मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौमा २ दिनसम्म रोजगार मेलाः युवाहरुले यसरी पाउने छन् काम

काठमाण्डौमा २ दिनसम्म रोजगार मेलाः युवाहरुले यसरी पाउने छन् काम

अपि टाइम्स

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाण्डौमा आज मङ्गलवारदेखि रोजगार मेला सुरु भएको छ । टेकुमा रहेको महासङ्घको कार्यालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा रोजगार मेला सुरु भएको हो । मेला भोलि बुधवारसम्म चल्नेछ ।

मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरूको बीचमा पुलको काम गर्ने बताए । उनले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउन सहयोग पुर्‍याउने बताए । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगार मेलाले रोक्न सक्ने उनको भनाई छ ।

अध्यक्ष ढकालले आउँदो आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोबल उच्च राख्न हरेक क्षेत्रबाट सरकारले सहयोग गर्ने उल्लेख गरेको बताए । उनले बजेटमा समेटिएको स्टार्टप र सीप विकासको विषय निजी क्षेत्रले उठाएको बताए ।

मेलामा आफूले खोजेको जस्तो रोजगार पाइने आशामा आउनुभएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले बढ्दै गएको बरोजगारीको समस्या थोरै भए पनि कम हुने उनको भनाई छ । ढकालले देशभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरू बढेको भन्दै कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेलामा आएको बताए ।

मेलामा काठमाण्डौ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासङ्घका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरु भएको छ ।

रोजगार मेलामा एक सय वटाभन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ । महासङ्घले मेलामा कामको खोजीमा रहेका पाँच हजारभन्दा बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य राखेको छ । मेलामा रोजगारी, सीप एवम् जनशक्ति विकासलगायतका विषयमा विभिन्न परामर्श ुसेसनु हरूसमेत हुनेछ ।