मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हामी द्रुत परिणाम खोज्छौं, कर्मचारी प्रक्रियाको वरिपरि घुम्न खोज्नुहुन्छः मेयर शाह

हामी द्रुत परिणाम खोज्छौं, कर्मचारी प्रक्रियाको वरिपरि घुम्न खोज्नुहुन्छः मेयर शाह

अपि टाइम्स

कपिलवस्तु । नेपालकै प्रमुख भन्सार अन्तर्गतको एउटा अभिन्न र महत्वपूर्ण नाका कृष्णनगर, जुन कपिलवस्तुकै प्रमुख ब्यापारिक नाका पनि हो । पूर्वपश्चिम लोकमार्गबाट मात्रै २० किलोमिटर दुरीमा कृष्णनगर अवस्थित कृष्णनगरले स्थानीय तहको निर्वाचनपछि निकै गति लिएको छ ।

२०७४ असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयरमा रजत प्रताप शाहले जीत दर्ता गरे ।
दोस्रो स्थानीय तहको निर्वाचनमा पनि उनले सानदार जित हासिल गरे । दोश्रो कार्यकाल ग्रहण गरेको पनि अब एक बर्ष हुन आँटेको छ । पहिलो अनुभवले खारिएका शाहले दोश्रो अनुभवमा कृष्णनगरलाई कसरी हाँक्दै छन् ? सहकर्मी भुपाल थापाले गरेको कुराकानीको सम्पादित अंश

-जनप्रतिनिधीका रुपमा दोस्रोपटक निर्वाचित भएर आएको यो एकबर्षे कार्यकालको उपलब्धि के के रहे ?

सर्वप्रथमतः नगरपालिकालाई पूर्ण सूचना प्रविधि मैत्री सहितको समृद्ध नगर बनाउन लागि परेका छौं । नगरभित्र आवश्यक पूर्वाधार तथा स्रोत सामग्रीको ब्यवस्थापन गरी जनमुखी र नागरिकमैत्री बनाउन सिंगो कार्यपालिका टिम लागेको छ । देशकै दोस्रो पुरानो शिवराज अस्पताल पनि यहि छ, यसको स्तरोन्नती तर्फ लागेको छु । नगरपालिकाको नगर योजनाबाट ३६ लाख अनुदानमा एक्स–रे मेसिन त्यहाँ जोडिएको छ ।

वडा नम्बर १, २, ४, ८ र ९ मा रहेका बहाल बिरौटी घर जग्गालाई लालपुर्जा बितरणका लागि समन्वय गरि लालपुर्जा प्राप्ती प्रक्रिया अगाडि बढाएको छु । सबै वडामा टोल बिकास संस्था गठन गरि सबै नगरवासीहरुलाई बिकासको पहुँचको सुनिश्चितताको पहल गरिएको छ ।

नगर सौन्दर्यकरण र नगर यातायात गुरुयोजना बनाएर यहाँको बिकास र समृद्धिका लागि पहल गर्ने कार्यमा हामी लागेका छौं । यहाँका मुख्य बाटो सडकहरु कालोपत्रे भएका छन् । जनताले देख्ने गरी परिणाममुखी कामको यात्रामा कृष्णनगर नगरपालिका अघि बढेको छ । हाम्रो कार्यकाल भित्र समृद्धिको यात्रामा हिँडिरहेको कृष्णनगर बनाउन हामीले नयाँ कामको प्रारम्भ गरेका छौं ।
-निर्वाचित भएपश्चात सेवा प्राप्तिमा जनता सन्तुष्ट छन् भन्ने आधारहरु के छन् ?

