मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चमा पुग्यो नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट

सर्वोच्चमा पुग्यो नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट

अपि टाइम्स

काठमाडौँ । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका हुन् ।

रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता भण्डारीका अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन माग भएको हो । उनले भने‚ ‘राष्ट्रपतिबाट हिजो प्रमाणीकरण भएको विधेयकलाई ऐनको अंग नबनाइपाऊँ भनेर माग गरेका छौं । कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत मागेका छौं ।’

नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश माग गरिएको उनले जानकारी दिए । ‘नागरिकताको विषय दीर्घकालीन समस्या भएकाले संसद्‌बाटै ऐन बनाउनुपर्छ । यसको समस्या के हो र कहाँ कहाँ समस्या छ र समाधानका उपाय केके हुन् भन्ने अध्ययन गरी संसद्‌लाई कानुन बनाउनू भन्ने आदेश मागेका छौं‚’ उनले भने ।