मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठट्टा गर्दै मन्त्री मोदी र सचिव पुष्करले गरे ‘पोल खोलाखोल्’

ठट्टा गर्दै मन्त्री मोदी र सचिव पुष्करले गरे ‘पोल खोलाखोल्’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विहिबार मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरे । मन्त्री भइसकेपछि भए गरेका कामको प्रगति विवरण सुनाउन र सुझाव लिन मन्त्रीले पत्रकार भेटघाट राखेका थिए ।

दिउँसो साढे २ बजे आयोजना गरिएको कार्यक्रम पौने घण्टा ढिलो गरी सबा ३ बजे सुरु भयो । कार्यक्रममा मन्त्री मोदी, सचिव कृष्णहरी पुरष्कर, सहसचिव, उपसचिव, मन्त्रालयका अरु कर्मचारी ठाँट्टिएको देखिन्थे । पत्रकारहरु साधारण पोशाकमा थिए । कार्यक्रमको बारेमा धेरै जिज्ञासा रहेकाले कार्यक्रम छिटो होओस् भन्ने पत्रकारको चाहाना थियो । कुराकानी हुँदाहुँदै ठुलो ज्यान भएका मन्त्री मोदी कार्यक्रममा झुल्किए । कर्मचारीहरु उठेर मन्त्रीको स्वागत गरे ।

सो कार्यक्रममा निकै फलदायी रह्यो । मन्त्री र सचिव आफ्ना कुराहरु राख्न कुनै कन्जुस्याईँ गरेनन् । सौहार्दपूर्ण वातावरणमा एक आपसमा पोल खोलाखोल गरे । त्यो पोल खोलाखोल मन्त्री र सचिवको बेमेल, मतैक्यताको नभएर मन्त्रालयमा हुने गरेका बेथितिमाथिको थियो । त्यो पोल खोलाखोल सहज थियो । सकारात्मक थियो । प्रतिशोधपूर्ण थिएन ।

सुरुमा बोले मन्त्री मोदी

सुरुमा मन्त्री मोदी बोले । पत्रकारसंग नियमित भेट गराउने कार्यक्रम राख्ने सोँच बनाए पनि बजेट लगायतका कारण गर्न नसकिएको भन्दै उनले आफ्नो वक्तव्य सुरु गरका थिए । पहिलोपटक मन्त्री भएपछि केहि गर्ने लक्ष्यका साथ आफ्नो मिहिनेत रहेको उनले बताए । आफू मन्त्री भएर आएसँगै मन्त्रालय र कर्मचारी प्रशासनभित्र सुधारका कामहरू गरेको मोदीको भनाइ थियो ।

उनले निजामति ऐन बनाउनेदेखि कर्मचारीतन्त्रबाट हुने गरेका अटेरी लगायतका बारेमा राम्रै ब्रिफिङ गरे । यो ब्रिफिङ सुनेर मन्त्रालयका कर्मचारी मुसुमुसु हाँसिरहेका देखिन्थे । मन्त्री मोदीले सचिव ज्यू यहिँ हुनुहुन्छ भन्दै कर्मचारीतन्त्रबाट भोग्नु परेका दुख र पीडा सुनाए । स्थानीय तहमाकर्मचारी पठाउनै नसकिएको, संघका कर्मचारीलाई चलाउनै नसकिएको लगायतका कुराहरु उनले सुनाइरहेका थिए ।

जसले जे भने पनि आफू र आफ्नो कारणले संघीय निजामती सेवा ऐन निर्माण नरोकिएको उनको दाबी थियो । ऐनका प्रावधानका विषयमा उठेका कैयन् विवाद मिलाएर आफूले मन्त्री भएको अढाई महिनामा विधेयकलाई सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको जानकारी दिँदै उतैबाट रोकिँदा ऐन जारी हुन ढिलाई भएको उनको प्रष्टिकरण थियो ।

निजामती सेवा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको स्पिरिटलाई समेत ख्याल गरेर चालु अधिवेशनमा टुंग्याउने कोसिस भइरहेको पनि उनले सुनाए । अब मुलुकका कुनै पनि सरकारी कार्यलय निमित्तको भरमा चल्न नदिने, कर्मचारी सरुवामा भनसुनबन्द गर्ने, असारपछि कर्मचारीको सरुवालाई कडाइकासाथ थिति बसाल्ने, स्थानीय तहका कर्मचारी खटनपटनमा समस्या समाधान गर्ने, चलखेलका कारण सरुवा प्रणालीमा समस्या रहेको बताउँदै कर्मचारी दुर्गममा नजाने प्रवृत्ति पनि अन्त्य गर्ने लगायतका कुराहरु उनले राखेका थिए ।

स्थानीय तहमा मेयर, उपमेयर र वडा अध्यक्षहरुकै कारण कर्मचारी फेरिरहेको वा हाजिर लगाउन समस्या भइरहेको आफूले पाएको उनले अनुभव सुनाए ।

मोदी बोलेपछि पत्रकारले बिभिन्न विषय उठाएका थिए । कर्मचारीले मन्त्रीको निर्देशन मान्दैनन्, तपाई त डेण्जर जोन (मन्त्रीबाट हट्ने सुचिमा) मा हुनहुन्छ रे, मन्त्रालयमा कर्मचारी र मन्त्रीको बेमेल छ रे नि ? लगायतका प्रश्न सामना गरेका उनले पत्रकारका सबै कुरामा सत्यता नभएको बताएका थिए ।