जनताले मलाई दोस्रो कार्यकालका लागि जिताएर पठाएका छन् । जनताको समस्या, गुनासो र पिरमर्का बुझेरै, समाधान गरेरै मलाई पुनः मत दिएर जिताएका हुन् । मुख्य बिश्वासको आधार नै यहि हो कि मैले पहिलो कार्यकालमा राम्रो काम गरेको थिए । अहिले पनि कृष्णनगरको प्रत्येक गाउँ–गाउँ र टोल–टोलमा काम भईरहेको छ ।

स्वास्थ्य चौकी निर्माण भइरहेका छन् । बिद्यालय निर्माण भइरहेका छन् । नाली निर्माण भइ ढलनिकास भइरहेको छ । बाटोघाटोहरु बनिरहेका छन् । कृष्णनगर बजारको सुन्दरीकरण भइरहेको छ । बहादुरगंज बजारको पनि सुन्दरीकरण भइरहेको छ । कृष्णनगर बजारमा पनि बाटो फराकिलो बनाउने काम भइरहेको छ, सुन्दरीकरण भइरहेको छ । समग्रमा कृष्णनगर नगरक्षेत्रको बिकासमा हामी लागिरहेका छौं ।

-नगरपालिकाका स्थानीय गौरवका आयोजना, योजनाहरु के छन् र योजनाहरुको अवस्था र उपलब्धि कस्तो छ ?
मुख्य रुपमा यहाँको बजार ब्यवस्थापन नै हो । गौरवको रुपमा यो बजार क्षेत्रलाई लिएका छौं । नगरले कृष्णनगर बजार सुन्दरीकरण र ब्यवस्थित गर्ने कार्यलाई गौरवको योजनाको रुपमा लिएको छ ।

प्रमुख भन्सार नाकाका रुपमा रहेको कृष्णनगर क्षेत्रको बाटो फराकिलो बनाउने देखि सडक लाईटिङ्गको ब्यवस्था पनि सम्पन्न गर्न थालिसकेका छौं ।

अन्य गौरवको योजनाहरुको काम पनि राम्र्रै भइरहेका छन् । भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्ण थियो, यात्रुहरूले दुख पाइरहेका थिए ।

वर्षाको बेला सडकमै पानी नाली बग्ने समस्या थियो । अहिले बजार क्षेत्र अन्तर्गत बैङ्क रोड, गल्ला मन्डी रोड, गोल घर सडक कालोपत्रे भएका छन् । मित्रराष्ट्रका अतिथि लगायत यात्रीहरुलाई सहज भएको छ ।

-आर्थिक बर्ष सकिन करिब एकमहिना बाँकी रहँदा नगरपालिकाको हालसम्मको पूँजीगत खर्चको अवस्था कस्तो छ ?
कृष्णनगरमा समग्र योजनाको काम अहिलेसम्म ६५ देखि ७० प्रतिशत सकेका छौं । नेपालको बिकासे मोडल अनुसार पनि हामीले पक्कै राम्रो गरेका छौं ।

संघ तथा प्रदेशको काम भन्दा स्थानीय सरकारले गरेको कामको प्रगति राम्रो छ । यो आर्थिक बर्षमा कुल बजेटको करिब आधा खर्च भइसकेको छ । पुँजिगत तर्फ ३५ प्रतिशत खर्च भएको छ । बजेट कटौती भएका कारण कतिपय योजना सम्पन्न हुन नसक्ने अवस्था छ ।

संघ सरकारले बजेट कटौती गर्दा मेरो दोस्रो कार्यकालको अग्निपरीक्षा अब सुरु हुने देखिएको छ । यस बर्ष बजेट अभावले सम्पन्न गर्न नसकिने योजनाहरुलाई अर्को आर्थिक बर्षमा प्राथमिकताको आधारमा समावेश गरि संचालन गर्ने तयारीमा छु ।

लक्षित समुदाय अन्तर्गतका कार्यक्रमको प्रभावकारिता के छ ? लक्षित समुदायको बिकासका लागि लक्षित समुदाय नै बञ्चित रहनुपरेको भन्ने गुनासो छ नि ?

हामीहरुको मुख्य उदेश्य नै आर्थिक समृद्धि हासिल गर्ने नै हो । सबै वडाहरुमा लक्षित समुदाय केन्द्रित रहेर नै बिभिन्न तालिम, आयमुलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

लक्षित समुदाय नै बञ्चित हुनु परेको भन्ने गुनासा आएका होलान्, त्यसबारे थप बुझ्ने प्रयास मेरो हुनेछ । भइरहेका कार्यक्रमको प्रभावकारिता अवश्य नै देखिएको छ ।

-चुनावको बेलामा जनताका सामु गरेका प्रतिबद्धताको अवस्था के कस्तो छ ?

