मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाँण-कार्की संवादः कङग्य्राचुलेसन एसएसपी सा’ब, बधाई छ, राम्रो गर्नुभयो, कार्कीले भने ‘धन्यबाद हजुर’

खाँण-कार्की संवादः कङग्य्राचुलेसन एसएसपी सा’ब, बधाई छ, राम्रो गर्नुभयो, कार्कीले भने ‘धन्यबाद हजुर’

आईजीपी वसन्त कुँवरलाई खाँणले धम्की दिएका थिए

अपि टाइम्स

काठमाण्डौँ । ५० लाखसम्म उठाएर शरणार्थी बनाउने गिरोहको योजनामा संलग्न भएको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राऊ परेका छन् । देउवा सरकारको पालामा गृहमन्त्री रहेका खाँणले गिरोहलाई कारबाही गर्नुको सट्टा मिलिभगत गरेर पैसा उठाएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि उनी प्रहरी अधिकारीसंग बाझिएका छन् ।

मंगलबार साँझ नै खाँणलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको प्रहरी उनको निगरानीमा लागिसकेको थियो । बुधबार बिहान उनी घरमा भएको निश्चित गर्न सादा पोसाकका प्रहरी चाबहिल मैंजुबहाल पुगेर उनलाई पक्रेका थिए । ‘जरुरी पक्राउपुर्जी’ देखाउँदै प्रहरीले ‘शरणार्थी प्रकरणको अनुसन्धानका लागि जानुपर्‍यो हजुर’ भन्दै आग्रह गरेको थियो । पक्राउ गर्न आएर प्रहरीले आफ्नो अपमान गरेको भन्दै उनी जंगिएका थिए । यो बीचमा उनले आइजिपीलाई धम्की दिएका छन् भने अरु प्रहरीको मनोबल गिराउने काम पनि गरेका छन् ।

खाँणले प्रहरी अधिकारीहरूप्रति आक्रोश पनि पोख्दै आईजीपी (वसन्त कुँवर) को कार्यकाल कति छ ? २ वर्ष छ भन्ने जवाफ पाएपछि उनलाई अर्घाखाँची गएर चुनाव लड्न भनिदिनु भनेर चुनौती पनि दिएका खबर कान्तिपुरले लेखेको छ ।
खाँणलाई टेकुमा केहीबेर राखेर स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो । लगत्तै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको थियो । त्यहाँ कार्यालय प्रमुख अच्युतमणि नेउपानेसहित सरकारी वकिल र प्रहरी अधिकारी जम्मा भएका थिए । ‘काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीलाई देख्नासाथ खाँणले फेरि आक्रोश पोखेका छन् । उनले एसएसपी कार्कीलाई भनेका थिए ‘कङग्य्राचुलेसन एसएसपी सा’ब, बधाई छ, राम्रो गर्नुभयो’ भन्दै असन्तुष्टि पोख्नुभयो,’ सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘एसएसपी कार्कीले पनि धन्यवाद हजुर भनेर जवाफ फर्काउनुभयो ।’

संगठित अपराधमा ६० दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने बाध्यता छ । अब करिब एक साताभित्र अनुसन्धान सक्नुपर्ने दबाबमा प्रहरी छ । त्यसका लागि सबुत प्रमाण संकलन सकिएको र पक्राउ परेका र पक्राउ गर्न बाँकीबाट बयानको मात्रै काम बाँकी रहेको स्रोत बताउँछ ।