काठमाडौँ । आगामी आर्थिक वर्ष २०८० र ०८१ को बजेटको आकार घटबढ नहुनेगरी संशोधन गर्ने सत्तारुढ दलका शीर्ष नेताहरूबीच समझदारी भएको छ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच केही आयोजनाहरू मात्र परिवर्तन गर्नेगरी समझदारी भएको हो।
अर्थमन्त्रालयका एक अधिकारीका अनुसार शीर्ष नेताहरूको उक्त सहमतिबारे आधिकारिक जानकारी भने गराइएको छैन।
‘बजेटको आकार संशोधन नहुनेगरी आयोजना परवर्तन गर्ने सहमति भएको छ,’ ती अधिकारीले भने, ‘मन्त्रालयमा औपचारिक जानकारी भने गराइएको छैन।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सकेसम्म ‘करेक्सन’ गरेरै जाने शीर्ष नेताहरूको बैठकमा बताएका थिए।
‘प्रधानमन्त्रीले सकेसम्म करेक्सन गरेर जाउ भन्नुभएको छ,’ बालुवाटार निकट स्रोतले भन्यो।
बजेटलाई लिएर सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि सहमति खोज्नेगरी शीर्ष नेताहरू बैठकमा जुटेका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बजेट नसच्याए सरकार ढल्ने सार्वजनिक चेतावनी नै दिएका थिए।
सोमबार बिहान अन्य ८ जना नेताहरुलाई लिएर अध्यक्ष नेपाल बालुवाटार पुगेका थिए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बजेटमा रहेका कमजोरी नसच्याए सत्ता सहयात्राबारे सोच्नुपर्ने अवस्था आउने बताएका थिए।
सरकारको विशेषाधिकार भएकाले बजेट परिवर्तन नगरी जस्ताको तस्तै पारित गर्ने प्रचलन छ। बजेट पारित नभएमा सरकारले विश्वास गुमाएको मानिन्छ।
प्रतिक्रिया