीलाई विमानस्थल हुँदै एयरपोर्ट मोड, पिपलचोक, बरगाछी, तीनपैनी चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै बरगाछीसम्मको दूरी परिक्रमा गराइएको थियो ।

उनीहरुलाई विमानस्थलमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बृद्धिकुमार राजभण्डारी, विराटनगर महानगरकी उपप्रमुख शिल्पा कार्कीसहित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले स्वागत गरेका थिए ।

खेलाडी र प्रमुख प्रशिक्षकलाई बुधबार साँझ विराटनगरवासीका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको पूर्वखेलाडी पारस लुनियाले बताए ।