पत्रकारको प्रश्नपछि उनले ट्रेड युनियन खारेज गर्नु पर्ने आसय पनि राखे । युनियन खारेज गर्न नसकिए पनि प्रदेश र संघमा मात्र युनियन राख्नु पर्ने गरी ऐन ल्याउन लागिएको उनले बताए । निजामती कर्मचारीले पाउने स्वास्थ्य सुविधा अनुसार मुलुकलाई योगदान दिइरहेका कलाकार, पत्रकार, अरु राष्ट्र सेवक ब्यक्तिको लागि ब्यवस्था गर्न आफूल पहल गरिरहेको उनले बताएका थिए ।

मन्त्रालयको काम राम्रो गर्नको लागि समयसमयमा आफूले छड्के गरिरहेको उनले बताए । सचिवतिर फर्कँदै उनले भनेका थिए कहिलेकाहिँ छड्केमा उहाँ पनि पर्नुहुन्छ । यतिखेर धेरै कर्मचारी हाँसेका थिए । यति मात्रै होइन मन्त्रालयमा भ्रष्टाचार भयो भन्ने कुराहरु यदाहदा सुन्न आएको भन्दै त्यो सत्य नभएको उनले बताएका थिए ।

मन्त्री मोदीले कतिखेर कसको पद जान्छ‚ टुंगो नहुने बताए । मिडियामा मन्त्री बाहिरिने हल्ला आएका बेला उनले मन्त्री आउनु जानु नियमित प्रकृया रहेको सुनाए । तर प्रधानमन्त्रीले आफूलाई तत्काल हटाउनुहुन्छ भन्ने विश्वास नरहेको उनले बताए । उनले भनेका थिए ‘मान्छेको जीवन त सधैँ रहँदैन । यो पद, प्रतिष्ठा भनेको आवधिक हो । कुन बेला, कतिखेर कसको पद जान्छ टुंगो हुँदैन । तर, अहिले मेरै पदको कुरामा भन्नुभयो भने मन्त्री पदमा, त्यस्तो लाग्दैन । प्रधानमन्त्रीले बुझ्नुभएको छ मेचीदेखि महाकालीसम्म म थारू समुदायको मान्छे, जातीय रुपमा । क्याबिनेटमा एउटा थारु छु म । त्यसमा पनि म त्यति साह्रै खराब काम गर्ने मान्छे पनि होइन । उहाँको कुरा मलाई थाहा छैन । तर मलाई अहिलेसम्म जानकारी त्यस्तो छैन ।’ यस्तो पत्रकार सम्मेलन निरन्तर गरिरहने उनले बताए ।

सचिव पुष्करले के पोल खोले ?

मन्त्रीका यी कुराहरु सुनिरहेका सचिव कृष्णहरी पुष्कर पनि बोल्ने पालो आएपछि कड्किए नै भन्दा होला । उनले मन्त्रीको भनाईको प्रतिरोध गर्ने र असहमति प्रकट गर्ने काम गरेनन् ।

निजामति सेवा ऐनमा रहेका प्राविधिक पक्षको बारेमा जानकारी दिँदै कर्मचारी तन्त्रमा रहेका बेथिति, नेता र ठुला मान्छेबाट हुने गरेको दबाब लगायतलाई सचिव पुष्करले कडा ढंगबाट राखे ।
विशेष गरी नेता र मन्त्रीहरुका भीँडले मन्त्रालयमा कामै गर्न नसकिने स्थिति रहेको उनले सुनाए । ठुलाठुला मान्छे र सुचनाको हकको नाममा पत्रकारबाट पनि समस्या रहेको उनले सुनाए । ऐन जारी गर्न नदिने एउटा समूहगत ‘इन्ट्रेष्ट’ ग्रुप नै रहेको सचिव पुष्करले खुलासा गरे ।

त्यही समुहको अनुचित दबाबका कारण विभिन्न दबाब, धाक धम्कीको पनि सामना गर्नु परेको उनले सुनाए । यो सुनिरहँदा मन्त्री पनि मुसमुसु हाँसिरहेका थिए । आफू अर्थसचिव भएका बेला नै निजामती विधेयकमा सहमति जनाएको प्रसंग जोड्दै नयाँ मन्त्रिपरिषद् आएकाले प्रक्रिया पुनः दोहो¥याउनुपरेको उनले बताए ।

सुरुवा बढुवाको लागि दैनिक ३०–४० जना ठूलाठुला मान्छे मन्त्रालय धाउने गरेको उनले बताए । उनले भनेका थिए यस्ता मान्छेको अनुचित दबाब कर्मचारीले सहनु परेको छ । उनले सुचना लिने र बिभिन्न निवेदन दिनेको पत्रसंख्या किलोमा रहेको बताए । आवश्यक अनावश्यक निवेदनहरु दैनिक डेढ किलोसम्म हुने गरेको उनले सुनाए ।

सचिव पुष्करले मन्त्री र कर्मचारीबिच सुमधुर सम्बन्ध रहेको बताए । मन्त्री र कर्मचारीबिच बेमेल छ भन्ने कुरा झुटो रहेको भन्दै हरेक मन्त्रीलाई मान सम्मान गर्ने कर्मचारीको संस्कार रहेको उनको भनाइ छ । आगामि दिनमा निकै राम्रो गर्ने गरी आफूहरु अघि बढेको उनले जानकारी दिए ।

न मन्त्री न म कोही पनि सर्वज्ञानी छैनौँ सचिव पुष्करले भने कहिलेकाँहिँ मन्त्रीले मलाई र कहिलेकाहीँ मैले उहाँलाई एकआपसमा कन्भिन्स गर्ने गर्छौँ ।