मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैँसीमा ३ गुणा दूध बढाइदिने मुर्रा राँगा आइपुग्न डेढ महिना लाग्ने

भैँसीमा ३ गुणा दूध बढाइदिने मुर्रा राँगा आइपुग्न डेढ महिना लाग्ने

अपि टाइम्स

काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा निःशुल्क उपहारका रूपमा ल्याउने भनिएका मुर्रा जातका १५ वटा राँगा आउने डेढ महिना लाग्ने भएको छ । राँगा आयातका प्राविधिक काम र केहि प्रकृयाको लागि समय लाग्ने कृषि तथा पशुपंक्षी मन्त्रालय श्रोत बताउँछ ।

भारतले निशुल्क रुपमा दिने भए पछि ढिलो नगर्ने भन्दै राँगोको प्राविधिक पक्ष निरीक्षणका लागि सक्दो छिटो विज्ञ एवं प्राविधिक भारतका सरकारी फार्ममा जाने तयारी भइरहेको छ । प्राविधिक पक्षको टुंगो लागेपछि भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म उच्च प्रजनन मानका मुर्रा राँगो उपलब्ध हुने बताइएको छ ।

‘परराष्ट्र मन्त्रालयमार्फत काम भइरहेको छ, यसरी प्राप्त राँगालाई पशुसेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिनेछ,’ श्रोत भन्छ ‘एक डेढ महिनाभित्र राँगा आइपुग्छन् ।’ भारतबाट आयात हुने राँगाबाट पोखरा, नेपालगन्ज र लाहानमा रहेका प्रजनन कार्यालयमा उच्च गुणस्तरको वीर्य उत्पादन गरिने बताइएको छ । त्यसपछि किसानलाई कृत्रिम गर्भाधानका लागि उक्त वीर्य उपलब्ध गराइने जनाइएको छ । मुर्रा राँगोबाट १० वर्षसम्म वीर्य संकलन गर्न सकिन्छ 
यस विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयले वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगोबाट ३ वर्षपछि वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने जनाएको छ ।

यसले कम्तीमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार हुने मन्त्रालयको दाबी छ । यसले नश्ल सुधारपछि दूधमा देखिएको समस्या समाधान हुने जानकार बताउँछन् । कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा राँगा नेपाल आउने छन् ।

‘यो उन्नत प्रजाति मुख्यतः भारतको पञ्जाब र हरियाणामा विकास भएको हो । नश्ल सुधारका लागि यो विश्वकै उन्नत जातमा पछ । अधिकारीका अनुसार यस राँगाको भर्गाधानबाट निस्कने भैँसीको दूध क्षमता ३ गुँणा बढ्ने गर्दछ । जसले गर्दा दुग्ध क्षेत्रमा फड्को मार्ने कृषि मन्त्रालय श्रोतको विश्वास छ । लोकल जातका भैंसीबाट पर्याप्त दूध नभएकै कारण नश्ल सुधारका लागि मुर्रा राँगो ल्याउन पहल भएको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका सूचना अधिकारी धर्मराज गिरीले बताए ।सरकारले गत वर्ष अमेरिकाबाट ६ वटा साँढे ल्याएको थियो ।