चुनावका बोलेका सबै कुरा एकै पटक पूरा हुन्छन् भन्ने हुँदैन । तर, चुनावमा बोलेका कुरा पूरा गर्ने बाटोमा हिँडेका छौं कि छैनौं, त्यो महत्वपूर्ण कुरा हो । हामी राम्रो कामको निरन्तरतामा छौं । कृष्णनगरमा गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन पूर्वाधार विकास गर्ने, समयानुकूल शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन सबै क्षेत्रमा परिवर्तनको आयामको प्रतिबद्धता गरेका थियौं ।

त्यो प्रतिबद्धता अनुरूपकै बाटोमा हामी हिँडिरहेका छौं । हामीले चुनाव ताका गरेका प्रतिबद्धता पूरा गर्ने यात्रामा हिँडेका छौं । पाँच वर्षपछि हामीले बोलेका कुराहरू पूरा गरेको यहाँ जनताले देख्ने गरी परिणाम प्राप्त गर्ने गरी काम गर्न अगाडि बढेका छौं ।

-यहाँको शिक्षा, स्वास्थ्यको अवस्था सुधारोन्मुख देखिएको बताइए पनि सरकारको भूमिका बढाउन थप के गर्दै हुनुहुन्छ ?

जुन बिद्यालयमा डेढसय, दुइसय बिद्यार्थी हुन्थे, स्थानीय सरकार आएपछि अहिले त्यो बिद्यालयमा आठसय देखि हजार सम्म बिद्यार्थी संख्या बढेको छ । शिक्षाको गुणस्तर बिकासका लागि नियमित अनुगमन गरिरहेका छौं । शिक्षा समिति मार्फत नीतिमा रहेर काम गरिरहेका छौं ।

आयोगले पनि अहिले २६ जना शिक्षक पठाएको छ । यसबाट पनि शिक्षाको क्षेत्रमा राम्रो प्रभाव पर्ने नै छ । बिद्यालय भवन निर्माण, पुर्न:निर्माण, शैक्षिक सामग्री ब्यवस्थापन, शौचालय, फर्निचरको ब्यवस्था पनि गरिरहेका छौं ।

उच्च शिक्षा प्राप्ती रहोस् भन्ने उदेश्यले बहादुरगंज या कृष्णनगर या सौनहवामा क्याम्पस स्थापना गर्न लागिरहेका छौं । कन्या कलेज स्थापनाका लागि पनि पार्टीगत रुपमा केन्द्रमा पहल गरिरहेको छु ।

-कृष्णनगर नगर भित्रको बजार धराशयी बन्दै गएको भन्ने स्थानीय ब्यवसायीको गुनासो चर्को छ नि ?

सबैभन्दा राम्रो बिषय यहि हो, कृष्णनगरको ब्यवसाय । कृष्णनगर देशकै मुख्य भन्सार नाका हो । हालसम्म पनि यो नाकाबाट तेस्रोमुलुक भन्सार स्वीकृत नगरिनु दुखद पक्ष हो ।

संघ सरकारले यस्मा पहल गर्नुपर्छ । थर्डकन्ट्री कस्टम प्रणाली लागु गर्ने हो भने कृष्णनगरको ब्यवसाय र ब्यवसायीको अवस्थामा सुधार पक्कै हुन्छ । भारतीय ट्रेनको पहुँच नजिकै रहेकाले पनि यहाँ यस्को संभाब्यता राम्रो छ ।

-कृष्णनगरमा कर्मचारी ब्यवस्थापन किन प्रभावकारी रहेन होला ? कर्मचारी अभाव किन खड्कियो ?

कर्मचारी ब्यवस्थापनका लागि सम्बन्धित निकायले चाँसो दिनुपर्ने हो । हामीले दक्ष कर्मचारीको माग गरेका हौं, तत्काल कर्मचारी आएका छैनन् ।

यहाँ ६० प्रतिशत कर्मचारी अभाव अझै कायमै छ । कर्मचारीको ब्यवस्थापन हुने बित्तिकै पुनः सेवा प्रवाहमा थप सहजता हुनेछ । कर्मचारी अभाव रहँदा पनि योजना रोकिएका भने छैनन् । सबै नागरिकको समस्यालाई आफ्नै समस्या जस्तै हल गरिरहेको छु ।

-कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई असहयोग गरेका कुरा पनि सुनिन्छन् । अनि कतिपय ठाउँमा नियम बाहिरको काम गराउन जनप्रतिनिधिले दबाब दिएका कुरा पनि आइरहन्छन् नि !

हामी पाँच वर्षका लागि निर्वाचित भएर आएका हौं । कर्मचारी त लामो पेशागत अनुभव सँगालेर आउनुभएको हुन्छ । लामो भविष्य पनि हेर्नुभएको हुन्छ । कर्मचारी प्रक्रियाको वरिपरि घुम्न खोज्नुहुन्छ । तर, हामी परिणाम द्रुत खोज्छौं । यही खालको अन्तरद्वन्द्व हुनसक्छ ।

यो अन्तरद्वन्द्वलाई हामीले हाम्रो पालिकामा प्रक्रिया पनि मिलाउने र परिणाम पनि निस्किने काम गर्नुपर्छ भन्ने कर्मचारी र हाम्रो बीचमा समझदारी रहेको छ । हाम्रो बीचमा त्यस्तो कुनै छैन, समय क्रममा त्यस्तो नहोला भन्न सकिन्न । समय अनुकूल समायोजन गरेर जानुपर्छ ।

-दोस्रो कार्यकाल सम्हालि रहँदा अवको ५ बर्ष भित्र तपाईंका प्राथमिकताभित्र के के पर्नेछन् ?

मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, पूर्वाधार विकास नै प्राथमिकता हुन् । यसभित्र पनि मुख्य विभिन्न आयामहरू हुन्छन् । ती आयामहरूलाई केलायो भने मात्रै विकासले प्राथमिकता पाउने हो । कृष्णनगरको समृद्धिले समग्र राष्ट्रको समृद्धिमा टेवा पुग्ने गरी जान सक्छौं या सक्दैनौं भन्ने विषय पहिला चाँसोको विषय रहेको छ ।

कृष्णनगरको भन्सार स्तरोन्नती, स्थानीय बजार प्रवद्र्धन, बसपार्क ब्यवस्थापन, शिवराज अस्पतालको स्तरोन्नती, उच्च शिक्षा हासिल गर्न क्याम्पस र कन्या कलेजको ब्यवस्था मेरा प्राथमिकता भित्र परेका छन् । क्रमशः हामीले यस्लाई सम्पन्न गर्नेतर्फ लाग्नेछौं ।

-महालेखाको प्रतिवेदनमा स्थानीय तहमा थुप्रै आर्थिक अनुशासनको प्रश्न पनि उठाएको छ नि ?

हामी जनतालाई छिटोभन्दा छिटो परिणाम निस्किने गरेर काम गर्न खोज्छौं । तर, प्रक्रियाले हामीलाई रोकिरहेको हुन्छ । त्यस्तो प्रक्रियाका उल्झनहरु तोडेर राजनीतिक नेतृत्वले निर्णय गर्छ । त्यो राजनीतिक निर्णयलाई महालेखापरीक्षक अथवा कुनै निकायले अनियमितता भयो भन्ने हुन्छ ।

तर, हामी त्यसमा आफ्नो व्यक्तिगत फाइदाका लागि, राजनीति पार्टीका फाइदाका लागि, कुनै अमुक समूह वा शक्तिका निम्ति होइन । समग्र पालिकाको हित र समृद्धिका लागि गर्ने काम यस्ता उल्झनहरु म धेरै प्राथमिकतामा राख्नुपर्छ भन्ने ठान्दिनँ ।

-अन्त्यमा, नगरवासीका लागि केहि सन्देश अथवा अपेक्षा छन् कि ?

मलाई कृष्णनगरवासीले मत दिएर दोस्रोपटक नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको म प्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन् । नगरपालिकाको सिंगो टिम अहोरात्र यहाँको बिकास र समस्या हलका लागि लागि पर्नेछ ।